• १३ साउन २०८१, आइतबार

डेङ्गुको उच्च जोखिममा बागमती

blog

राममणि दाहाल

हेटौँडा, असार ८ गते । गत वर्षझैँ यो वर्ष पनि बागमती प्रदेश डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ। यो वर्षको मनसुन सुरु भइसकेकाले अधिक वर्षा हुनुपूर्व नै डेङ्गु रोगको स्रोतमै रोकथाम र नियन्त्रणका उपाय नअपनाइए गत वर्ष जस्तै यस प्रदेशमा डेङ्गु रोगको सङ्क्रमणले महामारीको रूप लिने अध्ययनले निष्कर्ष निकालेको हो।

गत वर्ष डेङ्गुबाट अति प्रभावित बागमती प्रदेशका पाँच जिल्लाका विभिन्न स्थानमा गरिएको कीटजन्य रोग सार्ने परजीवीको निगरानीका लागि गरिएको अध्ययनले डेङ्गु रोगको सङ्क्रमणको जोखिम उच्च देखाएको हो। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको प्राविधिक सहयोगमा गरेको अध्ययनले महामारी फैलन नदिन वर्षाअघि नै डेङ्गु रोग सङ्क्रमण गर्ने लामखुट्टेको लार्भा, प्युपा स्रोतमै नष्ट र नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले बुधबार हेटौँडामा आयोजना गरेको बागमती प्रदेशका जिल्लाहरूमा किटजन्य रोगको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अध्ययनमा भेटिएको डेङ्गु रोग सङ्क्रमण गर्ने लामखुट्टेको लार्भाको सूचकाङ्क डेङ्गु रोग महामारीको सूचक भएको बताइएको थियो।

केन्द्रले गरेको अध्ययनका क्रममा प्रदेशका विभिन्न पाँच स्थानमा ५४७ घरधुरी र पानी जम्मा भएका एक हजार ६२३ भाँडाको पानी जाँच गर्दा डेङ्गु पोजेटिभ न्यूनतम सीमाभन्दा बढी पाइएको कार्यक्रममा जानकारी गराइएको थियो। 

प्रदेशका विभिन्न जिल्लामा गत वर्ष साउन र भदौमा डेङ्गु रोगको सङ्क्रमणले महामारीको रूप लिएपछि प्रदेशको स्वास्थ्य मन्त्रालयले अध्ययन, अनुसन्धान गर्न केन्द्रसँग सम्झौता गरेको थियो। भविष्यमा डेङ्गु सङ्क्रमण महामारीको रूपमा आउन नदिन आवश्यक नीति निर्माण, रोकथाम र नियन्त्रणका लागि केन्द्रले वर्षाअगावै सुक्खा समयमा गरेको अध्ययनले अझै पनि डेङ्गु सङ्क्रमणको जोखिम रहेको देखिएको केन्द्रका सहायक इन्टोमोलोजिस्ट दीपक शाहले जानकारी दिनुभयो। 

सर्वेक्षण गरेको क्षेत्रमा डेङ्गु पोजेटिभ सीमाभन्दा बढी भेटिएको जानकारी दिँदै उहाँले सर्वेक्षणबाट डेङ्गु फैलने अधिक सम्भावना भेटिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “वर्षा सुरु भएपछि डेङ्गु नियन्त्रण गर्ने भन्ने हाम्रो सोच छ तर अहिले नै रोकथाम र नियन्त्रणका प्रयास सुरु नभएमा यसले गत वर्षभन्दा भयावह अवस्था निम्त्याउन सक्छ।”

प्रदेशको स्वास्थ्य मन्त्रालयले बुधबार हेटौँडामा आयोजना गरेको प्रदेशभित्रका जिल्लामा किटजन्य रोगको सर्वेक्षण प्रतिवेदन सार्वजनिकीकरण कायक्रमका सहभागी । 

