• १३ मंसिर २०८१, बिहिबार

‘हेरिटेज अफ फेसन’ तास्मानिया संस्करण सम्पन्न

blog

काठमाडौँ, असार १२ गते  । निर्माता सन्तोष अधिकारीले ‘हेरिटेज अफ फेसन’ को अस्ट्रेलियास्थित तास्मानिया संस्करण सम्पन्न गर्नुभएको छ । आइतबार पहिलो पटक तास्मानियाको होबार्टमा सम्पन्न ‘हेरिटेज अफ फेसन’ मा स्थानीय सांसददेखि मेयरसम्मको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा तास्मानिया राज्य सभाकी सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सिलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लुमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सिआर जोन केलीको उपस्थिति थियो । फेसन सोमा नेपालबाट सञ्चारकर्मी विवेक खतिवडा, सो कोरियोग्राफर मुस्कान रानी र ड्रेस डिजाइनर अमितेष कर्ण र इन्द्रालक्ष्मी अचाजु सहभागी हुनुभएको थियो ।

आसाप इन्टरटेनमेन्टले थ्रेटर रोयलमा आयोजना गरेको संस्करण तास्मानियामा भएको नेपाली समुदायको पहिलो कार्यक्रम रहेको निर्माता अधिकारीले बताउनुभयो ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान’ नारासहित आयोजित कार्यक्रममा नेपाललगायत विभिन्न देशका कलाकार तथा मोडलले नेपाली फेसन डिजाइनरले तयार पारेका पोसाकमा ¥याम्प नापेका थिए । ‘हेरिटेज अफ फेसन अस्ट्रेलिया’ नेपाली कला र संस्कृतिको वास्तविक उत्सव रहेको भन्दै नेपाल र अस्ट्रेलियाका शीर्ष फेसन डिजाइनर, मोडल र मेकअप आर्टिस्टहरूले आकर्षक रनवेमा आफ्नो कला प्रस्तुत गरेको आयोजकले जनाएको छ । परम्परागतदेखि समकालीन डिजाइनले नेपालको समृद्धि, जीवन्त सम्पदा झल्काएको दाबी आयोजको छ । नेपाली कला र संस्कृतिको जगेर्नामा सहयोग गर्न उल्लेख्य मात्रमा होबार्टवासी नेपाली सहभागी भएको निर्देशक अधिकारीले बताउनुभयो ।