• २१ वैशाख २०८१, शुक्रबार

प्रसारण आतङ्कको एउटा अध्याय

blog

‘हलोविन’ पर्वको पूर्वसन्ध्या, अर्थात् सन् १९३८ अक्टोबर ३० को साँझ । अमेरिकीहरू ‘हलोविन’ पर्व सदाझैँ धूमधामसँग मनाउने तयारीमा थिए । उनीहरू स्वाभाविक किसिमले ‘फेस्टिभ मुड’ मा थिए । सबै कुरा ठीकठाक चलिरहेको थियो । यस्तैमा अमेरिकी रेडियो नेटवर्क कोलम्बिया ब्रोडकास्टिङ सिस्टम (सीबीएस) मा त्यही साँझ (अक्टोबर ३० मा) एउटा अविस्मरणीय नाटक प्रसारण भयो । त्यो नाटक साँझ ८ बजेदेखि एक घण्टासम्म प्रसारण भएको थियो । नाटकको शीर्षक थियो ‘द वार अफ द वल्र्डस्’ ।

उक्त नाटक अमेरिकी प्रसारण संस्था ‘कोलम्बिया ब्रोडकास्टिङ सिस्टम’ को  रेडियो नेटवर्कअन्तर्गत रहेका एक सय १०  रेडियोबाट प्रसारण भइरहेको थियो । नाटकमा मङ्गल ग्रहबाट पृथ्वीतलमा झरेका अपरिचित तथा दुष्ट प्रकृतिका डरलाग्दा प्राणीले पृथ्वीमा आएर हमला गरेको भयानक प्रसङ्ग थियो । ती दुष्ट प्राणी भौतिक आक्रमणमा सरिक छँदै थिए, धर्तीमा हानिकारक तातो किरण र विषालु धुवाँ पनि प्रवाह गर्दै थिए । नाटकमा वर्णित घटनास्थल अमेरिकाकै न्यु जर्जी राज्यको ‘गोभर्स् मिल’ भन्ने ठाउँ थियो । ‘गोभर्स् मिल’ पनि कुनै काल्पनिक नाम थिएन, वास्तविक थलो थियो ।

प्रख्यात लेखक एचजी वेल्स (सन् १८६६–१९४६) ले सन् १८९८ मा प्रकाशन गरेको चर्चित विज्ञान उपन्यास ‘द वार अफ द वल्डर््स’ को कथावस्तुमा नाटक आधारित थियो । त्यसलाई अमेरिकी नाटककार ओर्सन वेल्स (सन् १९१५–१९८५) ले नाटकमा रूपान्तर गरेका थिए । नाटकको विषयवस्तुलाई समाचार बुलेटिनका रूपमा प्रस्तुत गरिएको थियो । अझै त्यसमा संवाददाताले वास्तविक घटनास्थलबाट घटनाबारे प्रत्यक्ष रूपमा वर्णन गरेको स्लट (कयित) पनि समावेश थियो ।

श्रोतालाई विशुद्ध मनोरञ्जन दिने अभिप्रायले प्रस्तुत गरिएको त्यस नाटकले अमेरिकी समाजमा नचिताएको हलचल ल्याइदियो । नाटकको विषयवस्तु नितान्त काल्पनिक थियो । मङ्गल ग्रहबाट पृथ्वीतलमा झरेर अज्ञात प्राणी आक्रमणमा उत्रिएको कुरा एउटा कथित घटना भए पनि त्यस घटनालाई समाचार बुलेटिनका रूपमा गम्भीर किसिमले प्रस्तुत गरिँदा श्रोतागण भ्रममा परे । त्यस घटनालाई सत्य ठाने ।

अनि त परेन फसाद ! श्रोतागण हुनसम्म आतङ्कित बने । गृहिणीहरू चिच्याउँदै घरबाहिर निस्कन थाले, कोही पुलिस स्टेसनमा फोन गर्न थाले । घरघरमा कोलाहलपूर्ण आवाज गुन्जन थाल्यो । मानिस आफूसँग भएका बहुमूल्य वस्तु लिएर सुरक्षित ठाउँको खोजीमा घरबाट निस्के ।

