• २७ वैशाख २०८१, बिहिबार

दोमुखमा पाँच वर्षपछि झोलुङ्गे पुल निर्माण

blog

दोमुखमा नवनिर्मित झोलुङ्गे पुल । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असार २ गते । 
हुम्ला र मुगु जिल्लाको सिमाना दोमुुखमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएसँगै सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै पैदल यात्रुहरूलाई सो स्थानमा निर्माण भएको तुइन तर्नु पर्ने बाध्यता हटेको छ ।

अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले पुल निर्माणका लागि स्थानीय उपभोक्ता समितिसँग सम्झौता भएको पाँच वर्षपछि दुई जिल्लाको सिमाना दोमुखको झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएको बताउनुभयो । पुल निर्माण भएको स्थान कर्णाली कोरिडोरको मूल सडकमै पर्छ । उहाँले पुल सञ्चालनमा आउँदा पैदल यात्रु तथा सामान तुइनमा ढुवानी गर्नुपर्ने बाध्यता हटेको बताउनुहुँदै ढिलै भए पनि पुल निर्माण भएको बताउनुभयो ।

यसअघि पुल नहुँदा धेरै सामान तुइन तार्ने बेला कर्णाली नदीमा खसेर क्षति हुनुका साथै धेरै मानिसहरू  समेत तुइनबाट खसेका थिए । त्यस्तै, पुल निर्माणपछि हुम्ला र मुगुका स्थानीयलाई आउजाउमा सहज भएको छ ।

उहाँले पुल ११० मिटर लम्बाई र एक दशमलव साठी मिटर चौडा रहेको छ । गाउँपालिकाले स्थानीय उपभोक्ता समितिसँग ९२ लाख ९५ लाख ५०७ रुपियाँ लागत लाग्ने गरी सम्झौता गरेको थियो ।

त्यसमा हालसम्म उपभोक्ता समितिले गाउँपालिकाबाट ६२ लाख भुक्तानी लिएको भए पनि ३० लाखभन्दा बढी रुपियाँ भुक्तानी लिनै बाँकी रहेको छ । उहाँले काम सम्पन्न भई सकेको कारण अब गाउँपालिकाले उपभोक्ता समितिलाई भुक्तानी दिने बताउनुभयो । 

उक्त पुलका लागि सङ्घीय सरकारको झोलुङ्गे पुल निर्माण कार्यक्रमबाट (हेल्पाटास) बजेटको व्यवस्था भएको हो । कार्यक्रमका प्राविधिक जुलबहादुर शाहीले पुल निर्माण ढिलो हुनुमा कोरोनाको कारणले समयमा सामान ढुवानी हुनु नसक्नु रहेको बताउनुभयो ।

उहाँले अर्को उपभोक्ता समितिले पनि काममा ढिलाइ गरेको बताउनुहुँदै जे भए पनि अहिले पुल निर्माण कार्य सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । निर्माण कार्य पुरा भए पनि शुक्रबार गाउँपालिका उपाध्यक्ष कर्णबहादुर रोकायाले सो पुलको उद्घाटन समेत गर्नु भएको छ ।