• ५ जेठ २०८१, शनिबार

लम्पी स्किन नियन्त्रण गर्न गोठ-गोठमा पशु प्राविधिक

blog

सुजन काफ्ले

दोलखा, असार २७ गते । पछिल्लो समय दोलखामा गाई भैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिएको छ । दुई नगरपालिका र ७ गाउँपालिका रहेको दोलखाका ९ वटै स्थानीय तहमा लम्पी स्किन फैलिएपछि पशुपालक किसान समस्यामा परेका छन् । 

लम्पी स्किन रोगले गाईवस्तु मर्न थालेपछि दोलखाको मेलुङ गाउँपालिकाले लम्पी स्किन रोगविरुद्ध कृषक गोठ अभियान सुरु गरेको छ । केहीमा नै यो रोगले महामारी रुप लिन थालेपछि सो विरुद्ध कृषक गोठ अभियान सुरु गरिएको मेलुङ गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले भेटेनरी डाक्टर विज्ञ टिमसहित कृषक गोठ अभियान अध्यक्ष हीराकुमार तामाङको नेतृत्वमा मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीबाट र उपाध्यक्ष गायत्री आचार्यको नेतृत्वमा मेलुङ गाउँपालिका वडा नम्बर ७ बाट अभियान शुरु गरिएको गाउँपालिकाले जनाएको छ । मेलुङ गाउँपालिका भरी हालसम्म तीन सय पशुमा यो रोग प्रमाणित भएको छ भने पाँचभन्दा बढी पशुको मृत्यु भएको छ । 

यो रोग केहि दिनदेखि तीव्र गतिमा फैलिएको मेलुङ गाउँपालिकाका प्रवक्ता नवराज खड्काले बताउनुभयो । हालसम्म यो रोगविरुद्ध नौ सय पशुलाई खोप लगाइसकिएको र खोपलाई तीव्र रुपमा अघि बढाउने योजना रहेको खड्काको भनाइ छ ।

गाउँपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेर सुरु गरेको सो कार्यक्रमले रोग नियन्त्रणका लागि आवश्यक औषधि वितरण गरिएको अध्यक्ष हीराकुमार तामाङले बताउनुभयो । नेपालमा सुरुवाती चरणमा लम्पी स्किन रोगका लागि खोपको मान्यता थिएन । खोपको स्वीकृति पाएसँगै पालिकाले २ हजार खोप खरिद गरिसकेको उहाँले बताउनुभयो ।

लम्पी स्किन रोग तीव्र गतिमा फैलिन थालेको र यसको उपचार पद्धति महँगाे हुँदा पशुपालक किसानलाई उपचारमा व्यापक आर्थिक भार पर्ने भएकाले पालिकाले खोप खरिद गरी निःशुल्क रुपमा उपचार गर्न थालेको अध्यक्ष तामाङले बताउनुभयो । उक्त रोगको नियन्त्रण र रोकथाम गर्नका प्राविधिकहरुलाई किसानको गोठगोठमा खटाएर लम्पी स्किन रोग लागेका पशुको निरन्तर जाँच तथा निःशुल्क रुपमा उपचार सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

पशुमा रोग लागेर चिन्तित बनेका पशुपालक किसान निःशुल्क उपचारसहित खोप पाउँदा हर्षित भएका छन् । काप्री पक्स भाइरसको सङ्क्रमणबाट विशेषगरी गाईमा लाग्ने यो रोग भैँसीमा भने विरलै देखिन्छ ।

लम्पी स्किन रोग लागेका गाईवस्तुमा उच्च ज्वरो आउने र शरीरभरि साना-ठूला गिर्खा देखिने लक्षण देखिएको छ । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिन्छन् । यसका साथै कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने,‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण देखिएको गाउँपालिकाले जनाएको छ ।