कसैले त पृथ्वीमा आक्रमण गर्न आउने मङ्गलग्रहका दुष्ट प्राणीसँग मुकबिला गर्न भनेर बन्दुकमा गोली लोड गर्न थाले । सहरमा भागदौड र कोलाहाल मच्चियो । सहरमा अचम्मसँग ट्राफिक जाम हुन थाल्यो । बिबिसीको वेबसाइट (अक्टोबर ३०, सन् २०११) मा प्रकाशित लेखका अनुसार ६० लाख श्रोताले नाटक सुनेकोमा १२ लाख जतिले त्यसमा वर्णित घटनालाई सत्य ठानेका थिए ।

चनाखा अमेरिकी समाचारपत्रहरू त्यस घटनाबारे बेखबर हुने कुरै थिएन । भोलिपल्ट रेडियो नाटकले जनमनमा छरेको भ्रमबारे सनसनीपूर्ण समाचार छापिए । नाटकबाट उत्पन्न आतङ्क र भागदौडबारे समाचारपत्रमा भङ्गेरे अक्षरमा हेडलाइन छापिएका थिए । त्यसपछिका दिनमा पनि समाचार, सम्पादकीय तथा लेखमा त्यही विषयले स्थान पायो, जुन तत्कालीन समयमा ‘हट केक’ बन्यो ।


निरन्तरको मिडिया कभरेजका कारण नाटक निर्माता तथा उत्पादकहरू चर्को नैतिक दबाबमा परे । उनीहरूले आफ्नोतर्पmबाट स्पष्टीकरण दिनुपर्ने अवस्था आयो । उनीहरूले श्रोतागणलाई स्वच्छ मनोरञ्जन दिने प्रयोजनका लागि मात्र त्यस्तो नाटक उत्पादन तथा प्रसारण गरेको अभिव्यक्ति दिइरहे । नाटकबाट अमेरिकी नागरिकमा पर्न गएको भ्रमप्रति विनित भावका साथ माफी पनि मागिरहे । 

तर पनि त्यस नाटकले जनमनमा पारेको भ्रमपूर्व डाह सजिलै मेटिएन । अमेरिकी समाज तरङ्गित भइरह्यो । अमेरकी समाजबारे अध्ययन गर्ने संस्था ‘अमेरिकन स्टडिज्’ का अध्येता प्राध्यापक टमस डोहर्टीले एक अन्तरवार्तामा ‘द वार अफ द वल्र्डस्’ रेडियो नाटकले जनमनमा पारेको प्रभावलाई अमेरिकी इतिहासमा अधिक मात्रामा मिडियाको ध्यान खिचिएका पाँच महìवपूर्ण घटनामध्ये एक मानेका छन् ।

प्राध्यापक टमस डोहर्टीका अनुसार मिडियाको अधिक ध्यानाकर्षण भएका अन्य चार घटनामा लिन्डवर्ग परिवारको बच्चा अपरहण काण्ड (सन् १९३२), जापानले पर्ल हार्वरमाथि गरेको आक्रमण (सन् १९४१), तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीको हत्या (१९६३) र ओसामा बिन लादेनले सेप्टेम्बर ११ मा अमेरिकामा गराएको हमला (सन् २००१) पर्छन् ।

रेडियो नाटकले जनमनमा किन यस्तो भयानक असर पा-यो भन्नेबारे पृष्ठभूमि जान्न आवश्यक छ । अमेरिकी चाडपर्वहरूको सूचीमा ‘हलोविन’ एउटा भुत्याहा पर्व हो । ‘हलोविन’ को पूर्वसन्ध्यामा आफ्ना पुर्खा आकाशबाट पृथ्वीमा झर्छन् भन्ने विश्वास अमेरिकी समाजमा छ । संयोग पनि त्यस्तै प¥यो ‘हलोविन’ पर्वको पूर्वसन्ध्यामा प्रसारित भुत्याहा नाटकले त्यस्तै अनुभूति गरायो । आफ्ना पुर्खा दुष्ट प्राणीको रूप धारण गरी पृथ्वीतलमा आएको अमेरिकीहरूलाई भान प-यो । यस प्रकारको संयोगपूर्ण घटनाले उनीहरूलाई नाटकमा वर्णित प्रसङ्ग सत्य हो भन्ने लागेको हुनुपर्छ ।

