• २१ वैशाख २०८१, शुक्रबार

हवाई यसरी बन्यो अमेरिकाको प्रान्त

blog

सन् १८२० को दशकमा जब गोरा इसाई मिसिनरीहरू सर्वप्रथम हवाई पुगे त्यहाँका स्थानीय बासिन्दाले आफ्नो सम्प्रभुता, संस्कृति र जीवनशैलीमा खतरा बढ्न थालेको महसुस गर्न थाले । दुई शताब्दीसम्म धेरैले प्रतिरोधसमेत गरे । 

खतरा चाँडै सुरु भयो । केही विद्धान्ले अनुमान गरेका छन्, सन् १८४० सम्म हवाईका मूल बासिन्दाको जनसङ्ख्या लगभग ८४ प्रतिशतले कम भयो । जसको कारण थिए पश्चिमा उपनिवेशवादीहरूसँगै त्यहाँ पुगेका रोगहरू । सन् १८९३ मा मुट्ठीभर गोरा व्यापारी र उपनिवेशवादीले रचेको षड्यन्त्रले त्यहाँ सत्ता कब्जा भई हवाईको सार्वभौम शाहीसत्तालाई विस्थापित गरियो । पाँच वर्षपछि अमेरिकाले कृषि स्रोतको प्रचुरता र प्रशान्त क्षेत्रमा रणनीतिक अड्डा हुने देखेर हवाईलाई आफूमा समाहित ग¥यो । त्यसपछि सन् १९५९ मा  अमेरिकाको संसद्ले हवाईलाई अमेरिकाको ५०औँ राज्य बनाउने पक्षमा मतदान गरेको थियो ।

त्यस लामो अवधिमा उपनिवेशवादीहरूले हवाईको धेरै कृषि जमिनमा कब्जा गरे तथा केही भागमा सैन्यकरण गरियो । उनीहरूले परम्परागत संस्कृति र आध्यात्मिक प्रथामाथि दमन गरे तथा उनीहरूले विद्यालयको पठनपाठन र सरकारी कामकाजमा हवाईको स्थानीय भाषाको प्रयोगमा प्रतिबन्ध लगाइदिए ।

हवाईका रैथाने बासिन्दाले यी कार्यको विरोध, अवज्ञा तथा देशी सांस्कृतिक स्वाभिमान प्रदर्शन गरेर प्रतिक्रिया जनाए । सन् १८८० को दशकमा राजा डेभिड कलाकावाले राष्ट्रवाद जगाए तथा एक स्वतन्त्र सार्वभौम अधिराज्यका रूपमा हवाईलाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउने काम गरे । यति मात्र होइन उनले परम्परागत ‘हुला डान्स’ जस्ता सांस्कृतिक अभ्यासलाई समेत पुनर्जीवित गराए, जो हवाईको प्रथम पुनर्जागरणका रूपमा परिचित छ । ‘हुला डान्स’ हवाईका रैथाने बासिन्दाको कथा वाचनको एक अभिन्न अङ्ग हो । मिसिनरीहरूले ‘हुला डान्स’ को सांस्कृतिक महìव नबुझेर तथा गैरइसाई मानेर त्यसलाई सन् १८३० देखि गैरकानुनी घोषणा गरिराखेका थिए । सन् १९६० र १९७० को दशकमा हवाईमा दोस्रो पुनर्जागरण फल्यो फुल्यो । आज हवाईको देशी सम्प्रभुता एक गम्भीर मुद्दा बनिरहेकै छ, जसले सैन्यवाद, उपनिवेशवाद र अधिग्रहणको समकालीन विरोधको तौरतरिका सूचित गर्दछ ।

हवाई विश्वविद्यालयमा ‘इन्डिजिनस पोलिटिक्स’ की विद्वान् नोएनो सिल्भाले लेखेकी छन्, “हवाईको पछिल्लो दुई सय वर्षको इतिहासमा प्रतिरोध र राष्ट्रवाद आपसमा जोडिएको छ ।”

