• २१ वैशाख २०८१, शुक्रबार

पहिचानको खोजीमा नटुवा

blog

नटुवा जातिको छोटो र स्पष्ट परिचय दिन केही समस्या छन्। यो जातिलाई नट, नटुवा, नेटुवा, नेटु पनि भनिन्छ। यो जातिका वयस्क सदस्यले साहु महाजनको घरमा मर्दापर्दा गीत गाउने, नाचगान देखाउने, कला प्रदर्शन गर्ने भएकाले ‘नचुवा’ जाति भन्दै गर्दा अपभ्रंश भएर नटुवा भएको विचार पनि कतिपयले व्यक्त गरेका छन्।

नेपालका आधिकारिक कागजातमा भने यस जातिलाई नटुवा भनिएको छ। राष्ट्रिय दलित आयोगद्वारा जारी जातीय अनुसूची र राष्ट्रिय जनगणनाको जातीय तथ्याङ्क विवरणमा केन्द्रीय तथ्याङ्क विभागद्वारा यो जातिलाई नटुवा भनी उल्लेख गरिएको छ।

नेपालका नटुवा दुई भिन्न धर्मावलम्बी समूहमा विभाजित छन्। नटुवाहरू मूल बसोबास उत्तरी भारतबाट नेपाल प्रवेश गर्दा यस्तो विभाजन आएको हो। नेपाल प्रवेश गर्ने क्रममा नेपाली समाजसँगको सामाजिक अन्तरघुलनका कारण यिनीहरू कोही हिन्दु त कोही मुसलमान बनेका हुन सक्छन्। उनीहरू सुरुमा जुन समुदायको सम्पर्कमा आए त्यही समुदायको धर्म अवलम्बन गर्न थालेका हुन् भन्ने अनुमान लगाउन सकिन्छ।

वीरगन्ज, सप्तरी र सिराहातिर बसेका नटुवाले आफूलाई इस्लाम बताउँछन् तर सिराहादेखि पश्चिम कन्चनपुरसम्म फैलिएर बसोबास गरिरहेका नटुवा हिन्दु छन्। कपिलवस्तु बाँकेतिरका नटुवाले आफूलाई विशुद्ध हिन्दु दाबी गर्दै आफ्ना सबै चाडबाड, रीत, परम्परा हिन्दुकै समान रहेको बताउने गर्छन्। यिनीहरू हिन्दु कि मुसलमान हुन् भन्नेमा अस्पष्ट हुन सक्छ तर अधिकांश नटुवा सदस्यले हिन्दु परम्परा अवलम्बन गर्ने गरेकाले यिनीहरू आफूलाई हिन्दु भन्न रुचाउँछन्। यही कारण राष्ट्रिय दलित आयोगले तराई÷मधेशका दलित समुदायभित्र पर्ने भनी ‘नटुवा’ लाई दलित जातिमा सूचीकृत गरेको छ।

आयोगले हिन्दु वर्ण व्यवस्थाभित्र पर्ने र छोइछिटोको विभेदमा पारिएका जातिलाई दलित भन्ने गरेको छ तर रामनारायण मिश्र विशेष छात्रवृत्ति कार्यविधि, २०७२ मा नटुवालाई मुसलमान जातजातिको सूचीमा ‘नट’ भनेर सूचीकृत गरिएको छ।

हिन्दु वा मुसलमान के हो भन्ने नटुवाहरूको पहिचानको अधिकार हो तर कतै मुसलमान त कतै हिन्दु देखिएका कारणले सरकारले उपलब्ध गराएका कतिपय सुविधा प्राप्त गर्न नटुवालाई समस्या पर्ने गरेको छ।

आर्थिक रूपमा अति विपन्न नटुवाहरू विगतमा नाचगान, कला प्रदर्शन, सर्कस देखाउने, सिकार गर्ने, मह काढ्ने काम गर्थे। अहिले यस्तो पेसामा क्रमशः परिवर्तन आएको छ तर अहिले पनि कतिपय यिनीहरू गाउँबस्तीमा पुगेर भिक्षा माग्ने गर्छन्। यसरी माग्ने क्रममा पुरुषले महिलाको पहिरन र हाउभाउ, शृङ्गारपटारमा नाच्ने वा सर्कस देखाउने गर्छन्। केहीले सर्प नचाएर पाएको पैसा वा अन्नले गुजारा चलाउने गरेको देखिन्छ।

