• १२ असार २०८१, बुधबार

मधेश प्रदेश सभाको समितिका सभापतिहरुद्वारा गाेपनीयताको शपथ

blog

शपथग्रहण पछि सभापतिहरु सभामुख रामचन्द्र मण्डलसँग सामूहिक तस्विर लिनुहुँदै । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, असार ३ गते । मधेश प्रदेशसभाका सातमध्ये पाँच विषयगत समितिका नवनिर्वाचित सभापतिले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेशसभा सचिवालयमा आइतबार आयोजित कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले दलहरुको सहमतिकै अधारमा विषयगत समितिका सभापतिहरु निर्वाचित भएको र यसले अगामी दिनमा प्रदेशसभाको कामकाजमा सहयोग पुग्ने बताउनुभयो । उहाँले समितिले सरकारको कामकाजलाई पनि अनुगमन गरी आवश्यक सल्लाह सुझाव दिंदा विकास निर्माणका कामहरुले गति लिने उहाँले विश्वास व्यक्त गर्नुभयो  ।

प्रदेशसभाका विषयगत समितिहरुमध्ये विकास समितिको सभापतिमा जसपाका शारदा शङ्करप्रसाद कलवार, अर्थ तथा योजना समितिको सभापतिमा जनमत पार्टीका सतिशकुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का शारदा दास (पहाडी), सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले) का मञ्जुकुमारी थापा मगर र महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सभापतिमा लोसपाका रुपाकुमारी यादव र्निविरोध निर्वाचित हुनुभएको छ ।

दलहरुको सहमतिमै विषयगत समितिको सभापतिका लागि भएको निर्वाचनमा उहाँहरुको एकल उम्मेदवारी परेपछि र्निविरोध निर्वाचित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो । अन्य दुई वटा भूमि व्यवस्थापन र प्रदेश मामिला  समितिमध्ये एउटा नेपाली काँग्रेसलाई र अर्को नेकपा (एकीकृत समाजवादी) ले पाउने सहमति भएको छ । 

दुवै दलको तर्फबाट उम्मेदवारको नाम सिफारिश भई आएपछि बाँकी रहेका दुई समितिको सभापतिको समेत टुङ्गो लाग्ने प्रदेशसभा सचिवालयले जनाएको छ । शपथ ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै अर्थ तथा योजना समितिका सभापति सतिशकुमार सिंहले  मधेश प्रदेशमा देखिएका आर्थिक क्रियाकलापको व्यथितीलाई सही दिशामा ल्याउन समितिले कामकाज गर्ने बताउनुभयो ।