• ८ जेठ २०८१, मङ्गलबार

नेपाल–कोरिया मैत्री अस्पताललाई सवा अर्ब सहयोग

blog

काठमाडौँ, असार २७ गते । भक्तपुर थिमिस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालको क्षमता विस्तार गरिने भएको छ। अस्पताललाई १५० शय्या निर्माणका लागि सम्झौता समेत भएको छ। मङ्गबार आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोङले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई क्षमता विस्तार गर्न एक अर्ब २५ करोड ४० लाख लगानी हुने र पाँच वर्षभित्र पूरा गरिसक्ने लक्ष्य छ। 

सो परियोजना सम्पन्न गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), मध्यपुर थिमि नगरपालिका र नेपाल–कोरिया मैत्री अस्पताल रहने छन्।

सम्झौता अनुसार अस्पताल नजिक रहेको जग्गामा १५० शय्याको भवन निर्माण गरिने तथा आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने उल्लेख छ। 

कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेलले उक्त परियोजनालाई सफल रूपमा कार्यान्वयन ल्याइनुपर्ने बताउनुभयो। उहाँले अस्पताल निर्माणका लागि सरकारले पूर्ण रूपमा सहयोग गर्ने भन्दै सम्झौताले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ गर्ने बताउनुभयो। 

नेपालका लागि कोरियाका राजदूत पार्क तेयोङले अब बन्ने अस्पतालमा सर्वसाधारण नागरिकको पहुँचमा हुने विश्वास व्यक्त गर्नुभयो। अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले कोरियाली सरकार नेपालको विकासमा महत्वपूर्ण विकास साझेदार रहेको बताउनुभयो। उहाँले अस्पताललाई विशिष्टीकृत स्वास्थ्य सेवाका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो।