• १९ वैशाख २०८१, बुधबार

पहिरो पीडितलाई राहत वितरण

blog

पहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई नेपाल शेर्पा सङ्घ जिल्ला समितिले राहत वितरण गरेको छ । सङ्घका पदाधिकारीसहितको टोली बिहीबार पहिरो प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारलाई राहत सामग्री वितरण गरेको हो । 

नेपाल शेर्पा सङ्घका जिल्ला अध्यक्ष पासाङरिता शेर्पाका अनुसार मैवाखोला गाउँपालिका–४ साँघु ओदक टोलका पहिरो प्रभावित ६१ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । पहिरो प्रभावित परिवारलाई प्रतिपरिवार चामल ५० किलोग्राम, दाल पाँच किलोग्राम, नुन दुई किलोग्रामका दरले राहत सामग्री वितरण गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

यस्तै, खाने तेल प्रतिपरिवार पाँच लिटर, जिरा मसला २५० ग्राम र साबुन लगायतका सामग्री पहिरो प्रभावित परिवारलाई वितरण गरिएको उहाँले बताउनुभयो । काठमाडौंस्थित कपन महायान केन्द्र गुम्बाअन्तर्गत हेल्पिङ हेण्डको आर्थिक सहयोगमा तीन लाख ८९ हजार रुपियाँ बराबरको खाद्यान्न सामग्री पहिरो प्रभावित परिवारलाई वितरण गरिएको हो । पहिरो प्रभावितका लागि सहयोग जुटाउन बुमकुलुङ शेर्पा किदुक फाउन्डेसन काठमाडौंले पनि सहकार्य गरेको थियो ।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनलगायतले राहत सामग्री पीडित परिवालाई वितरण गर्नुभएको थियो । यता अधिकांश शेर्पा समुदायको बसोबास रहेको ओदक टोलमा राहत पाउनेमा पनि दुई परिवार अन्य र बाँकी ५९ परिवार शेर्पा समुदायकै रहनुभएको छ । 

पहिरो प्रभावितमध्ये करिव डेढ दर्जन परिवार उच्च जोखिममा र बाँकी जोखिममा रहेका बताइएको छ । गत असार २ गते राति भीषण वर्षासँगै गएको पहिरोका कारण साँघुको ओदक टोल जोखिममा परेको हो ।