• १३ असोज २०८१, आइतबार

दुर्घटनामा एककाे मृत्यु

blog

रवीन्द्र उप्रेती

बर्दिबास, असार १२ गते । जलेश्वर जनकपुर सडक खण्डमा मध्य राततिर भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ६५३३ नम्बरको  मोटरसाइकल जलेश्वर नपा -९ स्थित उक्त सडक खण्डको आगेपुरनजिक विगही पुलबाट करिब २० मिटर तल पानीमा खस्दा जनकपुर ९ का ३० वर्षीय मोटरसाइकल चालक शङ्कर भन्ने दीपेश ढुङ्गेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताउनुभयो । 

बिहान करिब साढे ६ बजेतिर दुर्घटनाको जानकारी हुनासाथ घटनास्थल पुगेको प्रहरीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया सुरु गरेको छ । घटनास्थलबाट प्रहरी नायव उपरीक्षक विजन राय यादवले दिएको जानकारीअनुसार घट्नाको प्रकृति हेर्दा मोटरसाइकल पुलको पश्चिमी भागमा ठोकिएर तल खसेको देखिन्छ । प्रहरीले मृतकको साथबाट पानीले भिजेर चल्न नसक्ने अवस्थामा फेला पारेको मोबाइलको सिम प्रयोग गरी सनाखत गरेको जनाएको छ । सडक चौडा भए पनि साँघुरो पुल र पुलको दुवै साइडमा खाल्डो भएको कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।