• १२ पुस २०८१, शुक्रबार

असारे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री ज्वाला

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असार २८ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले असारे र डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री ज्वालाले सो कुरा बताउनुभएको हो । 

अध्ययनबिना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्तिहरू भइरहेको भन्दै असारे र डोजरे विकास प्रवृत्ति अन्त्य नगरेसम्म सही विकास नहुने उहाँले बताउनुभयो । उहाँले डोजरे विकासका कारण सयौँ बिघा खेतीयोग्य भूमि पुरिने र पुल तथा पूर्वाधारमा क्षति हुनेगरेको उहाँले चर्चा गर्नुभयो । 

काठमाडौंलगायत विभिन्न राजमार्गहरूमा रहेका खाल्डाखुल्डी पुर्नका लागि सम्बन्धित निकायलाई मन्त्रालयले निर्देशन दिएको पनि उहाँले बताउनुभयो । त्यस्तै, सवारीचालक अनुमतिपत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिने पनि उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘निश्चय पनि सडक निर्माण एक प्राविधिक विषय हो । बिनाअध्ययन डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति हुँदैगइरहेको कुरा सत्य हो ।’ त्यस्तै, इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा लेख्ने निर्णय भइसकेको पनि उहाँले जानकारी गराउनुभयो । 

नारायणघाट–मुग्लिन सडकखण्डमा पहिरोका अल्पकालीन, मध्यकालीक र दीर्घकालीन समाधानमा उपाय खोजी गरी कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै, पृथ्वी राजमार्गको नौबिसे–काठमाडौं सडक खण्डको पनि बिस्तार कार्य अघि बढिरहेको उहाँको भनाइ छ ।