• १३ साउन २०८१, आइतबार

'रानी तलाउ'लाई 'अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार'

blog

एक हजार डलरको पुरस्कार विजेता खरेलको उपन्यास ‘रानी तलाउ’ ।

सिराज खान 

नेपालगञ्ज, असार ३१ गते । उपन्यासकार कल्पना खरेलको चर्चित उपन्यास ‘रानी तलाउ’लाई एक हजार अमेरिकी डलरको पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’ले प्रत्येक दुई वर्षमा प्रदान गर्ने ‘अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार’ यस वर्ष बाँकेका उपन्यासकार खरेलको उपन्यास ‘रानी तलाउ’ लाई प्रदान गरिने भएको हो । 

उपन्यासकार खरेलले सुमन तिम्सिनाले अनेसासअन्तर्गत स्थापना गर्नुभएको यो पुरस्कार यसपटक उहाँको उपन्यास ‘रानी तलाउ’ लाई दिने घोषणा गरिएपछि आफू उत्साहित भएको बताउनुभयो । 

साहित्यकार खरेलले ‘रानीतलाउ’ उपन्यासमा विवेक र नैतिकतालाई हतियार बनाउनुभएको छ । उहाँले यो उपन्यासमार्फत समाजमा परिवर्तनको नयाँ ढोका खोल्न चाहनुभएको देखिन्छ । 

वरिष्ठ कठाकार सनतकुमार रेग्मीले सामाजिक अन्तर्विरोध र सङ्घर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टि लगाएर ‘रानी तलाउ’ उपन्यासको विषयवस्तु बुनिएको बताउनुभयो । उहाँले समाजमा रहेका अनेकौँ विकृति र विसङ्गतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाजको बाटो देखाउन सक्षम भएकी खरेलले सर्वाेत्कृट पुरस्कार जित्न सफल भएको बताउनुभयो । 

साहित्यकारहरुका अनुसार खरेलको यस उपन्यासले पवित्र र दृढ इच्छाशक्ति सर्वशक्तिमान हुन्छ भन्ने कुरालई आकर्षक ढङ्गले उठाएको छ । सबैभन्दा ठुलो कुरा उपन्यासमा मानव आत्माको कुनै जात हुँदैन भन्ने कुरालाई सुन्दर ढङ्गले उठाइएको छ ।

यस्तै, उपन्यासकार खरेलका ६ वटा कृति प्रकाशित भइसकेका छन् । उहाँका प्रकाशित कृतिहरुमा ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘रानी तलाउ’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, ‘पुरुष उपन्यास, ‘रागिनी’ कथासङ्ग्रह, ‘क्षितिज पारिका शब्दहरु’ गीतिसङ्ग्रह र ‘कामना’ गीति एल्बम छन् ।