• २७ वैशाख २०८१, बिहिबार

दर्ताबिनै फार्मेसी

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, असार १२ गते । रुकुमपश्चिममा सञ्चालन भएका अधिकांश औषधी पसल मापदण्डविपरीत छन् । औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जले हालै गरेको अनुगमनमा यस्तो पाइएको हो । सो क्रममा दुई वटा औषधी पसलमा ताला लगाइएको छ । 

औषधी व्यवस्था विभाग नेपालगन्जका फार्मेसी अधिकृत धनबहादुर बोहराका अनुसार दुई वटा फार्मेसी बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमसँगको समन्वयमा ११ वटा औषधी पसलमा अनुगमन गरिएको थियो । सो क्रममा जिल्लाको त्रिवेणी गाउँपालिका–२, सिम्रुतुमा सञ्चालित त्रिवेणी सिटी अस्पतालको फार्मेसी दर्ताबिनै सञ्चालन भएको पाइएकाले ताला लगाइएको फार्मेसी अधिकृत बोहराले जानकारी दिनुभयो । मुसीकोट नगरपालिका–१, सल्लेमा सञ्चालित अमर मेडिकल हलको फार्मेसीमा पनि ताला लगाइएको छ । 

त्रिवेणी गाउँपालिकाको झुल्नेटामा रहेको कवि मेडिकलमा पनि व्यवसायीको उपस्थितिबिनै औषधी बेच्ने गरेको, औषधी बिक्री गर्ने गरेको बिल पसलको नाममा नछापेकोलगायत समस्या रहेको अनुगमन टोलीका संयोजक फार्मेसी अधिकृत बोहराले बताउनुभयो । अधिकांश फार्मेसी पसलमा सुरक्षित भण्डारण नभएको, पसलमा फोहोरमैला रहेको, औषधी भुइँमा राख्ने गरेको, तापक्रम नमिलाएर औषधी राख्ने गरिएको, बिक्री बिल जारी नगरेको, लागु तथा मनोद्दीपक (मनलाई उत्तेजित बनाउने औषधी) औषधीको रेकर्ड अध्यावधिक नभएको पाइएको अनुगमन टोलीले जनाएको छ ।

दुई औषधी कम्पनीको गम्भीर त्रुटि

फार्मेसी अधिकृत बोहराले दुई औषधी उत्पादक कम्पनीले बजारमा पठाउने गरेको औषधीमा गम्भीर त्रुटि रहेकोसमेत बताउनुभयो । नेपाल फर्मास्युटिकल प्रालिको नेपेक्स ब्रान्ड र देउराली जनता फर्मास्युटिकल प्रालिको एपेट ब्रान्डको औषधीको बिर्को राम्रोसँग सिलबन्दी नभएको पाइएको उहाँले उल्लेख गर्नुभयो । 

बिर्को राम्रोसँग नलगाइएको औषधी अधिकांश फार्मेसीमा भेटिएको छ । जसका कारण औषधी लिक हुने र त्यसको कार्यक्षमता ह्रास हुने गरेको बोहराले बताउनुभयो । जिल्लामा गरिएको औषधी पसल अनुगमनको रिपोर्ट प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई बुझाइएको छ । जनस्वास्थ्यको क्षेत्रमा लापरबाही गरिएको पाइएको भन्दै विभागले जिल्ला प्रशासन कार्यालयलाई समेत प्रतिवेदन बुझाएको हो । प्रतिवेदनको सूक्ष्म अध्ययन गरेर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो ।