• १६ जेठ २०८१, बुधबार

कर्णालीका प्रत्येक घरमा नेपाल प्रहरीको नम्बर

blog

प्रहरीको सम्पर्क नम्बर उल्लेख भएको स्टिकर टाँस्दै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का । तस्बिर : ललित बसेल

ललित बसेल

सुर्खेत, असार ३१ गते । कर्णाली प्रदेशका नागरिकको हरेक घरमा अब प्रहरीको सम्पर्क नम्बर रहनेभएको छ । सुरक्षित कर्णाली बनाउने अभियानअनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आइतवारदेखि प्रदेशका १० वटै जिल्लामा नागरिकका घरका मूल ढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँस अभियान सुरु गरेको हो । 

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सो अभियानको सुरुवात गर्नुभएको छ । सो क्रममा उपप्रधानमन्त्री खड्काले कार्यक्रमले प्रहरीलाई जनतासँग नजिक हुन थप मद्दत मिल्ने बताउनुभयो । आपतविपद् पर्दा आवश्यक पर्ने प्रहरीको सम्पर्क नम्बर घरको मूल ढोकामा राखिएपछि प्रहरीसँग पहुँच बढाउन सकिने विश्वास गरिएको छ ।

अभियानले प्रहरीलाई जनमैत्री हुन सघाउने उहाँको भनाइ छ । यो अभियान प्रहरीको मात्र होइन भन्दै उपप्रधानमन्त्री खड्काले अभियानलाई सबै क्षेत्रले सहयोग गर्न आव्हान गर्नुभयो । प्रहरी र जनतावीचको सम्बन्ध सुधार हुने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो । 

कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकालले प्रहरी सेवालाई नागरिकमैत्री बनाउन यो अभियानले सहयोग पुग्ने बताउनुभयो । प्रहरीले आफ्नो सेवा सहज बनाउन, जनताले प्रहरीसँग पहुँच बढाउन, सुरक्षित प्रदेश बनाउन घर–घरमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस अभियान थालिएको जनाउनुभयो । यस अभियानबाट बिचौलियाको न्यूनीकरण हुने दावी उहाँले गर्नुभयो ।

कर्णाली प्रदेशका तीन लाख ७१ हजार बढी घरधुरीमा स्टिकर टाँस गरिने बताइएको छ । डिआइजी ढकालले स्टिकर टाँस अभियान तीन महिनासम्म चल्ने र त्यसमा तीन हजार बढी प्रहरी परिचालन गरिने जानकारी दिनुभयो । स्टिकर टाँस गर्दा जनतासँग प्रत्यक्ष सचेतना दिइने, पारिवारिक तथ्याङ्क पनि लिइनेछ । कर्णालीमा प्रदेश प्रहरीले यसअघि नागरिक सहजकर्ता अभियान पनि सञ्चालन गरिसकेको छ । जसबाट यस प्रदेशका १० वटा जिल्लामा २२ हजार बढी नागरिकले सेवा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले नागरिकलाई जनतासँग जोड्न अभियानले सहयोग पुग्ने बताउनुभयो । उहाँले अभियानलाई सार्थक बनाउन प्रहरी तथा नागरिक सबैसँग हातेमालो गर्नुपर्ने जिकिर गर्नुभयो । 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले अभियान प्रदेशवासीको भएकोले सार्थक बनाउन सहयोगको आग्रह गर्नुभएको छ । स्टिकरमा जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, दमकल, एम्बुलेन्स, बाल हेल्पलाइनको सम्पर्क नम्बर उल्लेख गरिएको छ ।