• ७ जेठ २०८१, सोमबार

विकास–निर्माणमा राजनीतिक दलको सहकार्य आवश्यक छ : उपप्रधानमन्त्री खड्का

blog

भेरीगंगा नगरपालिका–८ मा लालपूर्जा वितरण गर्नुहुँदै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का । तस्बिरः उपप्रधानमन्त्रीको सचिवालय

सुर्खेत, असार ३१ गते। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास–निर्माणका काममा राजनीतिक दलबीच सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ। उपप्रधानमन्त्री खड्काले राजनीति गर्नेहरु जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्नेमा जोड दिनुभएको छ। 

‘‘चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिबद्धता जनाएका हुन्छौं, ती प्रतिबद्धता पूरा गर्नु राजनीति गर्नेको प्रतिबद्धता हो,’ आइतबार सुर्खेत क्षेत्र नम्बर १ मा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘विकास–निर्माण जनताको नासो र सम्पत्ति हो। यी काम गर्दा राजनीतिक दल र राजनीतिकर्मीबीच सहकार्य र समन्वय आवश्यक छ।’’

भेरीगंगा नगरपालिका –८ मा लालपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाणपूर्जा वितरणको काम भइरहेको उल्लेख गर्नुभयो। 

‘‘सरकारको लक्ष्य कोही पनि नागरिक भूमिबिहीन भएर बस्नु नपरोस् भन्ने छ,’’ उहाँले भन्नुभयो, ‘‘आयोगमार्फत जतिसक्दो चाँडो लालपूर्जा वितरणको काम सम्पन्न गर्ने गरेर तीन तहकै सरकार लागिरहेका छौं।’’

उपप्रधानमन्त्री खड्काले विगतमा विभिन्न आयोगले काम गरेर पनि जग्गाधनीले लालपूर्जा नपाएका, श्रेष्ता कायम हुन नपाएका, अधुरा काम पूरा गरेर सुर्खेतमा पहिलो चरणमा लालपूर्जा वितरणको  काम भइरहेको बताउनुभयो। 

भूमि आयोगले सुर्खेतमा हालसम्म साढे आठ सय जग्गाधनी पूर्जा बनाएर वितरण गरेको छ। उपप्रधानमन्त्री खड्काले कोटमाझखर्क अन्तर्गत जग्गाधनी पुर्जा वितरण चुनौतीपूर्ण रहे पनि केही कानुनी अड्चनलाई पूरा गरेर सहज तरिकाले पूर्जा वितरणको काम सुरु गरिएको बताउनुभयो। 

उपप्रधानमन्त्री खड्काले भूमि आयोगलाई काम गर्नका लागि केही व्यवहारिक समस्या रहेको बताउनुहुँदै समस्या समाधान गर्नेतर्फ आफू केन्द्रीत हुने बताउनुभयो। उहाँले लालपूर्जाको तयारी र वितरणको कामलाई अझै तीब्र गतिमा अघि बढाउन निर्देशनसमेत दिनुभएको छ। 

त्यस्तै, उपप्रधानमन्त्री खड्काले भेरीगंगा नगरपालिका–१० को आँपधारा खानेपानी आयोजनाको उद्घाटन गर्दै  घरमा स्वच्छ खानेपानी पुर्याउने  सरकार लक्ष्य रहेको जानकारी दिनुभएको छ।‘‘थुप्रै खानेपानी आयोजना सुरु भएका छन्, केही सम्पन्न हुँदैछन्,’ उहाँले भन्नुभयो, ‘‘नागरिकलाई स्वच्छ खानेपानी घरघरमा पुर्याउने प्रतिबद्धतालाई क्रमैसँग पूरा गर्दै जानेछौं।’’


उपप्रधानमन्त्री खड्काले युवा पुस्तालाई खेलकुदमा अग्रसर गराउने गरेर सरकारले कार्यक्रम ल्याएको उल्लेख गर्नुभएको छ। उहाँले कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागिरहेको जानकारी दिनुहुँदै कर्णालीलाई खेलमय बनाउने गरेर संघ, प्रदेश र स्थानीय तह लाग्नुपर्ने उल्लेख गर्नुभयो।