• १३ साउन २०८१, आइतबार

दुई पुस्तक लोकार्पण

blog

काठमाडौँ, असार २५ गते । युवा साहित्यकार अनल गौतमले एकै पटक दुई पुस्तक सार्वजनिक गर्नुभएको छ । काठमाडौँमा आयोजित एक साहित्यिक कार्यक्रमबिच साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ तथा कथासङ्ग्रह ‘दाहिने हाते सिक्का र साइकल’ एकैसाथ लोकार्पण गरिएको हो ।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा. रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणालगायतका व्यक्तित्वले ती पुस्तक लोकार्पण गर्नुभएको हो । लोकार्पण समारोहमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गौतमका उपन्यास तथा कथासङ्ग्रह निकै नै रोचक र समसामयिक भएको  बताउनुभयो । कथासङ्ग्रह ‘दाहिने हाते सिक्का र साइकल’ को समीक्षा गर्दै सञ्चारकर्मी महेश राणाले सङ्ग्रहमा समावेश ११ वटा कथामध्ये कुनै न कुनै एक कथाले पाठकलाई छुने धारणा व्यक्त गर्नुभयो ।

समालोचक डा. रामप्रसाद ज्ञवालीले ‘बार्दली’ उपन्यासको समालोचना गर्दै लेखक गौतमको सरल शैलीको प्रशंसा गर्नुभयो । उपन्यासले प्रेमको नयाँ परिभाषा व्यक्त गरेको भन्दै डा. ज्ञवालीले उपन्यासले नयाँ पुस्तालाई केही सन्देशसमेत दिने आशय व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै लेखक गौतमले पुस्तक लेख्नभन्दा सार्वजनिक गर्न कठिन भएको पुरानो अनुभव स्मरण गर्दै यस पटक ऐरावती प्रकाशन प्रालिसँगको सहकार्यमा दुई पुस्तक पनि सहजै सार्वजनिक गर्न सकिएको बताउनुभयो ।