• १३ साउन २०८१, आइतबार

बाली जोगाउन बारीमै बास

blog

बाँदर धपाउनका लागि बनाइएको कटेरामा बाली कुरेर बस्दै विमला खड्का ।

सुजल श्रेष्ठ

प्युठान, असार २९ गते । गौमुखी गाउँपालिका-६ लिवाङकी विमला खड्का एक महिनादेखी बारीमै बस्न थाल्नुभएको छ । बिहान उज्यालो नहुँदै बारीमा पुग्ने खड्का साँझपख घर फर्किनुहुन्छ । घरदेखि अलि टाढा रहेको बारीमा फलेका मकै बाँदरले खाएर बिगारेपछि खड्काको बारीमा बास हुन थालेको हो ।

“बाँदरले बारीको मकै खाएर दुःख दिन्छ, मकै जोगाउन ड्युटी बस्ने गरेका छौं । रातीको समयमा दुम्सीले र दिउँसो बाँदरले मकैबाली खाएर दुःख दिने गरेको छ,” उहाँ भन्नुहुन्छ, “दुई-चार डोको मकै जोगाउन पनि मुश्किल भयो, दुःख गरेर खेती गरे पनि जोगाउन सकिँदैन ।”

प्रायजसो मकैबालीको सिजनमा जङ्गली जनावरले क्षति पुर्याउँदा जिल्लाका किसान चिन्तित बनेका छन् । वर्षेनी जङ्गली जनावरबाट मकैबाली जोगाउन किसानले विभिन्न उपाय अपनाउँदै आएका छन् ।

गौमुखी गाउँपालिका–६ लिवाङका गिरबहादुर खड्काले दुम्सी, बाँदरले मकैबाली खाइदिने गरेको बताउनुभयो । “वर्षेनी मकैबालीको सिजनमा बाली जोगाउन मुश्किल हुन्छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँलेले बाँदरलाई लखेट्ने गरे पनि दुम्सीलाई केही गर्न सकिन्न । गाउँपालिकाले बाँदर धपाउनका लागि बन्दुकको आवाज जस्तै आउने यन्त्रको व्यवस्था गरे पनि अहिले उक्त आवाजले बाँदर भाग्न छाडेको उहाँ बताउनुहुन्छ । 

जिल्लाका धेरैजसो ठाउँमा बाँदर, बँदेल, दुम्सीलगायतका जङ्गली जनावरले बाली खाइदिने, क्षति पुर्याउने समस्या छ । जङ्गली जनावरबाट बाली जोगाउन किसानले परम्परागत रुपमा आगो बाल्ने, ठूलो आवाजमा बाजा बजाउने, मान्छेको डमी बनाउने गरे पनि बाली जोगाउन नसकिएको किसानको गुनासो छ ।

केहि वर्ष पहिले सिमित ठाउँमा मात्र जङ्गली जनावरको समस्या रहेकोमा पछिल्लो समय धेरे ठाउँमा जङ्गली जनावरले क्षति पुर्याउने क्रम बढ्दै गएको किसानको भनाइ छ । दुःख गरेर लगाएको खेती फल्ने र पाक्ने बेलामा जङ्गली जनावरबाट जोगाउन चुनौती भएको किसान पदमबहादुर के.सी. बताउनुहुन्छ । “वर्षेनी बाली जोगाउन चुनौती छ,” उहाँले भन्नुभयो, “दिगो समाधानका लागि स्थानीय सरकारले ध्यान दिनुपर्छ ।”