• १३ साउन २०८१, आइतबार

महिलाको नेतृत्वमा सिँचाई योजनादेखि मोटरबाटो निर्माण

blog

आफ्नो नेतृत्वमा निर्माण भएको झ्याप्रे खोला–दह–साँझे सिंचाइ योजनाको नहर । तस्बिर : साधन घर्ती

साधन घर्ती
म्याग्दी(दरबाङ), असार २० गते ।
 धेरैजसो विकास निर्माणमा महिलालाई भन्दा पुरुषलाई प्राथमिकता दिइन्छ, योजना निर्माणको नेतृत्वमा होस् या ज्यालामा ।

ज्यालामा विभेद र अवसरमा कम सहभागितासँगै विकास निर्माणका काममा पनि समस्या छ । महिलाको क्षमतामाथि प्रश्न खडा गरी विकास योजनाको होस् या सामाजिक क्षेत्रको नेतृत्वको अवसरमा समेत उनीहरूलाई कम प्राथमिकता दिइरहेको अवस्थामा म्याग्दीको मङ्गला गाउँपालिका–३, बरंजा स्थित एक सिँचाई योजना महिलाको नेतृत्वमा निर्धारित समय अगावै निर्माण सम्पन्न भएको छ ।

रेखा घिमिरे अध्यक्ष रहनुभएको उपभोक्ता समितिले झ्याप्रे खोला–दह–साँझे सिँचाई योजना समयमै निर्माण सम्पन्न गरेको हो । खानेपानी, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दीमार्फत १० लाख रुपियाँ लागतमा मुहानमा इन्टेक निर्माण गरी अप्ठ्यारो पाखो र कमजोर भूगोलमा पाँच सय मिटर लामो पाइप बिछ्याइएको छ भने १४५ मिटर लामो नहर निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष घिमिरेले बताउनुभयो । उहाँका अनुसार सो योजनामा एक लाख पाँच हजार रुपियाँ बराबरको श्रमदान हो । वैशाख ३ गतेदेखि योजना सुरु भई जेठ ४ गते निर्माण सम्पन्न भएको हो ।

रेखालाई योजना निर्माणमा स्थानीयले समेत राम्रो सहयोग गरे । उपभोक्ता समितिको नेतृत्व र विकास निर्माणमा कामदारको रूपमा स्थानीय महिलाको सहभागिता थियो । काम गर्न सुरुमा कठिन भएको उहाँको भनाइ छ ।

‘‘सुरुमा गाह्रो भएर अलि अलमलमा पनि परेँ, काम गर्दै जाँदा सजिलो हुँदै गयो । सानो बच्चा घरमा छोड्नु भएन काखमा नै लिएर योजनाको काम गरेँ ।,’’ उहाँले भन्नुभयो, ‘‘योजना निर्माणमा उपभोक्ता समितिका अन्य पदाधिकारी र स्थानीयले समेत राम्रो सहयोग गर्नुभयो । त्यसैले पनि समयमै योजना निर्माण सम्पन्न गर्न सफल भयौँ ।’’

सात जना उपभोक्ता समितिमा कोषाध्यक्ष पनि महिला नै हुनुहुन्छ । अवसर पाए महिलाले विकास निर्माणको काम पनि गर्न सक्ने उहाँको भनाइ छ । योजना निर्माणमा समेत महिला सहभागिता उल्लेख्य भएको उहाँले बताउनुभयो ।

उक्त योजनाबाट ३६ घरधुरी बढी लाभान्वित भएका छन् । स्थानीय दधिलाल कँडेलले भन्नुभयो, ‘‘पहिले कुलोले गर्दा हामीलाई समस्या थियो, अहिले पक्की कुलो निर्माण भएपछि सिँचाई सुविधा उपलब्ध भएको छ ।’’

उक्त योजनालाई पूर्णता दिन गण्डकी प्रदेश सरकारबाट थप १० लाख रुपियाँ बजेट विनियोजन भएको खानेपानी, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दीका प्राविधिक मोतीलाल बलामीले जानकारी दिनुभयो ।

उपभोक्ता समितिले चैतमा योजना निर्माणका लागि सम्झौता गरेको थियो । महिलाको नेतृत्वमा समय अगावै योजना सम्पन्न गरेर उदाहरण  प्रस्तुत गरेको उहाँको भनाइ छ । काम पनि राम्रो भएको प्राविधिक बलामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘महिलाले पनि विकास निर्माणका कम सहजै गर्न सक्दा रहेछन् भन्ने यो उदाहरण पनि हो ।’’

वडामा सञ्चालित योजनामध्ये अन्य दुई योजना समेत महिलाको नेतृत्वमा समयमै निर्माण सम्पन्न भएका छन् । माया रोकाको नेतृत्वमा ५० हजार रुपियाँ लागतमा आहालडाँडादेखि तल्लो कजेलीगैरा जोड्ने मोटरबाटो निर्माण सम्पन्न भएको छ भने सुनिता रोका मगरको नेतृत्वमा एक लाख ५० हजार रुपियाँ लागतमा कप्टिखोलादेखि दरमुनी खानेपानी ट्याङ्की निर्माण योजना सम्पन्न भइसकेको वडा सचिव मानबहादुर ओलीले जानकारी दिनुभयो ।