मधेश प्रदेशको सर्लाही जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकामध्ये चन्द्रनगर गाउँपालिका एक हो। यो मूलतः ग्रामीण क्षेत्र भएको गाउँपालिका हो। बालबालिका र किशोरीका समस्या यहाँको जटिल सामाजिक समस्या हो भने कृषिमा आश्रित जनसङ्ख्या धेरै भएकाले ग्रामीण र कृषि क्षेत्रको विकास मुख्य चुनौती हो। यीलगायत विविध विषयमा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोसँग गोरखापत्रका जनार्जन खत्रीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
तपाईं गाउँपालिका अध्यक्षमा निर्वाचित भएर आएपछि के कस्ता काम भए ?
हामी निर्वाचित भएर आउनुअघिसम्म गाउँपालिका लथालिङ्ग अवस्था थियो। हामीले सही दिशामा ल्याउने प्रयास गरिरहेका छौँ। काम गर्दा विभिन्न अवरोध आउने गरेका छन्। हामी गाउँपालिकाका कामलाई नीति, नियम र स्थानीय सरकार सञ्चालन ऐन अनुसार सञ्चालन गर्न प्रयत्नशील छौँ। अनियमितता रोक्ने, नाढीमन तालको संरक्षण गर्ने, शिक्षित छोरीलाई प्रोत्साहन स्वरूप सम्मान गर्ने, किसानको खेतबारीमा सिँचाइ सुविधा पु¥याउने, कृषिमा प्रयोग हुने विद्युत्को महसुल गाउँपालिकाले तिरिदिने जस्ता काम भएका छन्।
गाउँपालिकाको विकासमा लाग्दा के कस्ता अप्ठेरा महसुस गर्नुपरेको छ ?
मैले अनियमितता रोक्न खोज्दा र आम गाउँपालिकावासीलाई हित हुने गरी काम गर्न खोज्दा अनेक बहनाबाजी गरी काम गर्न अवरोध भइरहेको छ। भागबन्डामा सामेल नहुँदा र अनियमितता रोक्न खोज्दा कार्यपालिकाबाटै काम गर्न अप्ठेरो परिस्थिति सिर्जना गर्ने, सहयोग नगर्ने जस्ता प्रवृत्तिसँग जुध्नुपरेको छ। हामीले देशमै पहिलो पटक गाउँपालिकाकै आयोजनामा बालिका सम्मेलन आयोजना गर्न खोज्यौँ तर हुन दिइएन। अन्य सकारात्मक अभियान सञ्चालन गर्न खोज्दा पनि कार्यपालिकाबाट सहयोग नहुँदा केही अप्ठेरो परेको छ।
बालविवाह र छोरीको शिक्षा यो गाउँपालिका मात्रै होइन, मधेश प्रदेशकै समस्या हो। यो समस्या समाधानका लागि कस्तो कार्यक्रम ल्याउनुभएको छ ?
बालविवाह र छोरीको शिक्षा समस्याकै विषय हो। यो गाउँपालिकाभित्र ६५ प्रतिशतभन्दा बढी बालविवाह हुने गरेको छ। यसको समाधानका लागि हामीले प्राथमिकताका साथ कार्यक्रम ल्याएका छौँ। कक्षा १२ उतीर्ण गरी स्नातक तहमा भर्ना हुनासाथ हामी ती छोरीलाई ११ हजार रुपियाँ नगद प्रदान गर्छाैं। छोरीले २० वर्ष पुगेर मात्रै विवाह गरिन भने ५० हजार रुपियाँ दिन्छौँ। यो कार्यक्रम ल्याएपछि छोरीलाई उच्च शिक्षा अध्ययन गराउने र २० वर्ष पुगेपछि मात्रै विवाह गराउने परिपाटीको विकास हुँदै गएको छ। यसले छोरीलाई उच्च शिक्षा हासिल गर्न र आफ्नो भविष्य उज्ज्वल बनाउन सहयोग पुग्छ।
नाढीमन ताल पर्यटकीय स्थलका रूपमा परिचित छ। यो तालको संरक्षण गर्न गाउँपालिकाले के गरिरहेको छ ?
प्राकृतिक उपहारका रूपमा रहेको यो ताल अतिक्रमणको चपेटामा परेको छ। यसको संरक्षण गर्नु हाम्रो प्रमुख दायित्व हो। तालको संरक्षणको साथसाथै प्रचारप्रसारको काम सुरु भइसकेको छ। म निर्वाचित भएर आएपछि ताल परिसरलाई सफा र स्वच्छ बनाउने प्रयास गरिरहेको छु। नाढीमन ताललाई अझ आकर्षक बनाउन ताल परिसरमा साँझको आरती गराउने तयारी छ। यसका लागि संरचना निर्माणको काम भइरहेको छ।
यो गाउँपालिकाका अधिकांश बासिन्दा कृषि पेसामा निर्भर छन्। कृषि क्षेत्रको विकासका लागि के कस्ता कार्यक्रम ल्याएको छ ?
यहाँका ९९ प्रतिशत नागरिक कृषि पेसामा निर्भर छन्। यहाँ धान, मकै तथा तरकारी खेती धेरै हुन्छ। तरकारी खेती आम्दानीको मुख्य स्रोत बनेको छ तर यहाँ सिँचाइको समस्या छ। यही समस्यालाई ध्यानमा राखेर गाउँपालिकाले किसानको कृषि विद्युत् महसुल तिरिदिने नीति ल्याएको छ। हामीले नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रसँग समन्वय गरेर भर्खरै गाउँपालिकाबाटै कृषि मिटर लिने व्यवस्था मिलायौँ। अब ती मिटरमा उठेको महसुल हामी तिरिदिन्छौँ। यसबाट किसानलाई ठुलो राहत मिल्ने छ। हामीले अहिले फेरि सोइजन खेती विस्तार गरी आम्दानी बढाउने उद्देश्यले पाँच कट्ठाभन्दा बढी जग्गामा व्यावसायिक रूपमा सोइजन खेती गर्न चाहने किसानलाई निःशुल्क रूपमा बिरुवा वितरण गर्न सूचना प्रकाशित गरेका छौँ।
अब कार्यकालको चार वर्ष बाँकी छ। यो अवधिमा तपाईंको मुख्य योजना के–के छन् ?
यहाँका आम किसान, गरिब, मजदुर, दलितलगायत पछाडि परेकाले पनि हाम्रो साथमा स्थानीय सरकार रहेछ भन्ने अनुभूति गराउने गरी काम गर्नु छ। यहाँ किसानका समस्या समाधान गर्नु छ। अत्यन्तै पिछडिएका र विभेदमा परेका मुसहर, डोम, चमार, हलखोरजस्ता यहाँका दलितलाई सचेत र जागरुक बनाउनु छ। यहाँ स्वास्थ्य र शिक्षामा समेत धेरै समस्या छ। विद्यालयमा ई–हाजिरीको व्यवस्था गरिएको छ। सरकारी स्वास्थ्य संस्थामा सेवाग्राही आउने र सुलभ रूपमा सेवा पाउनुपर्छ भन्ने हेतुले सुधारका प्रयास जारी नै छन्। विशेष गरी शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिवर्तन ल्याउने र उपलब्धि हासिल गर्ने नै मेरो मुख्य उद्देश्य रहन्छ।