• २८ वैशाख २०८२, आइतबार

पढ्दै कमाउँदै कार्यक्रममा प्रविधिको प्रयोग गरिदै

blog

तुलसीपुर बहुप्राविधिक शिक्षालय कृषि तथा वन विज्ञानमा अध्ययनरत विद्यार्थी । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, असार ३१ गते । तुलसीपुर बहुप्राविधिक शिक्षालय कृषि तथा वन विज्ञानमा अध्ययनरत विद्यार्थीले पढ्दै कमाउँदै अभियान अन्तर्गत पुष्प व्यवसायलाई थप विस्तार गर्न प्रविधिको प्रयोग गर्न थालेका छन् । 

विद्यार्थीले पुष्प व्यवसाय विस्तारका लागि गत वर्ष पुष्प खेतीबाट आम्दानी गरेको रकमले पावर ट्रिलर खरिद गरेका छन् । विद्यार्थी सन्दीप मल्लले कृषिलाई यान्त्रीकरणसँगै जोड्दै कम लागतमा धेरै आम्दानी गर्न पावर  ट्रिलर खरिद गरेको बताउनुभयो । 

विद्यार्थी मल्लका अनुसार गतवर्ष गरेको पुष्पखेती उत्पादन बढाउन विद्यार्थीले नै बनाएको कोषबाट ट्रिलर खरिद गरेको बताउनुभयो । मल्लले गत वर्ष दश कठ्ठा क्षेत्रफलमा मात्रै पुष्पखेती गरेकोमा अहिले प्रविधिको प्रयोग गरेर क्षेत्रफल थप बढाउन थालिएको बताउनुभयो । 

कृषि विषय अध्ययन गर्दैआएकी विद्यार्थी स्पन्दन भुषालले गतवर्ष पुष्प बिक्री गरेकोमा यो वर्ष फूलका बिरुवासमेत बिक्री गर्ने तयारी भइरहेको बताउनुभयो । कलेजले पढ्दै कमाउँदै अभियान अन्तर्गत पुष्पखेती, बेमौसमी तरकारी खेतीमा विद्यार्थीलाई जोड्दै आएको छ । 

कलेज प्रमुख वसन्त आचार्यले शिक्षालयको सहयोगमा पछिल्लो समय विभिन्न प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले पढ्दै कमाउँदै गरिरहेको बताउनुभयो । शिक्षालय प्रमुख आचार्यले विद्यार्थीले फूलखेतीबाट आर्जन गरेको पैसाले विद्यार्थीले नै कोष बनाउने समेत जानकारी दिनुभयो । गतवर्ष विद्यार्थीले पुष्प खेतीबाट  चार  लाख आम्दानी गरेका थिए ।