• १३ असोज २०८१, आइतबार

दमकको थानारोड 'नमुना हरितमार्ग' बन्ने

blog

दमकको हरितमार्ग रुपमा विकास हुँदै गरेको थानारोड ।

विष्णुप्रसाद पोखरेल

दमक, असार २ गते । इलाका प्रहरी कार्यालय अगाडिबाट बजारसम्म करिब ४ सय मिटर सडकको दुई किनार दुई वर्षमा हरियाली नमुना बनेको छ । गर्दा हुँदो रहेछ र सडकलाई हरियाली तथा सुन्दर बनाउन सकिँदो रहेछ भन्ने झापा दमक वडा नं. ६ स्थित थानारोडका स्थानीयहरूले देखाएका छन् ।

सडकका दुई किनारमा व्यवस्थित फुटपाथ सहित रेलिङमार्ग रहेको छ । सोही रेलिङमार्गमा गमलामा विभिन्न प्रजातिका फलफूल तथा बोटबिरुवाहरू हरियाली बनेर हुर्किरहेका छन् । अहिले त सडकको दायाँबायाँ नै हरित देखिँदा मनमोहक लाग्ने भएको छ, स्थानीय सामाजिक अगुवा नन्दी अधिकारीले बताउनुभयो ।

“अहिले त मानिसहरू आएर सेल्फि खिच्ने गरेका छन्”, उहाँले भन्नुभयो । सुरुवातमा गमला राखेर बोटबिरुवा हुर्काउन निक्कै मुस्किल भएको पनि उहाँले जनाउनुभयो । गमला नै चोर्ने, रोपेको बोटबिरुवा चोर्ने, गमला फुटाइदिने जस्ता कार्य भएपछि सिसी क्यामेरामा कैद भएका त्यस्ता हर्कतहरु सार्वजनिक गरेपछि अहिले त्यस्तो कार्य हुन छाडेको अधिकारीले बताउनुभयो । 

यो सडकलाई नमुना सडकको रूपमा विकास गर्नका लागि नगरपालिकाले पनि चासो दिएर बिजुलीका पोलहरूमा एउटै रङ्ग लगाउने, विद्युत पोलहरूमा हरियो बत्ती जडान गरेर साँझपख आकर्षक बनाउने कार्य पनि गरेको छ । दमक बजार क्षेत्रभित्रकै नमुना सडकको रूपमा यो विकास भएको छ, दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभयो ।

सडक किनारलाई हरित बनाउनका लागि आफूहरूले नगरवासीलाई बारम्बार अनुरोध गरेको आवश्यक सहयोग गर्ने पनि थापाले बताउनुभयो । “बजार क्षेत्रभित्रका फराकिला सडकहरूमा हरियाली विकास गर्न सकिन्छ भन्ने यस सडक आसपासका स्थानीयले देखाउनु भएको छ” , उहाँले भन्नुभयो । 

‘औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर’ नगरपालिकाको मुख्य नारा नै रहेको छ । यही सडकले छुने दमकको नमुना बजार भने पछिल्लो समयमा अस्तव्यस्त बनेको छ । सवारी साधन सञ्चालन गर्न नदिइने र हिँडडुल गर्नमात्र दिइने गरेको नमुना बजारमा आगलागी भएपछि सवारी साधन रोक्न बनाइएको संरचना भत्काइएपछि जथाभाबी रूपमा सवारीसाधन चल्दै आएका छन् ।