सर्वेक्षणबाट प्राप्त सूचकाङ्क अनुसार ‘एडिज’ जातको लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुने दर ५४७ घरधुरी सर्वेक्षण गर्दा १३३ घर अर्थात् २४.३१ प्रतिशत, पानी जम्मा भएका एक हजार ६२३ भाँडाको पानी जाँच गर्दा १७० अर्थात् १०.४७ प्रतिशत र प्रति सय घरधुरी अर्थात् बीआईको सूचकाङ्क ३१.०८ प्रतिशत रहेको छ।

डेङ्गु रोगको सङ्क्रमणको अध्ययन सर्वेक्षण गत चैत १० देखि वैशाख १८ सम्म काठमाडौँ महानगरपालिका–१६, ललितपुर महानगरपालिका–५ र १४, मध्यपुर थिमि नगरपालिका–४, रत्ननगर नगरपालिका–१ र मकवानपुरको मनहरी गाउँपालिका–७ मा गरिएको थियो। प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले डेङ्गु रोगको सङ्क्रमणको अवस्था, रोकथाम, डेङ्गु रोगको प्रकृतिबारे अध्ययन पहिलो चरणमा पाँच जिल्लामा र आगामी आवमा प्रदेशका बाँकी जिल्लामा गरिने जानकारी दिनुभयो। उहाँले एउटा घरमा कति पोजेटिभ छ, पानी थापेको वा जम्मा भएको स्थानमा लामखुट्टेको लार्भा, प्युपा छ छैन अध्ययन गरिएको र छ भने पोजेटिभ मानिने बताउँदै अध्ययनका क्रममा भक्तपुरमा घरभित्रै पनि पानी सङ्कलन गरिएको भाँडामा डेङ्गु पोजेटिभ देखिनु डेङ्गुको सूचक हो, यो जोखिमपूर्ण पनि हो र महामारीको पनि सूचक हो भन्नुभयो।

छोपेर पानी राखेका ड्रममा जोखिम कम हुने बताउँदै प्रवक्ता तिवारीले भन्नुभयो, “फूलदानी, बिर्को नलगाएको ड्रम, फालेका भाडाकुँडा सर्वेक्षणका क्रममा डेङ्गु पोजेटिभ पाइएको छ।” केन्द्रले सर्वेक्षण स्थलबाट लार्भा सङ्कलन गरी हेटौँडामा रहेको प्रयोगशालामा हुर्काएर डेङ्गु पोजेटिभ भए नभएको परीक्षण गर्दा पोजेटिभ भेटिएको भन्दै प्रवक्ता तिवारीले अगाडि भन्नुभयो, “विगतमा पुराना अध्ययनका आधारमा रोकथाम र नियन्त्रणको प्रयास हुने गरेको थियो, अब स्थानीय आवश्यकता अनुसार रणनीति बनाउन सघाउ पु-याउने छ।”

कस्तो मौसम र समयमा डेङ्गुको महामारी फैलन्छ, कुन स्थानमा डेङ्गु सार्ने लामखुट्टे बस्छ अध्ययन र विश्लेषण गर्ने काम सर्वेक्षणबाट भएको बताउँदै उहाँले अब डेङ्गु नियन्त्रणका लागि आगामी नीति तथा कार्यक्रम बनाउँदै गरेका स्थानीय तहलाई रणनीति बनाउन सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा स्वास्थ्य मन्त्रालय, निर्देशनालय र स्थानीय तहका स्वास्थ्यकर्मीको सहभागिता थियो।

बागमती प्रदेशमा चालु आर्थिक वर्षको साउनदेखि गत चैतको पहिलो सातासम्ममा ४२ हजार ५०७ जनामा डेङ्गु सङ्क्रमण भएको तथ्याङ्क प्रदेश स्वास्थ्य मन्त्रालयसँग रहेको छ। यस्तै प्रदेशमा डेङ्गु रोग सङ्क्रमणबाट २७ जनाको मृत्यु भएको तथ्याङ्क छ। त्यसपछि भने तथ्याङ्क अद्यावधिक भएको देखिँदैन।