• १३ असोज २०८१, आइतबार

इनरुवामा करदाता शिक्षा कार्यक्रम

blog

जयकृष्ण यादव 

इनरुवा, असार २ गते । सुनसरीको इनरुवा नगरपालिकामा उद्योग वाणिज्य सङ्घ इनरुवाको आयोजना तथा आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीको संयोजनमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । वर्तमान कर व्यवस्था तथा आर्थिक विधेयक २०८० मा भएका छुटसुविधाहरुको बारेमा जानकारी मूलक करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राष्ट्रको विकासमा करको योगदान रहेकाले सबै आ आफ्नो ठाउँबाट कर तिर्नुपर्ने बताउनुभयो । पाण्डेले नागरिकको दायित्व अन्तर्गत कर तिर्ने कार्य समेत परेकाले व्यवसायीहरूले पनि समयमा कर तिर्नुपर्ने र करको नियमको पालना गर्नुपर्ने बताउनुभयो । उहाँले सबैलाई करको लायरमा ल्याएर राज्यलाई समृद्धिको यात्रामा सफल पार्नुपर्ने बताउनुभयो । 

उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्र कुमार साहले कर प्रशासन थप जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताउनुभयो । उहाँले कर तिर्ने सहज वातावरणको सिर्जना गरी करदाताको सम्मान हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा युवासंघका सदस्यहरू तथा सहभागी उद्योगी व्यवसायीले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । त्यस्तै, कार्यक्रममा आन्तरिक राजस्व कार्यालय इटहरीका कर अधिकृत रमेश ढकाल, दीपेश खनालले कारोबारको लेखा कसरी राख्ने ?, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

सहभागीहरूले विगतकोभन्दा अहिले झन्झटिलो प्रक्रिया रहेकाले केही सहजीकरण गर्नुपर्ने तर्क गरेका थिए भने कर कार्यालयका अधिकृत दीपेश खनालले राज्यको नियम मान्दै कर समयमा तिर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा इनरुवा नगरक्षेत्रका ५० बढी व्यवसायीहरूको सहभागिता रहेको थियो ।