• २१ वैशाख २०८१, शुक्रबार

साँगुरीगढीले गाँजा सम्भावित क्षेत्रको अध्ययन गर्ने

blog

नीति तथा कार्यक्रम सार्वजानिक गर्ने क्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायतको टोली ।

कविराज घिमिरे

हिले, असार २२ गते । धनकुटाको साँगुरीगढी गाउँपालिकाले यो वर्ष गाँजा सम्भावित क्षेत्रको अध्ययन गर्ने भएको छ । गाउँपालिकाले सङ्घीय सरकारसँगको समन्वयमा गाँजाको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम नीति तथा कार्यक्रममै समावेश गरेको छ । 

गाँजाको फूल विक्रीभन्दा पनि त्यसबाट बन्ने औषधि, विभिन्न कपडा झोला जुत्ता आदि सामग्री निर्माण गर्नेतर्फ कार्यक्रम केन्द्रित हुने पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो । “पालिका क्षेत्रमा धेरै गाँजा हुने सम्भावित स्थान छन् । ती स्थानको अध्ययन गरी गाँजाबाट बन्ने विभिन्न परिकार र सामग्री निर्माण गर्नेतर्फ कृषकलाई आकर्षित गर्छौं,” राईले भन्नुभयो । 

केन्द्रीय सरकारले गाँजा सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम सार्वजानिक गरेपछि साँगुरीगढी गाउँपालिकाले पनि केन्द्रको समन्वयमा गर्ने जनाएको हो । योसँगै पालिकाले पर्यटन, कृषि तथा पूर्वाधारलाई आफ्नो नीति तथा कार्यक्रममा जोड दिएको छ । 

यो वर्ष पालिकाले ४९ करोड २४ लाख रुपियाँ विनियोजन गरेको छ । असार १० गतेभित्र आउनुपर्ने बजेट यो पालिकामा भने असार १९ मा मात्र आएको थियो ।