• १२ साउन २०८१, शनिबार

‘नागरिकले अनुभव गर्ने गरी काम गरेका छौँ’

blog

पाल्पाको रिब्दीकोट गाउँपालिकाको कुल जनसङ्ख्या १८ हजार ७७० रहेको छ। यसको क्षेत्रफल १२४.५५ वर्ग किलोमिटर रहेको छ। जिल्लाको मध्यभागमा पर्ने यस गाउँपालिकावासीको आम्दानीमा कृषि व्यवसायको ठुलो हिस्सा रहेको छ। स्थानीय बासिन्दाको आम्दानीको स्रोत वैदेशिक रोजगारी पनि हो। अध्ययनका लागि बिदेसिने र बसाइँसराइ गर्ने क्रम पनि बढिरहेको छ। दोस्रो स्थानीय तहको निर्वाचन भएको पनि एक वर्ष बितिसकेको छ। यहाँको विकासका लागि जनप्रतिनिधि लागिपरेका छन्। गाउँपालिकाका अध्यक्ष नारायण कार्कीसँग गोरखापत्रकर्मी बिन्दु थापाले गरेको कुराकानी :  


निर्वाचित भएको एक वर्ष बितेको छ, यस अवधिमा कति काम गर्नुभयो ?

जनता सरकारप्रति परनिर्भर भएको अनुभव गरेको छु। सामान्य कामका लागि पनि सरकारकै आस गर्ने, धेरै महत्वपूर्ण काम गरे पनि जनताका सबै अपेक्षा पूरा गर्न चुनौती छ भन्ने बुझेको छु। हाम्रो स्रोतसाधनको सीमितताले पक्कै पनि नागरिकको अपेक्षा अनुसार काम नभएको हुन सक्छ। हाम्रा तर्फबाट थुप्रै काम सुरु गरिएको छ। त्यसको परिणाम अहिले नै देखिने स्थिति नभए पनि बाँकी चार वर्षमा नागरिकलाई अनुभव हुने गरी कामको थालनी भएको छ। 

यहाँका युवा रोजगारीको सिलसिलामा बिदेसिने क्रम बढ्दो छ। सामान्य सेवा सुविधाका लागि बजारतिर जाने गरेकालाई रोक्नैपर्ने चुनौती छ। युवालाई गाउँमै राखेर रोजगारी प्रदान गर्न आधुनिक कृषि कार्यलाई जोड दिएका छौँ। कृषिमा लाग्न चाहने कृषकका लागि सहुलियत दरमा बिउबिजन उपलब्ध गराउने, कृषिलाई आधुनिकीकरणमा लैजाने र कृषिसम्बन्धी तालिम प्रदान गर्ने गरेका छौँ। हार्थोक छहरा खण्डको रिब्दीकोट गाउँपालिकामा पर्ने मुख्य सडकले पनि अलि असहज भएको छ। स्थानीयले निकै सास्ती बेहोर्नु परेको छ। अब यसलाई तत्काल समाधान गर्ने प्रयासमा  छौँ।

चुनावी घोषण पत्र अनुसारका वाचा पूरा गर्नुभयो ? 

मुख्यगरी सेवाग्राहीले सेवा सहज रूपमा पाउनु पर्छ। शासकका रूपमा होइन सेवाका रूपमा काम गर्नु पर्छ भन्ने मान्यताले हामीले काम गर्छौं भनेका थियौँ। त्यहीअनुसार नै गरेका छौँ। चुनावमा पनि शिक्षा, स्वास्थ्य, खानेपानी र सडकलाई मुख्य एजेन्डा बनाएका थियौँ। आज त्यही अनुसार काम भइरहेको छ। घोषणापत्र अनुसार नै काम गरिहेका छौँ। जसमा मुख्य हार्थोक छहरा खण्डको रिब्दीकोट गाउँपालिकाको मुख्य सडक हो। यसलाई हामीले यही वर्षबाट निर्माण गर्ने छौँ  ।  

असहाय तथा विपन्न परिवारको शिक्षाको ग्यारेन्टी गरेका छौँ।  ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गरेका छौँ। चालु आर्थिक वर्षमा ७२ हजार किलो आलुको बिउ बाँडेका थियौँ। जसबाट पालिकाभित्र तीन लाख ५० हजार किलो आलु उत्पादन भएको छ। विभिन्न किसिमका तरकारी उत्पादन गरी जीविकोपार्जन गर्न सफल भएका छौँ।

रोजगारमूलक काम के के भए ? 

बैदेसिक रोजगारबाट फर्केका ५५ जना युवासँग बसेर कृषिमा अब्बल गराउनुपर्छ भन्ने सोचले ७२ टोलमा मोडल फार्म स्थापना ग-यौँ। प्रत्येक टोलमा तीन जनाका दरले युवालाई रोजगारी दिने सोच बनायौँ, त्यसबाट ५६ वटा नमुना फार्म सञ्चालन गर्न सफल भयाैँ। 

जसमा दुई सय जनाले रोजगारी पाउनुभएको छ। केही युवाले अहिले कृषिमा उदाहरणीय काम गर्नुभएको छ। हामीले युवाले गर्नुपर्छ भन्यौँ तर आशा गरे जति जोसजाँगर देखाउन सक्नुभएको छैन। युवालक्षित भन्दा पनि अलि पाका पुस्ताले कृषि फार्म सञ्चालन गरिहनुभएको छ। युवामा चेतना हुन जरुरी छ। युवालाई चेतना दिने खालका कार्यक्रम पनि अबको आर्थिक वर्षमा गर्ने योजनामा छौँ। 

जनताको विश्वास जित्ने खालका काम पनि गर्नुभयो? 

जनताका विश्वास जित्ने खालका धेरै काम गरेका छौँ। गोरु पाल्ने किसानलाई प्रोत्साहन भत्ताको व्यवस्था गरेका छौँ। जसले गर्दा कृषि गर्नेलाई थप हौसला मिलेको छ। 

अचेल प्रायः मानिसले दुईभन्दा धेरै सन्तान नजन्माउने भएका कारण जनसङ्ख्यामा कमी आएको अनुभव गरी दुईभन्दा धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरेका छौँ। सायद यस्ता नौला कार्यक्रम नेपालमै हामीले सुरु गरेका छौँ भन्ने लाग्छ।

नागरिक सन्तुष्ट हुने गरी हाम्रा काम अगाडि बढेका छन्। नागरिकले त्यसको अनुभूति पनि गरिरहनुभएको छ। जनताले सोचेका सबै काम पूरा हुने समय भने भइसकेको छैन। तर, अनुभूति गराउन कोसिस गरिरहेका छौँ।  हाम्रो कार्यकालमा हामीले बोलेका मूलभूत कुरालाई पूरा गर्छौं। 

वर्षौंदेखि अलपत्र परेका खानेपानी योजनाको सुधार गरेका छौँ। यहाँको पर्यटन प्रवर्धन गर्न रिब्दीकोट उद्योग प्रविधीकरण खोल्ने नीति अगाडि सारेका छौँ। विपन्न उत्थान कार्यक्रमलाई प्राथमिकतामा राख्दै पालिकासँग जोडेर उहाँहरूको खानपान, शिक्षा स्वास्थ्यमा पहुँच पु-याउने जस्ता कामको योजना बनाएका छौँ। यहाँका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण गर्दै पाल्पामा आएका पर्यटक रिब्दीकोट नआई नफर्काउने उद्देश्यले योजना बनाएका छौँ।