• १३ साउन २०८१, आइतबार

बाँकेमा १५ प्रतिशत धान रोपाइँ

blog

असार १५ मा बाँकेमा रोपाइँ गर्दै किसान । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, असार १५ गते । करिब देशभरि धान रोपाइँ कार्यक्रम भइरहँदा बाँकेमा भने अधिकांश खेत बाँझै रहेका छन् । कृषि ज्ञान केन्द्र बाँकेले असार १५ सम्म जिल्लाका आठ वटै स्थानीय तहमा गरी करिब १५ प्रतिशत धान रोपाइँ भएको छ । 

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खानले अझ पनि केही किसानले धानको बिउँ राख्न बाँकी रहेको जानकारी गराएको बताउनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख खानले भन्नुभयो, ‘सिँचाइको सुविधा भएका स्थानमा बढी धान रोपाइँ भएको छ, अन्य स्थानमा बर्सातको अभावमा धान रोपाइँ हुन सकेको छैन ।’

कृषि ज्ञान केन्द्रका अनुसार सिँचाइको सुविधा भएका डुडुवा, बैजनाथ र राप्ती–सोनारी गाउँपालिकामा बढी धान खेती भएको छ । अहिले धान रोपाइँका लागि सबैभन्दा उपयुक्त समय भएको भन्दै कृषि प्राविधिकले अब पनि बर्सातमा ढिलाइ भएमा किसानले राखेको बिउँ छिपिन्ने बताएका छन् । 

बर्सातको अभावमा घरमा खानेपानीको धारा, मोटर तथा पम्पसेटको प्रयोग गरी जेठमै बीउ राखेका किसानहरू यतिबेला वर्षा नभएपछि बिउँ बुढो हुने चिन्तामा परेका छन् । समयमा बर्सात नहुँदा बाँकेको नरैनापुरमा गत वर्ष पनि सुख्खा भएको थियो । बाँकेमा जिल्लाभरि ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदैआएको छ ।

बाँकेमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण भए पनि शाखा नहरको काम समयमै सम्पन्न नभएका कारण किसानले पर्याप्तता लाभ लिन सकेका छैनन् ।