नेपालको इतिहासलाई पल्टाउँदा संस्कृति, कला एवं साहित्यको माध्यमद्वारा विश्वमा आफ्नो देशको नामलाई रोशन गर्दै आएको नेवार समुदाय प्राचीन कालदेखि नै नेपाल–उपत्यकाको बासिन्दाका रूपमा रहिआएको देखिन्छ । ‘नेवार’ शब्दले कुनै एक जाति विशेषलाई मात्र जनाउने होइन, पुरै समुदायकै प्रतिनिधित्व गर्दछ । केही विद्वान्ले देशको नाम नेपाल र समुदायको प्रतिनिधित्व गर्ने नेवार शब्दका बीचमा पनि घनिष्ठ रूपले अन्तरसम्बन्ध रहिआएको कुराको व्याख्या गरेका छन् । एक थरी विद्वान्हरू नेवार शब्दको व्युत्पत्ति नेवाङ/नेवाहाङ/नेवाः बाट भएको हो भन्ने मान्यता राख्छन् । कतिपय विद्वान्ले त निऽबालह श्र नीवाल श्र नेवाल श्र नेवार हुँदै नेवार शब्दको पूर्वरूप ऋग्वेदसम्म जोडिन पुगेको छ भनेर पनि लेखेका छन् । (शिवराज शर्मा, नेपाल र नेवाल–मूलतः ऋग्वैदिक शब्द, पृ. ८) अहिलेलाई यो लेख व्युत्पत्तितर्पm नलागी नेवार शब्दको प्राचीनताको विषयमा मात्र केन्द्रित छ ।
लिच्छवि कालका अभिलेखहरूमा नेवार शब्दको उल्लेख कहीँ पनि पाइँदैन । यसैले नेपाल उपत्यकामा प्राचीन कालदेखि नै बसोबास गरिआएको यस समुदायले कहिलेदेखि आफूलाई नेवार भन्न थालेको हो भन्ने कुरा अहिलेसम्म स्पष्ट रूपमा थाहा पाउन सकिएको छैन । यो विषय नेपालको इतिहास एवं संस्कृतिका क्षेत्रमा रुचि राख्ने अनुसन्धानकर्ताहरूका लागि चुनौतीको रूपमा रहिआएको छ । यस लेखमा नेपालका प्राचीन अभिलेखहरूमा नेवार शब्दको उल्लेख कहिलेदेखि पाइन्छ भन्ने विषयमा शोधखोज गर्ने प्रयास गरिएको छ । यसले भाषिक पुरातत्वसम्बन्धी अध्ययनका लागि समेत सहयोग पुग्ने हुन्छ ।
हाम्रो देशका पुराना अभिलेखहरूमा नेवार शब्दको उल्लेख कहिलेदेखि पाइन्छ भन्ने विषयमा नेपालको इतिहास एवं संस्कृतिको क्षेत्रमा अध्ययन–अनुसन्धानमा लागेका विद्वान्हरूको धारणा फरक फरक रहिआएको पाइन्छ । यीमध्ये केही धारणा यसप्रकारका देखिन्छन् :
१. ऐतिहासिक शिरोमणि बाबुराम आचार्यको धारणा
ऐ.शि. बाबुराम आचार्यले नेपाल सांस्कृतिक परिषद् पत्रिका पूर्णाङ्क १ (२००९) मा प्रकाशित नेपाल, नेवार र नेवारी भाषा भन्ने लेखमा नेवार शब्दको प्राचीनताको विषयमा आफ्नो धारणा यसरी राख्नुभएको देखिन्छ, “अभाग्यवश नेवार शब्दको पुरानो प्रयोग पाइँदैन । अठारौँ शताब्दीमा नेपालमा आएका युरोपेलीहरूले लेखेका नेपालका वृत्तान्तमा यो शब्द पहिले प्रयोग भएको देखिन्छ ।” (पृ. २)