शिक्षामा पछाडि परेका यिनीहरू स्वास्थ्य सेवा, रोजगारी, आधुनिक जीवनशैलीबाट पनि वञ्चित छन्। दलित वा मुसलमान स्पष्ट नभएकाले यिनीहरूले राज्यले उपलब्ध गराउने जातीय लक्षित सुविधा प्राप्त गर्न समस्या भोग्दै आएकाले स्रोतसाधनको पहुँचमा छैनन्। यिनीहरूले लामो समयदेखि आफूहरूलाई अल्पसङ्ख्यक जातिको मान्यता दिनुपर्ने माग गर्दै आएका छन्। सरकारले कतिपय अल्पसङ्ख्यक जातिलाई मासिक सामाजिक भत्ता दिएको तर आफूहरूले यस्तो सुविधा नपाएको नटुवाहरूले बताउँदै आएका छन्।

राष्ट्रिय जनगणना– २०६८ मा नटुवाहरूको कुल जनसङ्ख्या तीन हजार ६२ जना उल्लेख गरिएको छ। यसमा हिन्दु र मुसलमान छुट्याइएको छैन। नेपाल सरकारले कुल जनसङ्ख्याको ०.५ प्रतिशतभन्दा कम भएको जातिलाई अल्पसङ्ख्यक जातिको मान्यता दिँदै २०७४ साल वैशाख ११ गते राजपत्रमा त्यस्ता ९८ जातिको विवरण सूची सार्वजनिक गरेको छ। यसबारेमा पूर्ण जानकारी नपाएका कतिपय नटुवाले अल्पसङ्ख्यक जातिले पाउने सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। 

स्मरणीय के छ भने तीन हजार १८२ जनसङ्ख्या भएको पत्थरकट्टालाई सरकारले अल्पसङ्ख्यक भनेर सामाजिक सुरक्षाअन्तर्गत भत्ता दिने तर तीन हजार ६२ जना जनसङ्ख्या रहेका नटुवालाई यस्तो भत्ता नदिएको हो भने यस्तो निर्णय र प्रक्रिया न्यायपूर्ण देखिँदैन। अर्कोतिर पत्थरकट्टाहरू आफूहरू नटुवाभन्दा ‘ठूलो’ जाति भएको दाबी गर्छन्।

नटुवाहरूको खास मातृ भाषा छैन। यिनका ज्येष्ठहरू हिन्दी तथा अवधि बोल्ने गर्छन् भने नयाँ पुस्ता नेपाली भाषा नै बोल्छन्। यिनीहरूको आफ्नो मौलिक संस्कृति पनि छैन। हिन्दु नटुवाहरूका जन्मदेखि मृत्युसम्मका सबै संस्कार करिब हिन्दु (बाहुन, क्षेत्री)कै समान छन् भने मुसलमान नटुवाहरूको सामाजिक परम्परा मुसलमानसँग समान छ। नटुवाहरू सानो सङ्ख्यामा रहेका र गैरनटुवाहरूसँगको सम्पर्कका कारण सांस्कृतिक सम्मिश्रण प्रक्रियामा परेका छन्।

नटुवाहरूको पहिरन आमनेपालीसरह नै छ। महिलाको गरगहना र शृङ्गारपटार पनि आमनेपाली महिलाको समान छ तर नाचगान र सर्कसका बेलामा यिनीहरूले दर्शकलाई रोमाञ्चित तुल्याउन भिन्न आकार प्रकारका पहिरन पनि लगाउने गर्छन्।

पछिल्ला समय यिनीहरू सामाजिक परिवर्तनका लागि सङ्गठित हुन थालेको देखिन्छ। उनीहरूले सङ्गठित हुँदै अबदेखि घरघरमा गएर नाचगान नगर्ने, जुटोपात (पतरी) नखाने जस्ता निर्णय गरेका छन् तर व्यवहारमा पूर्णतः यस्तो भएको पाइँदैन। यिनीहरू स्थानीय सामाजिक, राजनीतिक गतिविधिमा पनि संलग्न हुन थालेका छन्। कतिपय वैदेशिक रोजगारीमा गएको देखिन्छ। कतिपयले कृषि, लुगा सिलाउने, पशुपालन, गाडीमोटर चलाउने तथा ट्याक्टरले गिटी, बालुवा बोक्ने र जमिन जोत्नेजस्ता काममा पनि संलग्न हुँदै आएका छन्।

कच्ची तथा फुसको घरमा बस्दै आएका यिनीहरूका बालबच्चा पनि सर्कस र नाचगानमा संलग्न हुने गरेकाले ती विद्यालयमा कमै जाने गरेका पाइन्छ तर पछिल्ला वर्षमा खाजा तथा पहिरन उपलब्ध गराइने जस्ता प्रोत्साहनजन्य सरकारी कार्यक्रमका कारण नटुवाका बालबच्चामा विद्यालय शिक्षाको पहुँच बढ्दै छ। 


–त्रिभुवनचन्द्र वाग्ले