काठमाडौँ, असार ६ गते । अखण्ड भारतसम्बन्धी नक्साका विषयमा भारतको विदेश मन्त्रालयले नेपाललाई जवाफ दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मङ्गलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रश्नको जवाफ दिने क्रममा भारत सरकारका तर्फबाट त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको जानकारी दिनुभयो ।
भारतको संसद् भवनभित्र राखेको ‘म्युरल’ (भित्तेचित्र)मा लुम्बिनी, कपिलवस्तुसहितका नेपाली भूभाग समेटिएको विषयमा नेपालको दूतावासलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन सरकारका तर्फबाट निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री साउदले भारतको विदेश मन्त्रालयबाट आएको धारणा अनुसार सम्राट् अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी म्युरलको क्याप्सनमा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारिक धारणासमेत त्यहाँका विदेशमन्त्रीबाट आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म्युरलका बारेमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन हुन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन पनि गरिसकेको कुरा जानकारी गराउँछु ।” आफूलाई सो बारेमा सोधिएको प्रसङ्ग स्मरण गर्दै उहाँले दुई देशको संवेदनशील विषयमा देशको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्रमन्त्रीले बोलेको अभिव्यक्तिले त्यो देशको भ्रमण र सम्बन्धका बारेमा पूर्ण जानकारी नलिई बोल्नु परिपक्व नहुने प्रष्ट पार्नुभयो।
भारतस्थित नेपाली राजदूतावासले स्पष्ट रूपमा त्यसका बारेमा सरकारले रिपोर्ट नगरी या भारत सरकारको धेरै कार्यालय छन्। उहाँले ती कार्यालयले कुन कुन ठाउँमा कस्ता नक्सा राखिएका छन् र त्यो नक्साको आधिकारिकता के हो भनेर भारतले आफूले स्पष्ट नगरुन्जेलसम्म हामीले हतारमा सरकारको तहबाट प्रतिक्रिया व्यक्त गर्दा हतारमा गर्न नहुने बताउनुभयो। उहाँले अगाडि भन्नुभयो, “या त हाम्रो दूतावासबाट रिपोर्ट आउनुपर्छ वा भारत सरकारले यो उद्देश्यले यो म्युरल वा नक्साभन्दा पनि त्यो चित्र यो प्रयोजनका लागि राखिएको हो भन्ने स्पष्ट पार्नुपर्छ।” उहाँका अनुसार नक्सामा सिमाना हुन्छ, चित्रमा सिमाना नहुन सक्छ। त्यस कारण त्यो चित्र राख्दा त्यसको व्याख्या सम्बन्धित देशले गरेपछि मात्रै नेपालले त्यसबारे धारणा बनाउँछ।
उहाँले नेपालको नक्सा के हो भन्ने सवालमा २०७७ असार ४ गते नेपालको संविधानमा सर्वसम्मतिले दोस्रो संशोधन गरेर नयाँ नक्सा समेटेर संविधानको अनुसूची ३ मा नेपालको निसाना छाप अद्यावधिक गरिएको तथ्य सबैमा जानकारी रहेको स्पष्ट पार्नुभयो। “त्यस कारण आफ्नै नक्साका बारेमा सधैँ विवाद बनाइराख्नु उचित हुँदैन,” उहाँले भन्नुभयो, “नेपालको आधिकारिक पदमा भएका व्यक्तिलार्ई रातदिन नक्साका बारेमा धारणा के हो भनेर सोधिराख्नु आवश्यक छैन।”
उहाँले इपिजी प्रतिवेदनका बारेमा पनि समितिलाई जवाफ दिनुभयो। दुई देशको सरकारले आठ जनाको समूह बनाएर प्रतिवेदन तयार गरेको बताउँदै परराष्ट्रमन्त्री साउदले भन्नुभयो, “ती समूहको सहमतिमा लेखिएको प्रस्तावमा के छ, के छैन भन्ने नेपाल सरकारलाई जानकारी छैन। हामीले त्यो बुझिसकेका छैनौँ। पढेका पनि छैनौँ ।”
उहाँले कुनै चिया पसलमा बस्दा इपिजीमा यो यो कुरा छ भनेर इपिजीको कुनै सदस्यले गफगाफको सिलसिलामा गर्ने कुरा अलग भएको बताउनुभयो। उहाँले आधिकारिक रूपमा सरकारले अध्ययन नगरेको भन्दै त्यसमा संलग्न नेपालका जिम्मेवार व्यक्तिले जिम्मेवारी र मेहनतका साथ प्रतिवेदन लेख्नुभएको प्रष्ट्याउनुभयो। उहाँले सो विषयमा प्रष्ट पार्नुभयो, “त्यसमा नेपाल सरकार सकारात्मक छ। प्रतिवेदन जुनसुकै बेला उहाँहरूले बुझाउन चाहनुहुन्छ भने हामी बुझ्न तयार छौँ।”