• १३ असोज २०८१, आइतबार

दमकका सिटी सफारीलाई कर छुट

blog

विष्णुप्रसाद पोखरेल

दमक, असार २ गते । झापाको दमकका स्थायी बासिन्दाले सञ्चालन गरेको र दमकमै दर्ता भएका सिटी सफारी तथा टेम्पोहरुका लागि दमक नगरपालिकाले पटके सवारी कर नलिने र बाहिरबाट आएकाहरूलाई लिने भएको छ । पटके सवारी कर हटाउनका लागि अघिल्लो वर्ष केही दिन नगर सभा नै हुन सकेको थिएन ।

दमक नगरपालिकाले बनाएको पहिचान सहितको लोगो टाँस भएका दमकभित्रका सिटी सफारीले पटके सवारी कर तिर्नु नपर्ने व्यवस्था गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभयो । उहाँले वार्षिक आधा करोडभन्दा बढी आम्दानी हुने भएपनि मजदुरहरूको हितमा यो निर्णय भएको उहाँको भनाइ छ ।

प्रदेश सरकारले सिटी सफारी दर्ताको अधिकार स्थानीय सरकारलाई दिएपछि दर्ता सुरु भएको र नगरपालिकाले उपलब्ध गराएको लोगो टाँस भएपछि उनीहरूलाई कर छुट हुने उहाँले जनाउनुभयो । “बाहिरबाट आउने सिटी सफारीहरू निरुत्साहित गरेर यहीका लागि प्रोत्साहन गर्ने हाम्रो उद्देश्य छ”, उहाँले भन्नुभयो ।

दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईका अनुसार सिटी सफारीहरूको व्यवस्थापन चुनौती बन्दै गएपनि यसले धेरैको रोजीरोटीसँग गाँसिएको बताउनुभयो । “सिटी सफारी कुदाएर परिवारको गुजारा टार्ने परिवारलाई स्थानीय सरकारले पटके सवारी कर नलिएर भएपनि प्रोत्साहित गर्ने हाम्रो उद्देश्य हा”, उहाँले भन्नुभयो ।

वडा नं. २ का वडाध्यक्ष एवम् यातायात व्यवस्थापन समिति दमकका अध्यक्ष प्रजापति सापकोटाका अनुसार एकसाता अघिदेखि दमकमा सिटीसफारी दर्ताका लागि कार्यालय खोलेर नै काम सुरु भएको छ । “बाहिरका सिटी सफारीमा नगरपालिकाको लोगो लगाइने छैन”, उहाँले भन्नुभयो । नगरको पहिचान र नगरकै चालक हो भन्ने परिचयका लागि पनि लोगो बनाएको उहाँको भनाइ छ ।

अन्यत्र आसपासका पालिकाबाट आएका सिटी सफारीहरूको आवतजावतलाई रोक नलगाइएको र नलगाइने भएपनि उनीहरू दमकमा आएर स्टेण्डमा बस्न भने नपाउने व्यवस्था गरेको जनाइएको छ। यात्रुलाई लिएर आएका सिटी सफारीहरूले गन्तव्यमा यात्रुहरूलाई पुर्‍याएर तत्कालै फर्कनु पर्ने छ ।

भारतीय नागरिकहरू समेत आएर सिटी सफारी कुदाउने र यसले यहाँ धेरै नै असर गरेको बत्ताइँदै आएको थियो । भारतीय नागरिकहरूलाई सिटी सफारी कुदाउन निरुत्साहित गरेर यही नगरवासीलाई प्रोत्साहित गर्ने हाम्रो लक्ष्य रहेको सापकोटाले जनाउनु भयो । दमकमा दैनिक करिब ५ सय सिटी सफारीहरू नियमित सञ्चालनमा छन् ।