मुकुन्द सुवेदी
बर्दिया, असार २५ गते । वडा सदस्यले मादक पदार्थ सेवन गरी कर्मचारीमाथि आक्रमणको प्रयास गरेपछि गेरुवा गाउँपालिकाको काम कारबाही ठप्प भएको छ । वडा –५ का वडा सदस्य वीरेन्द्रबहादुर शाहले आइतबार मदिरा सेवन गरी राति कार्यालय तोडफोडमा उत्रेपछि कर्मचारीले कार्यालय ठप्प पारेका हुन् ।
महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०७९–८० को आर्थिक कारोबारको भुक्तानीको असार २४ गते राति १२ बजेसम्म हिसाब मिलान गर्न सफ्टवेयर खुल्ला गरेको थियो । गेरुवा गाउँपालिकाको आर्थिक प्रशासन शाखामा काम गरिरहेका कर्मचारीलाई राति ११ बजेको समयमा वडा –५ का वडा सदस्य शाहले मादक पदार्थ सेवन गरी अपशब्द, गालीगलौज गर्दै कार्यालय तोडफोड गरेका थिए । सो घट्नाको कर्मचारीले विरोध गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “निर्वाचित जनप्रतिनिधिजस्तो सार्वजनिक पद धारण गरेका व्यक्तिले राष्ट्रसेवक कर्मचारीप्रति गरेको व्यवहार अत्यन्त निन्दनीय भएकाले निजलाई कानुनबमोजिम हदैसम्म कारबाहीको माग गर्दछौँ ।”
जनप्रतिनिधिजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले आफ्ना स्वार्थ पूरा नहुँदा ज्यान मार्नेसम्मका मनस्थितिका साथ उत्रिनु आफैमा खेद प्रकट गर्ने विषय रहेको लेखा प्रमुख सुदिप सिग्देलले बताउनुभयो । शाहलाई कानुनबमोजिम कारबाही नभएसम्म कार्यालयबाट सञ्चालन हुने सेवाहरू स्थगित हुने विज्ञप्तिमार्फत जनाइएको छ ।