हवाईको राजसत्ता मिल्काउनु पहिले नै रैथानेहरू आफ्नो देश अमेरिकामा विलय गरिएको विरोध गर्न सङ्गठित भएर प्रतिरोधमा उत्रिएका थिए । छ वर्ष पहिले सन् १८८७ मा चिनीका कारोबारी र अन्य व्यवसायीको एक समूहले बन्दुक देखाएर राजा कलाकावालाई तथाकथित संविधान (बेअनिट कन्ट्युसन) हस्ताक्षर गर्न बाध्य पारेर उनको अधिकार खोस्यो तथा साथै हवाईका मूल निवासी यसबाट अधिकारविहीन भए ।

यसको प्रतिउत्तरमा हवाईवासीले विरोध गर्न फरक सङ्गठन (हुई) गठन गरे । एक विद्रोही नेता माउईका रोबर्ट कलानिहीओपो विलकक्सले बेअनिट कन्ट्युसन खारेज गर्न तथा त्यसलाई कार्यान्वयनमा ल्याउने श्वेत मानिसद्वारा सञ्चालन गरिएको सरकारका सदस्यविरुद्ध सशस्त्र विद्रोह गरे तर उनी त्यसमा सफल हुन सकेनन् । हवाईका मूल बासिन्दाको विद्रोह अन्ततः सन् १८९३ जनवरी १६ मा बेकार भयो, जब अमेरिकाका सैनिकले हवाई अधिराज्यमा आक्रमण गरी कलाकावाका उत्तराधिकारी रानी लिलिओकलानीलाई ससर्त आत्मसमर्पण गर्न बाध्य पारे ।

हवाईमा ठूलो राजनीतिक उथलपुथलपछि श्वेत मानिसहरू सहभागी त्यहाँको अन्तरिम सरकारले हवाईलाई अमेरिकामा गाभ्ने प्रक्रियाको थालनी गर्न चाह्यो । राष्ट्रपति ग्रोभर क्लेभल्यान्डलाई हवाईको अन्तरिम सरकारले विधिसम्मत कार्य नगरिरहेको थाहा थियो र पनि उनले हवाईलाई अमेरिका अधीनस्त पार्ने विषयको निर्णय गर्ने अधिकार कङ्ग्रेसलाई सुम्पिए । कङ्ग्रेसमा धेरै सदस्य हवाईलाई अमेरिकामा गाभ्नु पर्ने पक्षमा थिए किनभने हवाईको रणनीतिक अवस्थितिले एसियाली व्यापार बजारमा महìवपूर्ण पहुँचको अवसर दिन्थ्यो ।

अमेरिकाको राष्ट्रपतिमा क्लेभल्यान्डपछि जिम्मेवारीमा आएका विलियम म्याकिन्लेले हवाईका मूल निवासीसँग सम्बन्धित सबै सङ्घसंस्थाको गठबन्धनले व्यापक विरोध गरे पनि हवाईलाई अमेरिका अधीनस्त ल्याउने सन्धिमा हस्ताक्षर गरे । हवाईको स्थानीय भाषाका र अङ्ग्रेजी भाषाका पत्रिकामा उनीहरूले विरोधको आवाज मुखरित हुने लेखहरू लेखे । उनीहरूले श्वेतहरूको चर्चमा ‘होकुपु’ (भेटी) चढाउन छाडे तथा विरोध गर्न परम्परागत गीत गाउन थाले । सन् १८९७ मा हवाईका हजारौँ मानिसको सभामा उत्तेजनात्मक विरोध भाषण गर्दै विद्रोही नेता जेम्स कौलिना क्वालाले भने, “हाम्रो राष्ट्र अमेरिका अधीनस्त गरिनु भनेको त जिउँदै गाडिनुमा हामी राजी हुनु जस्तै हो ।”

असहमतिको अभिव्यक्ति व्यापक स्तरमा देखिएको थियो । सिल्भाका अनुसार हवाईका सबै टापुका गरी लगभग ४० हजार मूल निवासीमध्ये ९५ प्रतिशत अर्थात् ३८ हजार मानिसले हवाईको विलय खारेज गर्न तथा राजसंस्था पुनस्र्थापित गर्नका लागि संयुक्त रूपमा दुई वटा ‘क्यु ए पटिसन्स’ मा हस्ताक्षर गरेका थिए ।