यताबाट ऐ.शि. बाबुराम आचार्यको धारणा अनुसार नेवार शब्दको पुरानो प्रयोग नपाइने र अठारौँ शताब्दीदेखि मात्र नेवार शब्दको प्रयोग पाइने भन्ने रहेको देखिन्छ ।
२. इतिहासकार मेरी सेफर्ड स्लसरको धारणा
इतिहासकार मेरी सेफर्ड स्लसरले पुराना अभिलेखहरूमा नेवार शब्दको उल्लेख कहिलेदेखि पाइन्छ भन्ने विषयमा छलफल गर्दै आफ्नो पुस्तक नेपाल मण्डल– ए कल्चरल स्टडी अफ दी काठमान्डु भ्यालीमा यस्तो लेख्नुभएको छ, “नेपाली अभिलेखहरूमा नेवार शब्दको पहिलो उल्लेख इसं १६५४ मा आएको छ र एउटा तात्कालिक टिपोटमा इसं १६६७ मा लुभुको नेवारको कुरा आएको छ ।” (प्रिन्सटन युनिभर्सिटी प्रेस, रिप्रिन्ट : मण्डला बुक प्वाइन्ट, १९९८, पृ. ९)
मेरी स्लसरले यहाँ इसं १६५४ को भनेको अभिलेख नेसं ७७४ माघ शुक्ल श्रीपञ्चमी शुक्रबारका दिन १५ थरी लिपिमा पाषाण–जलद्रोणीमा कुँदिएको राजा प्रताप मल्लको हो । यो अभिलेख डा. गौतमबज्र वज्राचार्यको हनुमानढोका राजदरबार नामक पुस्तक (पृ. २११) मा प्रकाशित छ । यसमा गोलमोल आखर, पार्सि आखर, तिरहुति आखर, रंज आखर, माझेपात आखर, देवनागर आखर, ऐंया उजेन आखर, गोत्रिया आखर, आव्र्वी आखर, कयथिनागर आखर, कूटाक्षर आखर, संया उमेत आखर, नेवार आखर, कास्मिरी आखर, एवं फिरिङ्गी आखरसमेत १५ थरी अक्षर अर्थात् लिपिको नाम उल्लेख गर्दा नेवारी अक्षरलाई जनाउन नेवार आखरको प्रयोग गरिएको छ ।
मेरी स्लसरले इसं १६६७ को भनेको अर्को अभिलेख चाहिँ ऐतिहासिक घटनावलीको हो । शङ्करमान राजवंशीद्वारा सम्पादित ऐतिहासिक घटनावलीमा उतिखेरको घटनालाई टिपोट गर्ने प्रसङ्गमा “ने.सं. ७८७ आषाढ कृष्ण प्रतिपदा, लुभुया छह्म नेवार” (पृ. ३) भनी टिपिएको छ । यही घटनावलीमा उल्लेख गरिएको नेवार शब्दलाई नै मेरी स्लसरले यस प्रसङ्गमा उल्लेख गरेको देखिन्छ ।
यताबाट मेरी सेफर्ड स्लसरको धारणा अनुसार राजा प्रताप मल्लले नेसं ७७४ (विसं १७१०) (इसं १६५४) माघ शुक्ल श्रीपञ्चमी शुक्रबारका दिन १५ थरी लिपिमा पाषाण–जलद्रोणीमा कुँदाएको अभिलेखमा उल्लिखित नेवार आखर पदावलीमा प्रयोग भएको नेवार शब्द नै अभिलेखहरूमा पाइएको सबैभन्दा पहिलो उल्लेख हो भन्ने देखिन्छ ।
३. मानवशास्त्रविद् डेभिड एन् गेल्नरको धारणा
मानवशास्त्रविद् डेभिड एन् गेल्नरद्वारा युरोपियन जर्नल अफ सोसियोलजी, २७, १९८६ मा प्रकाशित ‘ल्याङ्ग्वेज, कास्ट, रिलिजन एन्ड टेरिटोरी ः नेवार आइडेन्टिटी एन्सेन्ट एन्ड मडर्न’ भन्ने लेखमा नेवार शब्दको प्राचीनताको विषयमा यस्तो धारणा प्रस्तुत भएको देखिन्छ, “ठ्याक्कै भन्नुपर्दा नेवार शब्दको मितिसहितको पहिलो उल्लेख इसं १६५२ मा भएको हो, जहाँ भाषाको नाम नेवारभाषा अर्थात् नेवारी भनेर उल्लेख गरिएको छ । आधुनिक नेवारीमा नेवारहरूको भाषाको रूपमा नेवाभाय्को प्रयोग हुन्छ । जातिलाई बुझाउने अर्थको रूपमा नेवार शब्द पहिले उल्लेख गरिएको एउटा टिपोटमा हो, जहाँ खसहरू (पर्वतीयाहरू) आए, सबै नेवारहरू आपूm आपूmमै लडे भन्ने वर्णन गरिएको छ ।” (पृ. १४०) डेभिड एन् गेल्नरकोे यही धारणा ३६ ग्रुप युवा क्लब हरिसिद्धिद्वारा दबू स्मारिकामा विसं २०६८ मा प्रकाशित ‘सम नोट्स् अन नेवार आइडेन्टिटी’ शीर्षकको लेखमा पनि अभिव्यक्त गरिएको देखिन्छ ।
यहाँ डेभिड एन् गेल्नरले सन् १६५२ मा नेवार शब्दको पहिलो पटक उल्लेख भएको भनी मानेको अभिलेख नेसं ७७२ भाद्र (विसं १७०९) हनुमानढोका राजदरबार, मोहनचोकको राजा प्रताप मल्लको नेवारभाषा तया शब्दावली लेखिएको अभिलेख हो । अनि नेवार शब्दले जातिविशेषलाई जनाउने गरी सन् १६८४ मा नेवार शब्दको पहिलो पटक उल्लेख भएको भनी डेभिड एन् गेल्नरले मानेको अभिलेख चाहिँ ऐतिहासिक घटनावलीमा टिपिएको ने.सं. ८०४ श्रावण ....सकलेङ नेवालं नेवाल हेला भन्ने पदावलीमा रहेको नेवाल लबज हो भन्ने देखिन्छ ।
यताबाट डेभिड एन् गेल्नरको धारणा अनुसार राजा प्रताप मल्लको नेसं ७७२ भाद्र (विसं १७०९) (सन् १६५२) मा हनुमानढोका राजदरबार, मोहनचोकको अभिलेखमा उल्लिखित नेवारभाषा तया शब्दावलीमा प्रयोग भएको नेवार शब्द नै अभिलेखहरूमा पाइएको सबैभन्दा पहिलो उल्लेख हो भन्ने देखिन्छ ।
४. इतिहासकार डा. महेशराज पन्तको धारणा
विभिन्न इतिहासकारद्वारा नेवार शब्दको पहिला उल्लेख कुन हो भन्ने विषयमा लेखिएका धारणाउपर छलफल गर्दै इतिहासकार डा. महेशराज पन्तले “ने.सं. ७७२ भाद्र नेवारभाषा तया” भन्ने उल्लेख भएको मोहनचोकको दलानको राजा प्रताप मल्लको अभिलेखमा उल्लिखित नेवार शब्दलाई नै पहिलो उल्लेख मान्न उचित हुने मनसाय व्यक्त गर्नुभएको देखिन्छ । (पूर्णिमा पूर्णाङ्क १३८, पृ. १५५)
५. भाषाविद् कमलप्रकाश मल्लको धारणा
भाषाविद् कमलप्रकाश मल्लले पोखराबाट नेसं १०९८ (विसं २०३५) मा प्रकाशित इन्द्र मालीको झीगु भाय् : झीगु खँग्व भन्ने पुस्तकको भूमिका लेख्दा नेवार शब्दको प्राचीनताको विषयमा आफ्नो धारणा यसरी प्रस्तुत गर्नुभएको देखिन्छ, “नेपाल शब्दको पहिलो उल्लेख भएको ऐतिहासिक प्रमाण समुद्रगुप्तको प्रयागको प्रशस्ति (सन् ३३५–३७६) रहेको छ भने नेवार शब्दको पहिलो उल्लेख भएको सबैभन्दा पुरानो ऐतिहासिक प्रमाण काठमाडौँ हनुमान्ढोका राजदरबार–परिसरमा रहेको प्रताप मल्लको बहुभाषी अभिलेख हो ।” (पृष्ठ ग)
यताबाट कमलप्रकाश मल्लको भनाइमा राजा प्रताप मल्लले नेसं ७७४ (विसं १७१०) (इसं १६५४) माघशुक्ल श्रीपञ्चमी शुक्रबारको दिन १५ थरी लिपिमा पाषाण–जलद्रोणीमा कुँदाएको अभिलेखमा नेवार आखरमा उल्लिखित नेवार शब्द नै अभिलेखहरूमा पाइएको सबैभन्दा पहिलो उल्लेख हो भन्ने देखिन्छ ।
६. पङ्क्तिकारको पहिलेको धारणा
यी सबै धारणालाई समेटेर नेवार शब्दको उल्लेख भएको यसभन्दा पनि पहिलेको अर्को अभिलेखलाई उद्धृत गरी यसबारेमा यस पङ्क्तिकारद्वारा लुभुया छह्म नेवार शीर्षकमा लुभु खानेपानी तथा सरसफाइ स्मारिका २०७५ मा एउटा लेख प्रकाशित गरिएको थियो । त्यसमा प्रमाणका लागि शङ्करमान राजवंशीद्वारा सम्पादित भूमिसम्बन्धी तमसूक–ताडपत्र भाग २ मा प्रकाशित कान्तिपुरनिवासी चित्रकार परिवारले अंश भागबन्डा गरी लिखतका रूपमा तयार पारिएको एउटा ताडपत्रलाई प्रस्तुत गरिएको थियो । उक्त ताडपत्रमा “सम्वत् ७४२ भाद्रपदशुद्धि ५ ......दृष्ट साक्षि धारनया स्वगोत्र भ्राता चैत्रकार विभु नेवा प्रमानं शुभ ।।” (पृ. २३) भनी लेखिएको छ । यहाँ लेखिएको ‘नेवा’ पद नेवार शब्दकै ‘र’ उच्चारण नगरिएको छोटकरी लेखाइ हो भन्ने कुराउपर छलफल गरी यस पङ्क्तिकारद्वारा नेवार शब्दको पूर्वरूपको पहिलो उल्लेख यही नेसं ७४२ (विसं १६७९) को अभिलेख हो भन्ने कुरामा प्रकाश पारिएको थियो ।
हालैको अन्वेषण एवं अनुसन्धानका क्रममा नेवार शब्दका विषयमा अतिरिक्त अन्य प्रमाणहरू पनि उपलब्ध हुन आएका छन् । त्यसैले यस लेखमा अहिलेसम्म प्राप्त प्राचीन अभिलेखहरूका आधारमा नेवार शब्दको पहिलो उल्लेख कुन हो भन्ने विषयमा छलफल गरी थप प्रकाश पार्ने प्रयास गरिएको छ ।
प्रसिद्ध विद्वान् कुलचन्द्र गौतमले नेपाली भाषामा टिप्पणी गर्नुभएको, संस्कृत भाषाको प्रसिद्ध कोश, अमरकोश एक दिन पढ्दै जाँदा त्यसमा पुष्पविशेषको वर्णन गर्ने क्रममा सप्तला नवमालिका (वनौषधिवर्ग श्लोक ७३) शब्दको उल्लेख पढ्न पाइयो । बनारसबाट प्रकाशित उक्त अमरकोशमा सप्तला शब्दको अनुवाद गर्दा यस्तो लेखिएको देखियो, “सप्तला २ नवमालिका २ (नवमल्लिका २) (२ कटसरैया (नेवारी विशेष) का नाम) । ‘भावप्रकाश’ मा ‘नेपाली कथिता तज्ज्ञैः सप्तला नवमल्लिका’ भनी तीन नाम कहेका छन् । नेपालीको अपभ्रंश भयेर नेवारी भयेको हो कि क्या हो ?” (पृ. १४७) । यताबाट सप्तला शब्दले नेवारी पुष्पविशेषलाई जनाउँछ भनी यहाँ उल्लेख भएको कुरा थाहा हुन आयो ।
नेपाली भाषामा अनुवाद भएको अमरकोशमा सप्तला शब्दको अर्थ नेवारी पुष्पविशेष भनी उल्लेख भएको देखिएपछि हिन्दी भाषामा यसको अर्थ कसरी गरिएको होला भन्ने विचारले भानु दीक्षितको संस्कृत टीका, हरगोविन्द शास्त्रीको हिन्दी टीका भएको, चौखम्बा संस्कृत संस्थान वाराणसीबाट विसं २०५३ मा प्रकाशित अमरकोश पल्टाउँदा सप्तला नवमालिका (वनौषधिवर्ग श्लोक ७३) शब्दको अर्थ “सप्तला, नवमालिका (२ स्त्री), ‘वसन्ती नेवारी’ के ३ नाम है” (पृ. १९६) भनी उल्लेख गरेको पाइयो । यताबाट भारतीय परम्परामा पनि अमरकोशको सप्तला शब्दको अर्थ गर्ने प्रसङ्गमा नेवारी शब्दको उल्लेख भइआएको र यसबाट फूलको वर्णन हुने गरेको देखियो ।
यसरी अमरकोशको नेपाली भाषामा तथा हिन्दी भाषामा अनुवाद गर्दा त सप्तला शब्दको अर्थ नेवारी पुष्पविशेष भनी गरेको देखिँदा झन् प्राचीन नेवारी भाषामा नै अनुवाद/टिप्पणी गरिएका अमरकोशको हस्तलिखित पुस्तकहरूमा सप्तला शब्दको अर्थ गर्दा कुन लबजको कसरी प्रयोग गरिएको होला भन्ने उत्सुकता भयो । मल्लकालमा अमरकोशका पुस्तकहरू खास गरी ने.सं. ५०१ भाद्र, ने.सं. ५०६ चैत्र, ने.सं. ५२०, ने.सं. ५५० फागुन, ने.सं. ५९१ कार्तिक, ने.सं. ६३७ श्रावण, ने.सं. ६६२ आश्विन, ने.सं. ७१८ भाद्र, ने.सं. ७२०, ने.सं. ८०३ जेष्ठ, ने.सं. ८३१ आषाढमा सारिएका पाइएका छन् (पूर्णिमा पूर्णाङ्क १२२) । यीमध्ये पुराना तीन वटा प्रतिलाई यहाँ यस अध्ययनको प्रयोजनका लागि मुख्य आधार बनाइएको छ । ती तीन प्रति हुन्– १. ने.सं. ५०१ भाद्रमा राजा अर्जुनदेवको पालामा सारिएको प्रति, २. ने.सं. ५०६ चैत्रमा राजा स्थितिराज मल्लको पालामा सारिएको प्रति र ३. ने.सं. ५५० फाल्गुणमा राजा यक्ष मल्लको पालामा सारिएको प्रति ।
पहिले राजा यक्ष मल्लको शासनकालमा, नेसं ५५० (विसं १४८६) मा कलेह्रदेवले नेपालभाषामा तयार पारेको हस्तलिखित ग्रन्थ अमरकोशको टिप्पणी/टीका हेर्दा सप्तला शब्दको अर्थ यसरी गरेको पाइयो : “सप्तला नवमल्लिका । नेवारि स्वान ।” (पत्र ४२) यसमा सप्तला शब्दले नेवारी फूललाई जनाउँछ भनी स्पष्टसँग लेखिएको पाइयो । यताबाट नेसं ५५० को ताडपत्रमा नेवार शब्दको उल्लेख भएको थाहा भयो । उक्त हस्तलिखित अमरकोश ग्रन्थको पुष्पिकावाक्यमा यस्तो लेखिएको छ, “इति संचिन्त्य गुणिना पुत्रपोत्रादिबोधनं । श्रीमत्कलेह्रदेवेण शास्त्रं व्यक्तपदं कृतं । ... नेपालभाषया तस्मात्कृता ग्रन्थस्य टिप्पनी । इत्यमरसिंहकृतौ नामलिङ्गानुशाशनम् परिपूण्र्णटिप्पनीमिति ।। ॐ सं ५५० फाल्गुणकृष्णचतुद्र्दशीदिने लिखितमिति, शुभ ।। ० ।।”
