• ८ कात्तिक २०८१, बिहिबार

‘नेपाल–जापान सम्बन्ध राष्ट्रनिर्माणको कडी’

blog

काठमाडौँ, असार २४ गते । नेपाल–जापान सम्बन्धलाई उच्च बनाउन जापानमा पढेर फर्केका नेपाली विद्यार्थीले निरन्तर भूमिका निर्वाह गरिरहेका छन्। १२० वर्षअघि आठ जना विद्यार्थी अध्ययनका लागि जापान पुगेपछि अघि बढेको यो सम्बन्ध अहिले बलियो औपचारिक कूटनीति र द्विपक्षीय सम्बन्धसाथ अघि बढिरहेको छ। 

जापानी भूतपूर्व विद्यार्थी सङ्घ नेपाल (जुआन) को स्वर्ण जयन्तीका अवसरमा बोल्दै नेपालका लागि जापानका राजदूत किकुता युताकाले दुई देशबिचको प्रमुख पाटोका रूपमा जनसम्बन्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “जनसम्बन्ध राष्ट्रनिर्माणको प्रमु्ख कडी नै हो। जुन आठ जना विद्यार्थीबाट सुरु भएर अहिले विकासमैत्री सहकार्यमा पुगेको छ।”

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले नगरको हरियाली प्रवर्धनमा सघाउन अनुरोध गर्नुभयो। दक्षिण एसियाली मुलुकमा पहिलो पटक ५० वर्षअघि जापानबाट फर्केका विद्यार्थीले सङ्घ स्थापना गरेका थिए। संस्थापक अध्यक्ष हरेन्द्रविकास बरुवाले इतिहासदेखि विगतसम्मको अवस्था उल्लेख गर्दै लेख्नुभएको पुस्तक सार्वजनिक गरिएको थियो। 

जापानमा पहिलो पटक सन् १९२० मा तत्कालीन प्रधानमन्त्री देवशमशेर राणाले आठ जना नेपाली विद्यार्थी अध्ययनका लागि जापान पठाउनुभएको थियो। जुआनलाई निरन्तर सहयोग गर्नुभएकाले देवशमशेरका नाति तथा पूर्वगभर्नर हिमालयनशमशेर राणालाई मरणोपरान्त सम्मान गरिएको थियो। 

जुआनका अध्यक्ष डा. प्रवीण श्रेष्ठले जुआनले नेपाल–जापान सम्बन्धलाई प्रवर्धन गरिरहेको बताउनुभयो। कार्यक्रममा जुआनका पूर्वअध्यक्षहरू डा. तारानिधि भट्टराई, डा. बलबहादुर पराजुली, डा. केशव श्रेष्ठ, डा. रामेश्वर पोखरेल, मनोज गिरी, डा. प्रेम पौडेललगायतलाई सम्मान गरिएको थियो।