• १२ पुस २०८१, शुक्रबार

आँखा शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित

blog

शिविरमा उपचारपछि जेष्ठ नागरिक बिरामीहरु । तस्बिर : राजन रावत, हुम्ला

राजन रावत 

हुुम्ला, असार ५ गते । दुर्गमको सर्केगार्ड गाउँपालिकाको साँबया स्वास्थ्य चौकीमा सञ्चालन गरिएको दुई दिने आँखा शिविरमा ४५ जना ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको छ । साँया स्वास्थ्य चौकीका संयोजक बबरजङ्ग पालका अनुसार कोरोना यताको चार वर्षपछि दुर्गमको स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुँदा ९० जना मोती बिन्दुका बिरामीको सफल शल्यक्रिया भएको हो । 

आँखा शिविर सञ्चालन हुँदा ज्येष्ठ नागरिक र शारीरिक अशक्त भएका नागरिक लाभान्वित भएका छन् । शिविरमा आँखाको शल्यक्रिया गरिएका सबै बिरामीहरूको सफल उपचार भएको छ । शल्यक्रिया गरिएकामध्ये ८० वर्षमाथिका बिरामी १७ जना रहेका छन् भने ७० देखि ७९ वर्षका २८ जना छन् । 

त्यसैगरी ६० देखि ६९ उमेर समूहका ३७ जना र त्यो भन्दा सानो उमेरको आठ जनाको शल्यक्रिया भएको हो । शिविरमा तीन सय ४४ जनाको आँखाको परीक्षण र आवश्यकता अनुसार चस्मा समेत उपलब्ध गराइएको छ । शिविरमा ३० भन्दा बढी अपाङ्गता भएका बिरामीले आँखाको उपचार गराएका छन् । 

आँखाको शल्यक्रिया गरेका सर्केगार्ड गाउँपालिका-४ का धर्मबहादुर शाहीले गाउँमै आँखा शिविर सञ्चालन हुँदा बिरामीलाई सहज भएको बताउँदै कतिपय बिरामीले दोस्रो पटक आँखा पाएको बताउनुभयो । उनले आफै‌ उपचार गर्न नसक्ने र गाउँभन्दा बाहिर पनि जान नसक्ने एक सयभन्दा बढी बिरामीहरूले प्रत्यक्ष रूपमा सेवा पाएको जानकारी दिनुभयो।   

शिविर पुग्न बिरामीहरू छ घण्टादेखि एक दिन पैदल हिँडेर आएका थिए । शिविर तिलगङ्गा आँखा प्रतिष्ठानको आर्थिक तथा प्राविधिक सहयोग र सर्केगार्ड गाउँपालिकाको सहजीकरण र केही आर्थिक सहयोगमा सञ्चालन भएको हो । 

शिविरका लागि प्रतिष्ठानबाट निर्देशक रिना गुरुङको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पुगेको थियो । शिविर अवधिभर गाउँपालिकाले बिरामीको खाना खर्चको समेत व्यवस्था गरेको थियो ।