• १३ साउन २०८१, आइतबार

नार्कका कार्यकारी निर्देशकले तय गरे दस प्राथमिकता

blog

काठमाडौँ, असार ४ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले आफ्नो कार्यकालभर काम गर्ने १० वटा प्राथमिकता तय गर्नुभएको छ । कार्यकारी निर्देशकमा हालै नियुक्त हुनुभएका डा. भट्टराईले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाललाई आफूले गर्ने प्राथमिकताका १० बुँदे सूची बुझाउनुभएको छ । 

उहाँले पहिलो चरणमा नार्कको ऐन संशोधन गरी कृषि अनुसन्धान सचिवको व्यवस्था गर्नुका साथै मास्टर र पिएचडी अध्ययन र अध्यापन तथा कर्मचारी पेन्सन समस्या समाधानलाई मुख्य प्राथमिकतामा राख्नुभएको छ । 

नार्कलाई गतिशील बनाउन कर्मचारी सरुवा, निर्देशक, कार्यालय प्रमुख नियुक्ति, उच्च शिक्षा अध्यन र वैदेशिक भ्रमणका लागि स्पष्ट मापदण्ड बनाउने उहाँले उल्लेख गर्नुभएको छ । साथै उहाँले अनुसन्धान केन्द्र, बालीबस्तु कार्यक्रम, कृषि अनुसन्धान निर्देशनालय र केन्द्रीय कार्यालयका सबै कार्यक्रमको अर्थपूर्ण अनुगमन गरी पुरस्कार र दण्डको व्यवस्था गर्नेसमेत उल्लेख गर्नुभएको छ । 

कृषि अनुसन्धान निर्देशनालयलाई प्रदेशस्तरमा समन्वय गर्न सक्ने गरी एक महिनाभित्र थप अधिकार दिइनुका साथै प्रतिस्पर्धात्मक अनुसन्धान सिद्धान्तलाई अवलम्बन गरिने कुरालाई प्राथमिकतामा राख्नुभएको छ । यो काम उहाँले तीन महिनाभित्र पूरा गर्ने दाबी गर्नुभएको छ । 

नार्क र राष्ट्रिय पशु अनुसन्धान प्रतिष्ठानलाई मर्जर गरी कृषि र पशु विज्ञान अनुसन्धान प्रतिष्ठान बनाइनेसमेत उहाँले आफ्नो सूचीमा राख्नुभएको छ । सो प्रतिष्ठानमार्फत सम्भावित विषयमा मास्टर र पिएचडी डिग्री दिने गरी अध्यापन र अनुसन्धानको सुरुवात गरिने उहाँले बताउनुभयो । यो काम उहाँले छ महिनाभित्र सुरु गरिसकिने बताउनुभयो । राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र र राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रलाई मर्जर गरी खुमल कम्प्लेक्समा सुविधासम्पन्न कृषि प्रविधि सूचना केन्द्र बनाउनका लागि तीन महिनाभित्र काम सुरु गरिसक्ने उहाँले बताउनुभयो । 

खुमल कम्प्लेक्समा ठूलो क्षमताको अडिटोरियम हल बनाइनुका साथै स्थानीय सरकारका प्राविधिकलाई उच्चस्तरीय तालिमको व्यवस्था गरिने उहाँले आफ्नो प्राथमिकताको सूचीमा राख्नुभएको छ । उद्यमी किसानलाई दिने गरिएको आवासीय तालिमलाई प्रतिस्पर्धात्मक, पारदर्शी र प्रभावकारी बनाइनुका साथै कर्मचारी आवास घर र किसान अतिथि घर निर्माण सुरु गरिने उहाँले प्राथमिकतामा राख्नुभएको छ ।