• १२ असार २०८१, बुधबार

जनकपुरधाम उपमहानगरपालिकाको २ अर्ब २८ करोड बजेट प्रस्तुत

blog

धर्बेन्द्र झा 

धनुषा, असार ८ गते । मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको अगामी आर्थिक वर्ष २०८०–८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २ सय ९० रुपियाँको आयव्ययसहितको नीति कार्यक्रम र बजेट प्रस्तुत भएको छ ।  

शुक्रबारदेखि सुरु भएको जनकपुरधाम उपमहानगरपालिकाको १० औं नगरसभामा नगर प्रमुख मनोजकुमार साहले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र नगर उपप्रमुख किशोरी साहले सो बजेट प्रस्तुत गर्नुभयो । उपप्रमुख साहले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ १ अर्ब १३ करोड ३२ लाख अर्थात कूल बजेटको ४९.७८ प्रतिशत छ ।

त्यस्तै, पुँजीगततर्फ एशियाली विकास बैंकको बजेटसहित १ अर्ब ९ करोड २८ लाख ३५ हजार २ सय ९० रुपियाँ अर्थात कूल बजेटको ४७.८८ प्रतिशत रहेको छ । यसका साथै वित्तीय व्यवस्थापनतर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात कूल बजेटको २.३४ प्रतिशत रहेको छ । 

बजेट स्रोतको रुपमा जनकपुरधाम उपमहानगरपालिकाको आन्तरिक आम्दानीबाट ८० करोड ४३ लाख ११ हजार २ सय ९० रुपियाँ, बाह्य स्रोतमा संघीय तथा प्रदेश सरकारको सशर्त अनुदान र एडीबीका योजना समेतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार र आन्तरिक ऋणबाट ८ करोड ३३लाख ३७ हजार व्यहोर्ने उपप्रमुख साहले प्रस्तु गर्नुभएको बजेटमा उल्लेख छ । बजेटमा नगरको सरसफाई, कृषि, शिक्षा, पर्यटन क्षेत्रलाई प्राथमिकतामा छ ।

नगरसभामा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख कुमार साहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा उपमहानगरपालिकालाई सफा, स्वच्छ, सुन्दर र सुसंस्कृत तथा समृद्ध बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । 

जनकपुरधाम विश्वका हिन्दुहरूको आस्थाको केन्द्र भएकाले यस ठाउँको धार्मिक तथा पर्यटकीय स्थलको सौन्दर्यीकरणका साथै नगरलाई स्मार्ट शहरको रुपमा विकास गर्न सबै प्रकारका उपायहरू अवलम्बन गर्ने प्रतिबद्धता नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।  

प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादवले जनकपुरधामलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न यहाँको मठ, मन्दिर, पोखरी तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेटबीचमा तालमेल नभएकाले कार्यान्यन गर्न समस्या आउने बताउनुभयो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले देशकै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहर जनकपुरधाम भएकाले यहाँको विकासका लागि संघ र प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट माथि गहन छलफल हुने  उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले जानकारी दिनुभयो ।