• २८ मङ्सिर २०८२, आइतबार

मुलुकलाई अग्रगामी निकास दिन समाजवादी मोर्चा : यादव

blog

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव । फाइल तस्बिर

काठमाडौं, असार ७ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले विगतका कमी कमजोरीलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दालाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका लागि मोर्चा गठन भएको बताउनुभयो । उहाँले आदिवासी, मधेसी मुद्दा सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने लक्ष्य रहेको बताउनुभयो। उहाँले समाजवादी मोर्चा गठन गर्दा आफ्नो अस्तित्व नै सकियो भन्ने किसिमका समाचार आइरहेको भन्दै समाजवादी मोर्चाले आदिवासी, जनजाति, मधेसी र पहिचानवादीको मुद्दालाई झनै बलियो बनाएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘हामीले समाजवादी मोर्चा घोषणा गरेका छौँ । यी लक्ष्य बोकेको समाजवादी मोर्चाले निश्चित रूपमा विगतका कमी कमजोरीलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दालाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका साथसाथै सामाजिक न्यायसँगै आदिवासी, मधेसी लगायतका जुन राष्ट्रिय मुद्दा छन् । मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयास गर्नका लागि नै मोर्चा निर्माण भएको हो ।’’

अध्यक्ष यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा बजेट पारित नहुने बताउनुभयो । उहाँले सरकारले बजेट सच्याएर ल्याएपछि मात्रै बजेट संसदबाट पास हुने बताउनुभयो । उहाँले आफ्नो पार्टी बजेटमा न्यायोचित वितरण भएन भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँले बजेट सच्याएर अघि बढ्ने सहमति भएको बताउनुभयो । 

अध्यक्ष यादवले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई व्यवहारमा कार्यान्वयन गर्ने बेला आएको बताउनुभयो । उहाँले आफ्नै देशका नागरिकलाई नागरिकता दिनबाट वञ्चित गर्ने कार्य असंवैधानिक कार्य भएको बताउनुभयो ।