सन् १८९७ डिसेम्बरमा क्वाला हवाई अन्य तीन जनालाई साथमा लिएर सो ज्ञापनपत्र बुझाउन वासिङ्टन डिसी आए । त्यहाँ उनको भेट रानी लिलिओकलानीसँग भयो । दुवैले मिलेर हवाई विलयको आधिकारिक रूपमै विरोध जनाए । अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने गरी आफ्नो सरकार अपदस्थ गरिएको भनाइ थियो रानी लिलिओकलानीको ।

तीन महिनाभन्दा बढी समय साथसाथै मिलेर आफ्नो पक्षमा जनमत तयार पार्न जोडदार अभियान चलाएपछि उनीहरूले यस मुद्दालाई सिनेटरहरूको जिम्मा लगाए । त्यसबाट उनीहरू राज्य हरणसम्बन्धी कानुन खारेज गर्न सफल भए ।

तर उनीहरूको सफलता अल्पकालीन भयो । जब अर्को वर्ष स्पेन–अमेरिका युद्ध सुरु भयो, प्रशान्त क्षेत्रमा अमेरिकी जलसेनालाई इन्धन आपूर्तिकोे केन्द्रका रूपमा हवाईको रणनीतिक अवस्थितिले आकर्षित ग-यो । त्यसपछि कङ्ग्रेसले हवाईलाई अमेरिकी क्षेत्रका रूपमा स्थापित गर्ने गरी पक्षमा मतदान गरेको थियो । जब हवाईमा अमेरिकाको झन्डोत्तोलन भयो, हवाईका हजारौँ मूल निवासीले निन्याउरो अनुहार लगाए । धेरै प्रभावित हुनेहरूमध्येमा रानी लिलिओकलानी पनि थिइन् । हवाईको अन्तिम शासक रानी लिलिओकलानीले आफ्नो ‘लाहुई’ ः आफ्नो राष्ट्र र आफ्ना जनताप्रतिको जिम्मेवारी पूरा गर्न नसकेकोमा पश्चात्ताप व्यक्त मात्र गर्न सकिन् ।

त्यसपछिका धेरै वर्षसम्म हवाईको परम्परागत संस्कृति त्यहाँको रूपान्तरणमा संलग्न सबै क्रियाकलापमा गौण विषय बन्यो । व्यापारिक आवादीको विस्तार, द्वितीय विश्व युद्ध र शीत युद्ध अवधिमा व्यापक अमेरिकी सैन्य उपस्थिति तथा पर्यटन उद्योगको उदय आदिले हवाई पहिलेको जस्तो रहेन । तथापि नागरिक अधिकारको आवाज तथा मूल निवासीहरू र तिनको पहिचानप्रति बढ्दो समर्थनले हवाईको संस्कृतिमा रुचि पलाउन थाल्यो ।

सन् १९६० र १९७० को दशकमा आन्दोलनकारीहरूले सम्प्रभुता पुनर्जीवित गर्नका लागि आफ्नो आवाज बुलन्द पार्न थालेका थिए । हवाईको दोस्रो पुनर्जागरण फल्न फुल्न थाल्यो । अब फेरि मौलिक भाषा तथा ‘हुला’ र ‘स्लाक–कि म्युजिक’ जस्ता सांस्कृतिक अभ्यास देखिन सुरु भयो, जसले हवाईका मूल निवासीको प्रतिरोधलाई ऊर्जा दिने काम ग¥यो । पारम्परिक डुङ्गा र समुद्री परिवहनका लागि तारामण्डलको अवस्थिति हेर्ने प्राचीन पोलिनेसियन पद्धतिमा पुनः रुचि उत्पन्न हुन थाल्यो ।

यस अवधिमा हवाईका मूल निवासीको सक्रियतावाद सैन्यवाद र भूमि विकासलाई लक्षित भयो । कलामा उपत्यका, बायाहोल र बेकानीमा नवनिर्माण गरिँदा स्थानीय किसान निष्कासित र विस्थापित गरिएकोमा विरोधको ठूलो आवाज उठ्यो । सन् १९७६ मा युवा प्रतिरोधीहरूको एक समूहले कहुलवे टापु कब्जा ग¥यो । यो त्यही टापु हो जसलाई राष्ट्रपति ड्वेट डी आइजेनहावरले अमेरिकी सेनालाई हस्तान्तरण गरेपछि सन् १९५३ देखि सैन्य बम खसाल्ने अभ्यासका लागि प्रयोग गरिन थालियो तथा यसबाट त्यहाँको सांस्कृतिक र आध्यात्मिक महìवमा ठूलो क्षति पुगेको थियो ।

