• ५ जेठ २०८१, शनिबार

समाजवादी मोर्चासँग नतर्सिन यादवको आग्रह

blog

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव । तस्बिर : रासस

गोरखापत्र अनलाइन

काठमाडौं, असार ४ गते । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग कसैलाई नतर्सिन आग्रह गर्नुभएको छ । काठमाडौंमा आज आयोजित चार दलको समाजवादी मोर्चा घोषणा सभामा उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष यादवले भन्नुभयो, “निश्चित उद्देश्यका लागि निर्माण गरिएको मोर्चा हो । यसलाई सबैले सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ । यसले आफ्नो लक्ष्यतर्फ अगाडि बढ्ने कुरामा म ढुक्क छु ।”

परिवर्तन, राष्ट्र निर्माणको मुद्दालाई अगाडि बढाउने भन्नुहुँदै मोर्चा कसैको विरुद्धमा लक्षित नभएको यादवको भनाइ छ । उहाँले भन्नुभयो, “नागरिकताबाट आफ्नै देशमा नागरिकका सन्तानहरू वञ्चित छन् । आफ्नै देशका नागरिकका सन्तानलाई नागरिकताबाट वञ्चित गराउने देश नेपाल बनेको छ ।” जनतालाई अनागरिक बनाउने कार्यको जनताबाटै विरोध भएको उहाँको भनाइ छ ।