साबित्री गिरी
कोहलपुर, असार २४ गते । कोहलपुरमा पश्चिम नेपालकै सुविधा सम्पन्न लामोदूरीका बसपार्कको आज उद्घाटन गरिएको छ । आज एक समारोहकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बसपार्कको उद्घाटन गर्नुभएको हो ।
बाँकेको कोहलपुर नगरपालिकाको चौराहाको पूर्वमा निर्माण भएको लामोदूरीको अत्याधुनिक बसपार्कको आज उद्घाटन गर्दै उहाँले ग्रामीण क्षेत्रको विकासपछि मात्र सन्तुलित विकास हुनेमा जोड दिनुभयो । उहाँले कोहलपुरमा बनेको अत्याधुनिक बसपार्कले लुम्बिनी प्रदेशमै बेग्लै पहिचान बन्ने र विकासमा सहयोग पुग्ने उद्घोष गर्नुभयो । मुख्यमन्त्री चौधरीले विकास र समृद्धिका लागि सबै एकजुट हुनु समयको माग रहेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सभा सदस्य सञ्जु कुमारी चौधरी, दुर्गा चौधरी, बसन्ती अधिकारी, कृष्ण केसी ‘नमुना’ लगायतले कोहलपुरको विकासका लागि पहल गर्ने बताउनुभयो । कार्यक्रममा कोहलपुर नगरपालिकाका पूर्व नगर प्रमुख लुट बहादुर रावतले सम्भावना बोकेका विकास योजना समयमा सम्पन्न हुनुपर्ने बताउँदै यसका लागि जनप्रतिनिधि र नागरिक दुवै मिलेर खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो ।
यस्तै, कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले आवश्यक समन्वय र सहकार्यमा काम भएकाले आगामी दिनमा पनि नगरपालिका गम्भीर भएर विकासमा काममा लागि पर्ने बताउनुभयो। उहाँले अत्याधुनिक बसपार्क सञ्चालन हुनुले नगरपालिकालाई आगामी दिनमा अझै सहज हुने भन्दै खुसी व्यक्त गर्नुभयो ।
कोहलपुर नगरपालिका प्रमुख प्रशाकLय अधिकृत टिकाराम ढकालले सुविधा सम्पन्न लामोदूरीको बसपार्कको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा उल्लेख भए अनुसार ३० करोड ६२ लाख ७ हजार ७ सय १ रुपियाँमा लामोदूरीको बसपार्क निर्माण भएको छ । जसमध्ये नगर विकास कोषबाट ऋण १८ करोड ३७ लाख २४ हजार ६ सय २१ रुपियाँ र नगरपालिबाट १२ करोड २४ लाख ८३ हजार ८० रुपियाँ रहेको छ ।
हाल वार्षिक रूपमा नगर विकास कोषलाई तिर्नुपर्ने वार्षिक साँवा व्याज २ करोड १६ लाख रहेको छ । लामोदूरीको बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रा.लि.ले पाएको छ । प्रालिले बसपार्क व्यवस्थापनका लागि वार्षिक ७१ लाख ७७ हजार ७ सय ७७ रुपियाँ नगरपालिकालाई तिर्नेछ ।
पश्चिम नेपालकै सुविधा सम्पन्न बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । नगर विकास कोषलाई वार्षिक ८ प्रतिशत व्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको थियो । बसपार्कमा बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्स, तीन वटा प्लेटफर्म र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्तनपान कक्ष, धूम्रपान कक्ष, सुरक्षा कक्ष तथा विद्युतीय चाजिङ्ग स्टेसनको व्यवस्था मिलाइएको छ ।