काठमाडौं, असार २३ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताउनुभयो।
उहाँले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै नेपालीलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्व प्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्ने बताउनुभयो।
उहाँले आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने बताउनुभयो। उहाँले आफू संसदीय दलको नेता बदल्ने कुरामा नथाकेको बताउनु भयो। उहाँले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागि पर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री बन्नेकुरा भूतपूर्व क्लबकै हुने जस्तो भयो। नेपालका राजनीतिक पार्टी यस्ता भए। नेकपा एमालेले कसरी चल्छ त्यो उहाँहरूको कुरा हो, नेकपा (माओवादी केन्द्र) ले कसरी बदल्छ त्यो उहाँहरूको कुरा हो। हामी कांग्रेसमा छौँ, त्यसैले यसलाई बदल्ने प्रयास गर्नैपर्छ। म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो। मैले सबै साथीहरूको मन चित्त त बुझाउन सकिनँ। तर म थाकेको छैन, हारेको छैन। नेपाली कांग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले बनाउनु हुँदैन, त्यसकारणले गर्दा फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु। सके बदल्छु, त्यसलाई बदल्छु, सके आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु। त्यो बदलिनपर्छ। बदल्ने ठाउँ दिइएको छ, त्यो भनेको दलभित्रै छ। अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्नेकुराको छ।’’
महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभई २०८० र २०८१ को सुरु गर्न जरुरी रहेको बताउनुभयो। सबै पार्टी मिसन २०८४ मा लागेकाले कांग्रेसले यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने बताउनुभयो।