• १३ साउन २०८१, आइतबार

पालिकामै पहिलो पटक व्यावसायिक उखु खेती सुरु

blog

सैनामैनामा उखुको व्यावसायिक खेती सुरु गरिँदै । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे

बुटवल, असार ३१ गते । देशका धेरै पालिकामा उखु खेती गर्ने किसानको सङ्ख्यामा कमी आइरहेका बेला रुपन्देहीको सैनामैना नगरपालिका –५ सेरुवामा भने व्यावसायिक रुपमा पहिलो पटक उखु खेती सुरु गरिएको छ । 

सैनामैना नगरपालिकाको दमकल शाखामा कार्यरत दीपक केसी र वैदेशिक रोजगारीबाट फर्किएका अर्का कृषक झिनक केवटले संयुक्त रुपमा उखुसहित नगदे बाली खेती सुरु गरेका हुन् । 

उनीहरुले सैनामैनाको सेरुवामा पौने दुई बिघा जग्गा १० वर्षका लागि भाडामा लिएर उखु खेती गरेका हुन् । उखु खेती सुरु गर्नुभएका दीपक केसीले उखु खेती गर्ने किसानले उखु खेती गर्न छाडिरहेका बेला आफूहरुले उखु खेतीमा भविष्य देखेर उखु खेती सुरु गरेको बताउनुभयो । 

उहाँले गर्मी महिनामा उखुको जुस धेरै बिक्री हुने र उखुको जुस बिक्री गर्ने व्यापारीले अर्को जिल्ला पुगेर उखुको लाँक्रा ल्याएको देखेर उखु खेती गरे राम्रो होला भन्दै खेती सुरु गरिएको बताउनुभयो । 

उहाँले बुटवल, सैनामैना, कञ्चनलगायतका क्षेत्रका जुस व्यवसायीहरु उखुकै लागि गैडहवा गाउँपालिका जानुपर्ने बाध्यता रहेकोमा उखु खेती गरिएपछि अब यहीँबाट विक्री गर्न सहज हुने बताउनुभयो । 

उता विदेश बसेर फर्किएका झिनक केवटले बाबु बाजेले गर्दैआएको उखु खेतीलाई निरन्तरता दिन लागेको बताउनुभयो । उहाँले विदेश गए पनि दुःख हुने हुँदा स्वदेशमै उखु खेती गरेर व्यावसायिक बन्ने उद्देश्यले दुई जनाले सल्लाह गरी उखु खेती सुरु गरिएको बताउनुभयो । 

केसी र केवटले वार्षिक ८० हजार भाडा तिर्नेगरी जग्गा लिजमा लिनुभएको छ । आफ्नो फार्मबाट तयार भएको उखु जुसका लागि विक्री गर्ने र बढी भएको अवस्थामा चिनी मिललाई विक्री गर्ने उहाँहरुको योजना छ । उखुसँगै अन्य नगदे बाली पनि उत्पादन गर्ने योजना रहेको उहाँहरुले सुनाउनुभयो । अहिले लगाएको उखु कात्तिक–मङ्सिरमा तयार हुने बताइएको छ ।