• १२ साउन २०८१, शनिबार

प्रवासी नेपालीलाई आफ्नो संस्कृति जोगाउन आग्रह

blog

करुण अर्याल 

लन्डन, असार ८ गते । पतञ्जली योगपीठ ट्रष्टका महासचिव एवम आयुर्वेदका ज्ञाता आचार्य बालकृष्णले प्रवासमा रहेका नेपाली समुदायलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउनका लागि सव्रिmय रहन आग्रह गर्नुभएको छ । 

नवौँ विश्व योग दिवसको अवसरमा हाम्रो स्वाभिमान यूके ट्रष्टद्वारा लण्डनको ह्यारोमा आयोजित कार्यक्रममा आचार्य बालकृष्णले योग विज्ञानले शारीरिक र मानसिक रुपमा निरोगी बनाउने मात्रै नभई संसारभरि शान्ति र सद्भाव बढाउन योगदान गर्ने बताउनु भयो । 

उहाँले  नेपालमा पतञ्जली योगपीठसंग आबद्ध रहेका ६० हजार योग शिक्षकहरुले ७७ जिल्लामा नियमित रुपमा आठ हजार योग कक्षाहरु सञ्चालन गरिरहेको पनि जानकारी दिनु भयो । 


आचार्य बालकृष्णले नेपालीहरुले अन्तर्राष्ट्रियस्तरमा प्रगति गरिरहेको बताउँदै भन्नुभयो,‘‘आफ्नो भाषा, संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न नसकेमा भोलि पहिचानकै सङ्कट उत्पन्न हुन सक्छ ।’’ उहाँले  पतञ्जली योगपीठले नेपालमा आधुनिक शिक्षा प्रणालीमा आधारित तीनवटा गुरुकुल स्थापना गर्न लागेको बताउनु भयो ।

संयुक्त अधिराज्य (बेलायत) का लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आफ्नो भाषा र संस्कृति जोगाउनु नै आफ्नो पहिचान जोगाउने मन्त्र भएको बताउनु भयो । उहाँले  संसारभरका नेपालीलाई सामाजिक र सांस्कृतिक रुपमा जोड्ने हाम्रो स्वाभिमान ट्रष्टको अवधारणा सरहानीय रहेको पनि बताउनु भयो । उहाँले एक तपोभूमि, ज्ञान भूमि र ध्यान भूमिको रुपमा रहेको नेपाललाई आध्यात्मिक रुपमा अगाडि बढाउन योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नु भयो ।

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्यले ऋषीहरुले तपस्या गरेको पवित्र भूमि नेपाललाई योग र ध्यानको केन्द्र बनाउन सहकार्य गर्नुपर्नेमा जोड दिनु भयो । 

सोही कार्यक्रममा रोहित गुरूङको अध्यक्षतामा बाह् सदस्यीय हाम्रो स्वाभिमान यूके ट्रष्ट कार्य समिति पनि चयन भएको छ । हाम्रो स्वाभिमान ट्रष्ट युकेका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई आचार्य बालकृष्णले सोही कार्यक्रममा प्रमाणपत्र पनि प्रदान गर्नु भयो । 

यसैगरी, बिहीबार नै आचार्य बालकृष्ण र नेपाली राजदूत आचार्यबीच लन्डनस्थित नेपाली दूतावासमा भेटवार्ता भएको थियो ।