• १३ साउन २०८१, आइतबार

दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलबाट चुनौतीलाई अवसरमा बदल्न सकिन्छ : प्रधानमन्त्री

blog

पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

पोखरा, असार १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठनको ६ महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताउँदै दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलकदमीबाट जस्तासुकै चुनौतीलाई पनि अवसरमा बदल्न सकिने बताउनुभएको छ ।

शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिनिधि सभामा आफूले निराशा र कुण्ठा होइन, आशा र विश्वासका साथ अघि बढ्नुको विकल्प नभएको बताउनुभएको स्मरण गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘६ महिनाको अवधि सरकारको समग्र मूल्याङ्कनका निम्ति पर्याप्त होइन, यद्यपि यस अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा महत्त्वपूर्ण कामहरू भएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई सङ्गठित अपराध गर्ने प्रकरणका अभियुक्तहरूमाथि कारबाही अगाडि बढाइएको छ, ललिता निवास प्रकरणको फाइल फेरि खोलिएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिका निम्ति सरकारले गरेको भरमग्दुर प्रयासबाट आम जनतामा आशाको नयाँ रक्तसञ्चार पैदा भएको छ ।’’


प्रधानमन्त्रीले थप्दै भन्नुभयो, ‘‘समष्टिगत आर्थिक परिसूचकहरूमा सकारात्मक सुधार आएको छ। रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको छ, पर्यटक आगमनमा वृद्धि भएको छ, बैङ्कको ब्याजदर घटाई व्यवसायमैत्री वातावरण निर्माण गरिएको छ, लघुवित्त र सहकारीका समस्या दीर्घकालका लागि सम्बोधन गर्न पहल लिइएको छ, विदेशी मुद्राको सञ्चितिमा गुणात्मक वृद्धि भएको छ । निकै चुनौतीपूर्ण परिस्थितिमा गठन भएको वर्तमान सरकारले लिएको पहलकदमीका कारण देशको अर्थतन्त्र लयमा फर्किएको छ ।’’

सरकार उपलब्धिबारे चर्चा गर्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीहरूका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ जानकारी दिनुभयो । साथै यसबाट लाखौँ नेपाली कामदार, श्रमिकहरू लाभान्वित भएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली दूतावासहरूमा श्रमिक हेल्प डेस्क, अनलाइनबाटै श्रम स्वीकृति र भिसा नवीकरणको व्यवस्था, विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार, राहत र पुनर्स्थापना, नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत सेवा प्रदायक कार्यालयहरूका लामा–लामा लाइन हटाई सेवा प्रवाहमा सहजीकरण गरिएको बताउनुभयो ।


‘‘इतिहासमा पहिलो पटक समय अगाडि नै दूरदराजसहित देशभरिका विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुगेको छ । यस वर्षका लागि आवश्यक पर्ने रासायनिक मलको समयमै प्रबन्ध गरिएको छ । नेपालमा उत्पादित सवारीसाधनलाई दर्तासहित प्रवर्द्धन गर्ने नीति लिइएको छ । वीर अस्पतालका ७०० शय्या विपन्न र असहाय नागरिकका लागि निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ । मिटरब्याज पीडित किसानका समस्या सम्बोधन गर्न कानुन निर्माण र कार्यदल गठन गरी कारबाहीको प्रक्रियामा तीव्रता दिइएको छ ।,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘शान्ति सुरक्षा सम्बन्धी कार्यमा खर्च हुँदै आएको सुराकी भत्ता खारेज गरिएको छ । खेलाडीहरूलाई प्रोत्साहन र पुरस्कृत गर्दै उत्प्रेरणा प्रदान गरिएको छ । सरकारका यी र यस्तै प्रयासहरूले दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलकदमीबाट जस्तासुकै चुनौतीलाई समेत अवसरमा बदल्न सकिन्छ भन्ने प्रमाणित गर्दछन् ।’’

प्रधानमन्त्रीले प्राप्त उपलब्धिको जगमा टेकेर थप उपलब्धि हासिल गर्दै अघि बढ्न सबैको साथ सहयोग र बाटो बिराउँदा खबरदारी गर्ने जमात चाहिएको बताउँदै भएका राम्रा कामको पनि अपव्याख्या गरी आमजनतालाई दिग्भ्रमित बनाउने कार्यले देशको प्रगति नहुने बताउनुभयो ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय/रमेश पौडेल