(स्रोत : राष्ट्रिय अभिलेखालय रिल सङ्ख्या बी. १४/२५)
यसरी राजा यक्ष मल्लको शासनकालमा नेपालभाषामा तयार हस्तलिखित ग्रन्थ अमर कोशको टिप्पणी/टीका हेर्दा सप्तला शब्दको अर्थ नेवारि स्वान भनी लेखिएको देखिएपछि यसभन्दा अगाडि नेसं ५०६ (विसं १४४२) मा सारिएको नेपालभाषामा टिप्पणी/टीका लेखिएको अमरकोशको अर्को प्रति हेरियो । यताबाट नेसं ५०६ को ताडपत्रमा पनि नेवार शब्दको उल्लेख भएको पाइयो । उक्त हस्तलिखित अमरकोश ग्रन्थको पुष्पिकावाक्यमा यस्तो लेखिएको छ, “स्वस्ति श्रीमन्नैपालिक सम्वत्सरे ५०६ चैत्रकृष्णत्रयोदश्याम् बुधवासरे राजाधिराजपरमेश्वर परमभट्टारक श्रीश्रीपशुपतिचरणारविन्दसेवित श्रीमानेश्वरीवर लब्धप्रताप श्रीश्रीजयस्थितिराजमल्लदेवस्य विजयराज्ये माणिक्येन ग्रथित्वा लिखितेयम्” (स्रोत : युनिभर्सिटी लाइब्रेरी क्याम्ब्रिजको १६९८ सङ्ख्याको हस्तलिखित पुस्तकको पुष्पिकावाक्य । यस ग्रन्थको प्रतिच्छवि मित्र जीवन महर्जनले उपलब्ध गराइदिनुभएको हो ।) यसरी यस टीकामा पनि सप्तला शब्दको अर्थ नेवारी स्वान भनी नेवारी फूललाई जनाउँछ भनी स्पष्टसँग लेखिएको पाइयो ।
यसभन्दा पनि अगाडि नेसं ५०१ (विसं १४३८) मा सारिएको नेपालभाषामा टिप्पणी लेखिएको अमरकोशको अर्को प्रति हेर्दा त्यसमा चाहिँ सप्तला शब्दको अर्थ गर्दा नेवारी लबजको उल्लेख गरिएको देखिएन । उक्त हस्तलिखित अमरकोश ग्रन्थको पुष्पिका वाक्यमा यस्तो लेखिएको छ, “श्रेयोस्तु सम्वत् ५०१ भाद्रपदशुक्लद्वादश्याम् धनेष्ठनक्षत्रे आदित्यवासरे ।। राजाधिराज परमेश्वर परमभट्टारिकश्रीश्रीजयार्जुनदेवस्य विजयराजे लिखितमिति । श्रीसातिग्लस्थानाधिवासिनः चाविहारव्येद्य श्रीजसराजनाम्नेन लिखितम् ।” (राष्ट्रिय अभिलेखालयको लेखोट पुस्तकको ४ को ५९० सङ्ख्या, रिल सङ्ख्या बी. १४र११ को पुष्पिका ।)
यस प्रसङ्गमा यति छलफल भएपछि यसभन्दा पनि पुरानो अमरकोशको टीका भएको अर्को पुस्तकको विषयमा समेत उल्लेख गर्नुपर्ने हुन आयो । त्यो अर्को पुस्तक हो– बङ्गाली विद्वान् जातरूपले इसंको १० औँ शदीको उत्तराद्र्धमा लेखेको अमरकोशको टीका । संस्कृत भाषाका अन्य ग्रन्थहरूमा यस जातरूपटीकाको विषयमा उल्लेख गरिएको पाइए तापनि यसको मूल प्रति चाहिँ धेरै कालसम्म उपलब्ध हुन सकेको थिएन । डा. महेशराज पन्तले यसको मूल प्रति केसर पुस्तकालयमा रहेको कुरा पत्ता लगाउनुभयो । नेसं २३९ (विसं ११७६) मा ताडपत्रमा सारिएको यही अमरकोश (जातरूपटीका) को पुस्तकका विषयमा डा. पन्तले धेरै वर्ष लगाएर सूक्ष्म रूपमा विशद अध्ययन गरी ‘जातरूप’ज कमेन्टरी अन दी अमरकोष’ नामक ग्रन्थ इसं २००० मा मोतीलाल बनारसीदास पब्लिसर्समार्फत प्रकाशित गर्नुभयो ।
