• १३ साउन २०८१, आइतबार

रोपाइँ गर्न जनशक्ति अभाव

blog

तनहुँको भानु नगरपालिका–४ चुँदीफाँटको रोपाइँ।तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, असार १४ गते। मानो रोपेर मुरी उब्जाउने महिनाको रूपमा चिनिने असारमा किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ।

कृषकलाई कामको चटारो परिरहँदा गाउँमा काम गर्ने युवा जनशक्तिको अभाव भएर यहाँ खेती लगाउनै समस्या देखिन थालेको छ।वैदेशिक रोजगारको आकर्षणले युवा जमात विदेश पलायन हुँदा गाउँ युवाविहीन बन्दा असारको हिलोमा धान रोपाइँ गर्न महिला, बालबालिका र वृद्धवृद्धा जानुपर्ने बाध्यता छ ।

तनहुँका दश वटै पालिकामा खेतमा यतिखेर किसान धान रोप्न व्यस्त छन्।भानु नगरपालिका–४ चुँदीरम्घा निवासी दिलबहादुर परियारले अधिकांश युवा रोजगारीको लागि विदेश जाने र बुहारी सहर बजारमा डेरा गरेर बस्ने गरेकोले काम गर्नेको अभाव भएको बताउनुभयो।

पर्म लगाएर आलोपालो रोपाइँ गर्ने गरिएकोमा पर्म लगाउने नहुँदा समस्या परेको उहाँले सुनाउनुभयो।परियार भन्नुहुन्छ, ‘‘गाउँमा बुढाबुढी मात्रै छन् युवा नै छैनन् ज्यामी नपाइँदा समस्या परेको छ ।’’ 

जनशक्तिको अभावले बर्सेनि खेत बाँझो हुनेक्रम बढ्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।केन्द्रका अनुसार स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदा युवा विदेश पलायन हुन बाध्य छन्।राजनीतिक अस्थिरताले गर्दा देशभित्र रोजगारीका अवसर सहज नहुँदा जिल्लाबाट हरेक वर्ष बिदेसिनेको सङ्ख्या बढिरहेको छ।

युवाशक्ति विदेश पलायन हुँदा ११ हजार हेक्टर खेतमा वर्षेधान हुने गरेकोमा हाल घटेर आठ हजार हेक्टरमा मात्रै रोपाइँ भएको केन्द्र प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो।पानी परिरहे पनि मूल फुट्ने गरी पानी नपरेकोले टारी खेतमा रोपाइँ हुन बाँकी रहेको केन्द्र प्रमुख तिवारीको भनाइ छ।धान रोपाइँमा आवश्यक पुरुष र महिला जनशक्ति कम भएपछि समस्या आएको उहाँ बताउनुहुन्छ।

१० वटा पालिकामा रहेका ८५ वटा वडामा जिल्लाका एक तिहाइभन्दा बढी घरका कम्तीमा एक जना वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेको पाइन्छ।

जनजाति समुदायको बाहुल्यता रहेको यस जिल्लामा रोजगारीका लागि विदेश पुग्नेक्रम पहिलेदेखि नै चल्दै आएको पाइन्छ।पहिले बेलायत र भारतीय सैनिकमा भर्ती भएर जाने चलन भए पनि पछिल्लो समय साउदी अरब, मलेसिया, दुबई, कतार, दक्षिण कोरिया, जापान लगायतका देशमा बढी जाने गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरे बताउनुहुन्छ।