• २८ वैशाख २०८२, आइतबार

आधुनिक प्रविधिले फोहोर व्यवस्थापनमा सहजता

blog

आधुनिक प्रविधिको फोहोर प्रशोधन केन्द्रको उद्घाटन समारोहमा नगरप्रमुख रामकृष्ण खाँण, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायत । तस्विर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, असार ३१ गते । अधिकांश स्थानीय तहमा फोहोरमैला व्यवस्थापन प्रमुख चुनौतीका रुपमा देखा पर्ने गरेको छ । घरघरबाट निस्किने फोहोरको सहि व्यवस्थापन गर्न नसक्दा सहर-बजार दुर्गन्धित बन्ने गरेका छन् । तर, रूपन्देहीको तिलोत्तमा नगरपालिकाले भने नयाँ प्रविधिको सहायतामा सहज रुपमा फोहोर व्यवस्थापन गरिरहेको छ ।

नगरपालिकाले फोहोर सङ्कलन र व्यवस्थापनका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपी नेपाल र वास स्वास्थ्य सहकारी संस्थासँग सहकार्य गर्दै आएको छ । हरित तिलोत्तमा, सफातिलोत्तमा भन्ने नाराका साथपालिकाले फोहर व्यवस्थापनमा काम गरिरहेको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । 

फोहर व्यवस्थापनमा नमुना कार्य गर्दै आएको नगरपालिकाले पछिल्लो समय अत्याधुनिक मेसनरी औजारबाट काम सुरु गरेको हो । “फोहर व्यवस्थापनमा अत्याधुनिक औजारको प्रयोगले नगर सफा, सुन्दर र हराभरा बनाउन सकिएको छ,” नगरप्रमुख खाणले भन्नुभयो, “हामी आफै जनप्रतिनिधि नै नगर सफा गर्न हातमा कुचो बोकेर हिडेका छौँ, नगरबासी सबैको हामीलाइ साथ छ।”

नगरपालिकाले ‘हरित पुन स् रुत्थान प्रवद्र्धन परियोजना’ अन्तरर्गत फोहोर सङ्कलन, प्रशोधन तथा विक्री गर्दै आएको छ । सुखौरा खोलाको प्रशोधन केन्द्रमा निर्माण गरिएको छ ।

“सफा र स्वच्छ नगर बनाउने र फोहरबाट आर्थिक लाभ समेत लिने गरी पालिकाले योजना बनाएको छ”, नगरप्रमुख खाँणले भन्नुभयो । केन्द्रको केही समयअघि नगरप्रमुख रामकृष्ण खाँण र युएनडिपी नेपालका लुम्बिनी तथा गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । यसको प्रभावकारिता बढ्दै गइरहेको छ । नगरका नागरिकले फोहोरको वर्गीकरण अनुसार नै विभाजन गरेर फोहोर उठाउन आउने गाडीमा फाल्ने गरेका छन् ।

सुखौरा खोला क्षेत्रलाई तारबार गर्न तत्काल रकम छुट्टाएर वर्षा अगावै काम सम्पन्न गरिने छ । युएनडिपी नेपालका लुम्बिनी तथा गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले फोहरलाई स्रोतको रुपमा प्रयोग गर्नुपर्ने बताउनहुन्छ । कुँहिने फोहरबाट प्राङ्गारिक मल बनाई उत्पादन बढाउने काम सहजै गर्न सकिने भन्दै अर्यालले मल्टिलियर प्लास्टिक मार्फत् विभिन्न सामाग्री बनाउन सकिने बताउनुभयो । 

प्रकृतिमैत्री क्रियाकलाप जरुरी रहेको भन्दै अर्यालले दिगो विकासको स्थानीयकरणका लागि जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । फोहोर सङ्कलन, व्यवस्थापन तथा प्रशोधनमा तिलोत्तमा नगरपालिकाको एक करोड ७१ लाख ४० हजार, युएनडीपीको १ करोड ६३ लाख ९७ हजार र सहकारीको ५७ लाख ५० हजार गरी करिब ५ करोड लगानी भएको छ । यसरी सङ्कलन हुने दैनिक ३ टन फोहोरमध्येको ९० प्रतिशत फोहोर पुर्नउपयोग गर्न सकिने खालको रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालको भनाइ छ ।

स्थानीयहले कुहिने फोहोर घरमै व्यवस्थापन गरी प्राङ्गारिक र गड्यौला मल बनाउन सिकेका छन् । घरघरमा कुहिने फोहोर व्यवस्थापन र नकुहिने सङ्कलन हुन थालेपछि नगर सरसफाइयुक्त बन्दै गएको छ । फोहोर व्यवस्थान गर्दा हुने कठिनाई र जोखिमलाई मध्यनजर गर्दै प्रशोधन केन्द्रमा काम गर्ने सम्पूर्ण कर्मचारीको स्वास्थ्य बिमा गरिएको वास सहकारीका अध्यक्ष खेम प्रसाद गौतमले जानकारी दिनुभयो ।