• २७ वैशाख २०८१, बिहिबार

सुर्खेत मेडिकल कलेजको इआइए प्रक्रिया सुरु

blog

छिन्चु समाचारदाता

सुर्खेत, असार १४ गते । सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रक्रिया सुरु भएको छ। 

मन्त्रालयले सातदिने सार्वजनिक सूचना निकालेर आयोजना कार्यान्वयन गर्दा कुनै प्रतिकूल असर पर्ने भए लिखित राय र सुझाव पेस गर्न आग्रह गरेको छ। इआइए स्वीकृत भएपछि भौतिक पूर्वाधार निर्माणको डिपिआरको काम अघि बढाउने छ। सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले वैशाख दोस्रो साता कलेज निर्माणका लागि आवश्यक इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको थियो। 

मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेर बुधबार उक्त प्रतिवेदनमाथि राय तथा सुझावका लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो। कलेज निर्माण आयोजनाले उक्त प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस गरेको थियो।

आयोजनाले मन्त्रालयमा पेस गरेको परियोजना प्रतिवेदन सम्बन्धमा सर्वसाधारण व्यक्ति वा संस्थाको कुनै राय सुझाव भए प्रथम पटक सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो राय सुझाव मन्त्रालय वा मातहतका कार्यालयमा पठाउन भनिएको छ। 

कलेज निर्माणका लागि आयोजनाले इआइए प्रतिवेदन तयार गर्न २०७६ जेठ २ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति पाएको थियो। एकै समयमा मन्त्रालयले मधेश प्रदेशको बर्दिबास, लुम्बिनी प्रदेशको रुपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज निर्माणका लागि प्रतिवेदन तयार गर्न सहमति दिएको थियो। मन्त्रालयको अनुमति पाएपछि आयोजनाले पूर्वाधार निर्माण, मेडिकल कलेजको सम्भाव्यता अध्ययन, गुरुयोजना निर्माण, इआइए र विस्तृत परियोजना प्रतिवेदन डिपिआरलगायतका काम अघि बढाएको थियो।

सोही अनुसार कलेज निर्माणका लागि आयोजनाले झन्डै पाँच वर्ष लगाएर इआइए प्रतिवेदन तयार पारेको हो। प्रस्तावित मेडिकल कलेज सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ र १३ मा निर्माण हुने छ। छ सय शय्यासहित वार्षिक एक सय जना विद्यार्थी क्षमता रहने मेडिकल कलेजको कुल लागत एक अर्ब ७० करोड रुपियाँ हुने अनुमान गरिएको छ। आयोजनाको इआइए प्रतिवेदन अनुसार प्रस्तावित आयोजनाका लागि २९.८८ हेक्टर जग्गा आवश्यक पर्छ। 

आयोजनाका लागि प्रस्ताव गरिएका साइट ‘ए’ र साइट ‘बी’ बिचको दुरी दुई किलोमिटर रहेको छ। आयोजना स्थलसम्म झन्डै चार मिटर चौडाइको पहुँच मार्गसमेत विस्तार भइसकेको छ। आयोजना सुर्खेत विमानस्थलबाट तीन किलोमिटर उत्तर पूर्वमा पर्दछ। आयोजनाको जम्मा क्षेत्रफल ९५ हजार १६० वर्गमिटर छ। साइट ‘ए’ मा १६ दशमलव ५० हेक्टर तथा साइट ‘बी’ मा १३ दशमलव ३९ हेक्टर क्षेत्र आवश्यक पर्छ।