एक दशकभन्दा बढी समय विरोध गरिएपछि कहुलवे ओहाना बचाऊ अभियानले त्यहाँ आइन्दा बम खसाल्ने अभ्यास नगरिने, टापुमाथिको नियन्त्रण पुनः राज्यलाई प्रदान गरिने र वातावरणीय सरसफाइ जस्ता सफलता प्राप्त ग-यो ।

हवाईका मूल बासिन्दालाई सबैभन्दा उल्लेखनीय सफलता सन् १९७८ मा प्राप्त भयो, जब हवाईका मूल बासिन्दामाथि भएको ऐतिहासिक अन्यायलाई सम्बोधन गर्न तथा कहुलवे फर्काउन मार्ग प्रशस्त गर्ने गरी ‘हवाई स्टेट कन्स्टिच्युसनल कन्भेन्सन’ ले ‘अफिस अफ हवाइयन अपेयर्स’ स्थापना ग¥यो । कन्स्टिच्युसनल कन्भेन्सनको तह हवाईको मौलिक भाषा त्यहाँ राजसत्ता खोसिएपछि पहिलो पटक राज्यको आधिकारिक भाषामा सूचीकृतसमेत भयो ।

हवाईका मतदाताले हवाई राज्य संहिताको पक्षमा अपार समर्थन गरी अनुमोदन गरेपछि सन् १९५९ अगस्त २१ मा हवाई अमेरिकाको ५० औँ राज्य भए पनि हवाईका कैयाँै मूल निवासी अभियन्ताले विरोध जनाए तथा विरोधलाई निरन्तरता दिइराखे । उनीहरूको के विश्वास थियो भने राज्य संहिता हवाईको सैन्यवाद, साम्राज्यवाद र उपनिवेशवाद इतिहासको एक अर्को पाना हो ।

हवाई अमेरिकाको एक राज्य बनेको धेरै समय भइसकेको भए पनि त्यस सन्दर्भमा समकालीन सम्प्रभुता आन्दोलन अझै खण्डित छ । अमेरिकाले अवैधानिक रूपमा हवाईमाथि कब्जा गरेको विश्वास गर्नेहरू क्षतिपूर्तिसहित आफ्नो भूमि फिर्ता गरिनुपर्ने पक्षमा छन् । पूर्ण पुनस्र्थापना असम्भव भएको विश्वास गर्ने अर्को पक्ष चाहिँ हवाईका बासिन्दालाई मूल बासिन्दाको सङ्घीय पहिचान दिइनु पर्ने  र केही जमिन फिर्ता गर्नुपर्ने वकालत गर्दछन् । केहीले अधिराज्य बहाली र राष्ट्रिय पहिचानका विरुद्धमा कुरा उठाउँदै बरु विदेशी शक्तिको नियन्त्रणमा रहेका क्षेत्रहरूका लागि संयुक्त राष्ट्रसङ्घले तयार पारेको अन्तर्राष्ट्रिय अभिभावकता प्रणाली (इन्टरनेसनल ट्रस्टसिप सिस्टम)को तहत हवाईलाई राजनीतिक स्वतन्त्रता दिइनुपर्ने तर्क गर्छन् ।

हवाईको राजसंस्थालाई अपदस्थ गरिएको विषयमा अमेरिकाको सङ्घीय सरकारले सन् १९९३ मा औपचारिक रूपमा क्षमा माग्यो र यो कुरा पनि स्वीकार ग¥यो– हवाईका मूल निवासीले कहिल्यै पनि आफ्नो जमिन त्याग गरेका होइनन् । हवाईका मूल बासिन्दालाई त्यहाँका आदिवासीको मान्यता दिन खोज्ने सङ्घीय कानुन अमेरिकाको संसद्ले सन् २००९ मा पारित ग¥यो तर त्यो हालसम्म लागू हुन सकेको छैन । 

–हिस्ट्रीबाट उमेश ओझाद्वारा 

अनुवादित र सम्पादित ।