• ५ जेठ २०८१, शनिबार

उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय दिन सरकारसँग माग

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक एवम् सांसद सन्तोष परियार।

काठमाडौं, असार ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक एवम् सांसद सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्नुहुँदै उहाँले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न पनि सरकारसँग माग गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरणासन्न हुने गरी कुटपिट गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुको सट्टा उनीहरूमाथि लगाइएको मुद्दा समेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

प्रमुख सचेतक परियारले भन्नुभयो, ‘‘प्रहरीले पनि भित्र जान पाउँदैन भन्ने हाम्रो शान्तिको मान्यतालाई गुण्डागर्दीको शैलीमा दिनदाहाडै त्यसरी कुटपिट गरेर मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो । न्याय चाहिन्छ । न्यायलाई मर्न नदिऊ । न्याय पनि म¥यो भने हाम्रो आसा रहँदैन । विश्वविद्यालय जस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरणासन्न हुने गरी कुटनेहरुलाई नछोडौँ । म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । कृपया, यो गल्तीलाई सच्याउनुस् । पीडितलाई न्याय दिनुस् ।’’

प्रमुख सचेतक परियारले शैक्षिक संस्थाहरू शान्ति क्षेत्र हुने मान्यतालाई समेत तिलाञ्जली दिने काम गरेका नेविसंघका ती विद्यार्थीहरूमाथि लगाइएको ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा सरकारले फिर्ता लिन नमिल्ने जिकिर समेत गर्नुभयो ।