• १२ कात्तिक २०८२, बुधबार

भित्र्याउन लागेको धानमा वर्षाले क्षति

blog

रास्कोटको जिउलामा काटेर सुकाउँदै गरेका धान पानीमा तैरिँदै । तस्बिर : प्रेमराज सिम्खडा

कर्णाली प्रदेश ब्युरो

सुर्खेत, कात्तिक १२ गते । सोमबार रातिदेखि परेको हिउँदे वर्षाले माथिल्लो कर्णालीको उच्च क्षेत्रमा हिमपात भएको छ भने तल्लो कर्णालीमा भित्र्याउन लागेको धानबालीमा व्यापक क्षति पु¥याएको छ । माथिल्लो कर्णालीको जुम्ला, हुम्ला, मुगु, डोल्पाको उच्च क्षेत्रतिर हिमपात भएको छ । सुर्खेत, जाजरकोट, कालीकोटलगायतका जिल्लामा खेतमा पाकेर भित्र्याउन लागेको धान भिजेको छ । तिहारलगत्तै काटिएको धान खेतमै रहेका बेला परेको पानीले भिज्दा कृषक चिन्तित छन् । 

उच्च क्षेत्रमा हिमपात

हुम्ला समाचारदाताका अनुसार जिल्लाको उत्तरी क्षेत्र लिमीलगायत उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । सोमबार बेलुकाबाट बादल लागेर मौसम खराब भए पनि मङ्गलबार दिउँसोदेखि हिमपात सुरु भएको हो । लिमीलगायत उच्च क्षेत्रमा हिमपात भइरहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । तीन हजार आठ सय मिटरदेखि चार हजार दुई सय मिटर उचाइ रहेको लिमीका तीन वटै बस्तीमा हिमपात भएको उहाँले जनाउनुभयो । ताक्ची तथा आसपासका क्षेत्रमा तीनदेखि चार इन्च हिउँ जम्न सुरु भएको छ । 

हिमपात भएपछि लिमी र हिल्सा जाने सडक भने बन्द भएको छ । साथै लाप्चा जाने सडक पनि बन्द भएको छ । त्यसै गरी लाप्चा, न्यालु, नारा, लेकधिङ्गा, बोक्सी हिमाल, पञ्चमुखी, रलिङ, चाङ्ला, मारघोर, चङ्खेली क्षेत्रमा पनि हिमपात भइरहेको छ । 

यी क्षेत्रका बस्तीमा अन्नबाली भित्र्याउने कार्य भइसकेका कारण हिमपातले कुनै क्षति हुन पाएको छैन । उवा, नाफललगायत जेठासी बाली छर्न भने सहज हुने छ । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङभन्दा कम उचाइका क्षेत्रमा बादल लागेको भए पनि बर्खा तथा हिमपात हुन भनेको सकेको छैन । मौसम बिग्रिएको कारण हवाईसेवासमेत अवरुद्ध छ । उच्च क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा बादल लागेका कारण चिसो भने शून्य डिग्री सेल्सियसमा झरेको छ । 

हिमपात र वर्षा सँगसँगै 

सिँजा समाचारदाताका अनुसार हिमाली जिल्ला जुम्लाका उच्च भागमा हिमपात र तल्लो भागमा वर्षा भएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण काटेर खेतमा राखिएको कालीमार्सी धान भिजेको छ । तातोपानी गाउँपालिका–१, जर्मी, हिमा गाउँपालिका–३, मोफ्ला र चन्दननाथ नगरपालिका–१, तलिचौरका किसानले भिœयाउन तयार पारेको धान वर्षाले भिजाएपछि चिन्तित बनेका छन् । 

किसान देवकी खत्रीका अनुसार धान भित्र्याउने तयारी भइरहेका बेला पानीले भिजाउँदा ठुलो नोक्सानी हुने देखिएको छ । उहाँले लगातारको वर्षा र हिमपातका कारण किसान मर्कामा परेका छन् । यस्तै जुम्लाको माथिल्लो क्षेत्रमा भने हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।

खेतमै तैरियो काटेको धान

कालीकोट समाचारदाताका अविरल वर्षाले किसानले लगाएको धानबालीमा ठुलो क्षति पु¥याएको छ । खडेरीको उच्च मारबाट जसोतसो रोपाइँ गरेका किसानले धान पाकेपछि झन् ठुलो क्षति बेहोरेका छन् । खेतभरि धान काटेर सुकाइरहेका बेला एक्कासि पानी पर्दा धान खेतमै तैरिएका हो । 

कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ । केही दिनअघि परेको असिनाले खेतमा ठाडै रहेको धान झारेर किसानको मन रुवाएको केही दिनमा फेरि परेको पानीले थप निराश बनाएको छ । 

असिनाकै डरले छिटो छिटो धान काटियो तर राति एक्कासि पानी पर्दा काटेका सबै धान पानी खालमा डुबेको रास्कोट नगरपालिका–२ का शान्ताकुमारी रोकामगरले गुनासो गर्नुभयो । उहाँले धान भिœयाउनका लागि खेतमा काटेर राखिएको धान भिजेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

जिल्लामै सबैभन्दा धेरै धान उत्पादन हुने रास्कोटमा निकै क्षति भएको छ । तिलागुफा नगरपालिकामा रातो मार्सी धान केही किसानले भित्र्याउन सके पनि धेरै जसो किसानले भने क्षति बेहोरेका छन् । 

जिल्लाको शुभकालिका, सान्नीत्रिवेणी, महावै गाउँपालिका र खाँडाचक्र नगरपालिकाभित्रका किसानको धानमा पनि क्षति पुगेको गुनासो आएको प्रहरीले जनाएको छ । 

धानमा क्षति भएपछि चिन्ता

जाजरकोट समाचारदाताका अनुसार सोमबार बेमौसमी वर्षाले जाजरकोटमा धान बालीमा असर गरेको छ । वर्षाले यहाँका किसानका पाक्न थालेको र काटेर राखेको धान बालीमा क्षति पुगेको छ । जिल्लाको सबैभन्दा बढी धान फल्ने भेरी नगरपालिका–१, होलुज्युलामा पाक्न लागेका र काटेर राखेका धान बालीमा असर पुगेको कृषक बबि कार्कीले बताउनुभयो । 

त्यसै गरी जिल्लाका नलगाड, कुसे, छेडागाड र शिवालय गाउँपालिकामा पनि पानीले धान बालीमा असर गरेको जनाइएको छ । 

तिहार सकेलगत्तै धान बाली काट्न थालेका कृषकहरू पानी परेपछि चिन्तित भएका छन् । आफूहरूले वर्षभरि दुःख गरेर भित्र्याउने बेलामा क्षति पुगेको भेरी नगरपालिका–३ का अर्का कृषक गणेश रोकायाले गुनासो पोख्नुभयो । अझै वर्षा लगातार परिरहेमा आफूहरूको बाली चौपट हुने उहाँले बताउनुभयो । 

(राजन रावत, प्रेमराज सिम्खडा, सहदेव बस्नेत र नौरते नेपालीको सहयोगमा)