• १३ साउन २०८१, आइतबार

वैकल्पिक सडकको खोजी

blog

कास्की समाचारदाता

कास्की, असार १६ गते ।   कास्कीको अन्नपूर्ण गाउँपालिका–३ को पाउदुरको पहिरोले मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने भएको छ । 

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, मन्त्रालयका उपसचिव लक्ष्मी भण्डारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीलगायतको टोलीले यस्तो निर्णय गरेको हो ।  मध्यपहाडी लोकमार्ग आयोजनाका प्रतिनिधि ठाकुर भण्डारी, पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा. महेन्द्र बानिया, वडाध्यक्ष फडिन्द्रप्रसाद पौडेलसहितको टोलीले बिहीबार पहिरोको स्थलगत अध्ययन गरी वैकल्पिक सडक सञ्चालन गर्ने निर्णय गरेको हो । 

ठुला सवारीसाधनले राजमार्ग नै प्रयोग गर्ने, साना सवारीसाधनका काँडे–मनाङ्चे–पत्थरचोक र पत्थरचोक–पाउदुरकोट सडक प्रयोगमा ल्याउन लागिएको मन्त्री जुग्जालीका स्वकीय सचिव चक्र पुनले जानकारी दिनुभयो ।  भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र मध्यपहाडी लोकमार्ग सडक आयोजनाले गाउँपालिकासँग समन्वय गरेर तत्कालै वैकल्पिक सडक मर्मत गरेर जिप, ट्याक्सी र मोटरसाइकल सञ्चालन गर्न सकिने बनाउने मन्त्री जुग्जालीको सचिवालयले जनाएको छ ।  

वैकल्पिक सडक भएमा सवारीसाधनको चाप घट्ने र ठुला गाडीलाई पहिरो पार गराउन सहज हुने प्राविधिकले सुझाव दिएका थिए । गण्डकीको पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, लुम्बिनीको पूर्वी रुकुम रोल्पाको समेत मुख्य राजमार्गको रूपमा रहेको मध्यपहाडी लोकमार्गको पाउदुर खण्डमा दैनिक घण्टौँसम्म अवरुद्ध हुँदा सयौँ   सवारीसाधन र हजारौँ यात्रु जाममा परेर दुःख पाएका छन् । 

एकतर्फी रूपमा मात्र यातायात सञ्चालन गरिँदँ आएको साँघुरो सडकमा खसिरहने पहिरो र हिलोमा सवारीसाधन फसेर सुत्केरी, बिरामी, जन्ती र यात्रुलाई सास्ती भएको थियो । म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, पुर्वी रुकुम र रोल्पाबाट पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठाउँमा जाने र आउने यात्रुलाई सास्ती भएको छ । चार वर्षअगाडि भासिएको सो सडकमा पहिरो रोकथाम गर्न तीन करोड ५० लाखमा ठेक्का लिएको ओमबुद्ध इन्टरनेसनलसँगको सम्झौताको दोस्रो पटक थपिएको म्याद यही असार ५ गते सकिएको छ । हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति छ । 

जम्मा ८० मिटर क्षेत्रलाई स्टेभल बनाउने कार्य अन्तर्गत ६५ मिटरको फाउन्डेसन बनेको छ भने १५ मिटरको काम अझै सुरु भएको छैन । तत्काल सडक निर्माण हुने नदेखिएपछि पहिरो नियन्त्रणको वैकल्पिक उपाय खोजेर नियमित यातायात सञ्चालनका लागि प्रयास गरिएको मन्त्री जुग्जालीले बताउनुभयो । आयोजनाका प्रतिनिधि भण्डारीले पहिरो क्षेत्रमा गाडी फस्न नदिन ग्राभेल हालिएको बताउनुभयो ।