प्राचीन नेवारी भाषामा तयार पारिएको हस्तलिखित ग्रन्थ अमरकोशको टिप्पणी/टीकामा सप्तला शब्दको अर्थ नेवारि स्वान भनी लेखिएको र भारतीय परम्परामा अर्थात् अमरकोशको हिन्दी टीकामा पनि सप्तला नवमालिका शब्दको अर्थ ‘वसन्ती नेवारी’ के ३ नाम भनी उल्लेख गरेको देखिएकाले जातरूपटीका भएको यस अमरकोशमा पनि सप्तला शब्दको अर्थको विषयमा के लेखिएको होला भनी हेर्दा त्यसमा समेत सप्तला शब्दको अर्थ नेवालीपुष्पं सप्तला (पृ.२२०) भनी स्पष्टसँग लेखिएको पाइयो । रलयोरभेदः अर्थात् र एवं ल मा भेद हुँदैन भन्ने मान्यता अनुरूप यहाँ नेवाली लेखिएको देखिन्छ । त्यसैले अमरकोशको नेपाल भाषामा टिप्पणी गरिएका अन्य हस्तलिखित ग्रन्थहरूका आधारमा नेवालीपुष्पंले नेवारी फूललाई नै जनाएको स्पष्टै देखिन्छ । अझ यसले नेवार शब्दको पूर्वरूप नेवाल नै हो कि भन्ने कुरातर्फ इङ्गित गर्न खोजेको पनि देखिन्छ । निकै परिश्रमसाथ सम्पादन गरी प्रकाशित गरिएको यस ग्रन्थमा रहेको यति महत्वपूर्ण पदावली नेवालीपुष्पं लेखिएको देखिए तापनि यस शब्दउपर भने डा. पन्तले खासै चर्चा चलाउनुभएको देखिँदैन ।
उक्त हस्तलिखित अमरकोश ग्रन्थको पुष्पिकावाक्यमा यस्तो लेखिएको छ, “अमरकोशटीकेयम् समाप्तेति । सम्वत् २०० ३० ९ श्रावणकृष्णदिवाष्टम्याम् राजाधिराज परमेश्वर श्रीशिवदेवस्य विजयराज्ये लिखितेयम् टीकेति । तत्वबीज आकारः शाकारश ।” (राष्ट्रिय अभिलेखालयको लेखोट पुस्तकको ४ को ५९० सङ्ख्या, रिल सङ्ख्या सी १२१/१ को पुष्पिकावाक्य । डा. पन्तको उही पुस्तक पृ.६७ ।) यसरी नेसं २३९ मा सारिएको ताडपत्रमा नेवाली शब्दको स्पष्टसँग उल्लेख भएको देखियो ।
यसरी अहिलेसम्म उपलब्ध प्रमाणहरूका आधारमा गरिएको अध्ययनको निष्कर्षका रूपमा भन्नुपर्दा, माथि छलफल गरेबमोजिम, नेसं २३९ (विसं ११७६) मा राजा शिवदेवको शासनकालमा ताडपत्रमा सारिएको, अमरकोश (जातरूपटीका) को वनौषधिवर्गको श्लोक ७३ को टीकामा सप्तला शब्दको अर्थ गर्दा नेवालीपुष्पं भनी लेखिएको नेवाली लबज नै नेवार शब्दको सर्वप्राचीन उल्लेख हो भन्ने कुरा स्पष्ट हुन आउँछ । यताबाट नेवार शब्दको प्राचीन रूप आजभन्दा ९०३ वर्ष पुरानो ठहरिन आएको छ ।