अमेरिकी समाजमा मनोवैज्ञानिक भुइँचालो ल्याउने त्यो घटनाको प्रभाव सञ्चारशास्त्रीहरूमा पनि नपर्ने कुरै थिएन । यस प्रकारको दुर्लभ र तिलस्वी घटनाबाट सञ्चारसम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गर्न बल पुग्यो भन्ने भनाइ छ । हुन पनि ‘द वार अफ द वल्र्डस्’ नाटकले अमेरिकी समाजमा निम्त्याएको ‘मास हिस्टेरिया’ ले मिडियाको शक्ति कति भयानक र शक्तिशाली हुन्छ भन्ने प्रमाणित गरिदियो ।

यस आधारमा सञ्चारशास्त्रीहरूले अडियन्स (श्रोता, दर्शक तथा पाठक) माथि मिडियाको सिधा, तत्काल, प्रत्यक्ष र शक्तिशाली प्रभाव रहन्छ भन्ने मान्यता अघि सारे । त्यो सिद्धान्त ‘म्याजिक बुलेट थ्योरी’, ‘हाइपोडर्मिक निडल थ्योरी’, ‘प्यारासुट थ्योरी’ आदि नामले पनि चिनिन्छ । समग्रमा भन्दा त्यस सिद्धान्तले आमसञ्चार माध्यमले अडियन्ससमक्ष अचुक किसिमले सन्देश सम्प्रेषण गर्ने क्षमता राख्छ भन्ने मान्यतालाई मलजल ग-यो ।

यस सिद्धान्तलाई अझ यसरी भनौँ, कुनै कुशल निसानाबाजले हानेको गोलीले ताकेकै ठाउँमा लागेझैँ, सिरिन्जमार्पmत पठाइएको औषधी सिधै बिरामीको रक्तप्रवाहमा मिसाउन सकिएझैँ, प्यारासुटबाट जम्प गर्दा अपेक्षित स्थानमा अवतरण गर्न सकिएझैँ मिडियाले चाहेको सन्देश अचुक रूपमा प्रवाह गर्न सक्छ भन्ने मान्यता स्थापित भयो ।

त्यस नयाँ सञ्चार सिद्धान्तको प्रतिपादनमा तत्कालीन समयका अन्य घटनाक्रमले पनि सहयोगी भूमिका खेलेको देखिन्छ । त्यतिबेला अमेरिकी समाजमा उकालो लाग्दै गरेको रेडियोको लोकप्रियताको ग्राफ, दोस्रो विश्वयुद्धको पृष्ठभूमि तयार हुँदै गर्दा जर्मनीमा शासक हिटलरले सञ्चार माध्यममाथि कायम गरेको एकाधिकारपूर्ण दुष्प्रचार (पछि यही परिपाटी ‘गोयबल्स सिद्धान्त’ नामबाट परिचित हुन पुग्यो), चलचित्र उद्योगको चुलिँदो लोकप्रियता एवं विज्ञापन उद्योगले जनमनमा पारेको अमिट छापले राम्रैसँग मलजल गरेको देखिन्छ ।

आजभन्दा लगभग ८५ वर्षअघि भएको त्यस ‘प्रसारण आतङ्क’ सञ्चारशास्त्र अध्येताहरूबीच अझै पनि चर्चाको विषय बनिरहेको छ । त्यो विस्मयकारी घटना सञ्चार अध्येताहरूका लागि एउटा महìवपूर्ण दृष्टान्तदायी ‘केस स्टडी’ बन्यो । एउटा वृत्तमा त्यसबारे आज पनि चर्चा परिचर्चा भइरहेका छन् ।

वायु तरङ्गमार्पmत अमेरिकी घरहरूमा प्रवेश गरेको त्यस घटनाबारे किताब पनि लेखिएका छन् । ‘द ग्रेट अम्यारिकन ब्रोडकास्ट’, ‘ब्रोडकास्ट हिस्टेरिया’, ‘गेटिङ इट रङ’ आदि यसका दृष्टान्त हुन् । ‘द वार अफ द वल्र्डस्’ नाटकको प्रसारणले निम्त्याएको सामाजिक तथा मनोवैज्ञानिक हलचल आज पनि सञ्चार–अध्येता तथा अन्य सबैका लागि अविस्मरणीय ‘सञ्चार घटना’ हुन पुगेको छ ।