• ४ जेठ २०८१, शुक्रबार

बर्दिवासमा 'लारभिसाइड' स्प्रे अभियान सुरु

blog

बर्दिवासमा डेङ्गुविरुद्धको स्प्रे ।

रवीन्द्र उप्रेती 

बर्दिबास, असार २७ गते । बर्दिवासको प्रमुख स्वास्थ्य समस्या बनेको डेङ्गु विरुद्ध नगर क्षेत्रमा ‘लारभिसाइड’ औषधि स्प्रे गर्न सुरु गरिएको छ । विगत ५ वर्षदेखि चुनौती बनेको डेङ्गु नियन्त्रणका लागि रोग फैलिनु अगावै बर्दिबास नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा मङ्गलबार अपरान्हदेखि स्प्रे अभियान सुरु गरिएको नगरप्रमुख प्रह्लाद क्षेत्रीले बताउनुभयो । 

०७४ सालको असोज तेस्राे साता बर्दिवासमा पहिलोपटक देखापरेको डेङ्गुबाट महिना दिनको अवधिमा ८ सय ४७ जना सङ्क्रमित भएका थिए । त्यसयता हरेक वर्ष सयौं नगरवासी यसको चपेटामा पर्दै आएका छन् । 

नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव रामबाबु यादवका अनुसार गत वर्ष (०७९ साल) पनि बर्दिबासमा डेङ्गुका ७२४ बिरामी फेला परेपछि यो वर्ष नगरपालिकाले पूर्व सतर्कता अपनाएको हो । रोग फैलिनु अगावै लामखुट्टेको वासस्थान पहिचान गरी नष्ट गर्ने तथा १४ वटै वडामा औषधि छर्ने कामलाई अभियानको रुपमा सुरु गरेको उहाँले जनाउनुभयो । 

डेङ्गुको सर्वाधिक प्रभाव देखिएको वडा नं १, २, ३ र १४ का सहरी क्षेत्रलाई प्राथिकमतामा राखेर मङ्गलबारदेखि स्प्रे गर्न सुरु गरिएको हो । साता दिनभित्र नगरपालिकाका चौध वटै वडामा स्प्रे गरिसक्ने उहाँले जनाउनुभयो । यसका लागि १५ जना स्प्रे म्यान परिचालन गरिएको छ । 

गत वर्ष पनि डेङ्गुको प्रकोप बढेपछि लामखुट्टे नियन्त्रणमा लागि नगर क्षेत्रमा फगिङ र ‘साइपर मेथिन’ औषधी स्प्रे गरिएको थियो । योपटक भने बायोडार्ट–एम नामक ‘लारभिसाइड’ औषधि छर्न सुरु गरिएको कीटजन्य रोग नियन्त्रण अधिकृत हरिनन्दन महतोले बताउनुभयो ।  

उहाँका अनुसार यो आफैंमा विशेष प्रकारको औषधि हो । यसअघिका औषधि हुर्केका लामखुट्टे मात्र नियन्त्रण गर्ने प्रकृतिका थिए । बायोडार्ट–एमले भने यसको लार्भालाई नै नष्ट गर्ने भएकोले ‘लारभिसाइड’ भनिएको हो । यस्तो औषधि पहिलोपटक छर्न लागिएको उहाँले बताउनुभयो । 

भारतको पुणेबाट उत्पादित यो औषधिले डेङ्गु समेत मलेरिया, हात्तीपाइले र चिकनगुनिया जस्ता सङ्क्रमण फैलाउने लामखुट्टेका लार्भालाई एकैसाथ नष्ट गर्ने गुणात्मक क्षमता रहेको उल्लेख गरिएको छ । यसअघिका औषधिले भने जुन रोग नियन्त्रणका लागि स्प्रे ग¥यो सोही प्रजातिका लामखुट्टेलाई मात्र असर गर्ने प्रकृतिका थिए । 

छिमेकी नगरपालिका गौशालामा पनि ‘लारभिसाइड’ स्प्रे गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गौशालामा गत वर्ष डेङ्गुबाट ४३ जना सङ्क्रमित भएका थिए ।