सहिद स्मारक ‘ए’ डिभिजन जस्तो घरेलु शीर्ष लिग जित्न कुनै पनि क्लबलाई लामो पर्खाइ र धैर्य आवश्यक हुन्छ । ठूलो अप्ठ्यारो सामना गर्नु पर्छ । किनभने लिग फुटबल उपाधि जित्नु भनेको चानचुने कुरा होइन । लिग फुटबल लामो समय चल्ने गर्छ । सबैले सबै टिमविरुद्ध प्रतिस्पर्धा गर्नु पर्छ । अझ यस पालि सहिद स्मारक ‘ए’ डिभिजन लिग दोहोरो संरचनामा भयो । त्यसैले यस पटकको लिग अझ कठिन थियो तर चर्च ब्वाइज युनाइटेड अपवाद बन्यो । चर्च ब्वाइजले देशको सबभन्दा ठूलो लिग फुटबल प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिग जित्न एक वर्ष पनि कुर्नु परेन ।
चर्च ब्वाइज अकस्मात् नेपाली फुटबलमा नयाँ शक्तिका रूपमा उदाएको छ । चर्च ब्वाइजले ‘सी’ डिभिजन छनोट, ‘सी’ डिभिजन, ‘बी’ डिभिजन र त्यसपछि ‘ए’ डिभिजन जितेर सबैलाई आश्चर्यमा पारेको छ । यसअघि यस्तो दुर्लभ कीर्तिमान मनाङ मस्र्याङ्दी क्लबले मात्र हासिल गरेको छ । सन् २०४३ मा नवप्रवेशी क्लबका रूपमा मनाङ मस्र्याङ्दी क्लब पनि सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थियो । सो समय मनाङ मस्र्याङ्दीले लगातार ‘डी’, ‘सी’, ‘बी’ र ‘ए’ डिभिजन जितेको थियो । ललितपुरको बालकुमारीमा रहेको चर्च ब्वाइज पाँच पटक छनोट खेलेपछि मात्र ‘सी’ डिभिजन उक्लिएको हो । यद्यपि २०७७ सालमा च्याम्पियन भएर ‘सी’ डिभिजन उक्लेपछि यो टिम हरेक लिगमा पहिलोभन्दा तलको स्थानमा रहेको छैन । चर्च ब्वाइजले ‘बी’ डिभिजनमा पहिलो वर्ष नै उपाधि जित्यो । अहिले ‘बी’ डिभिजन च्याम्पियन भएर ‘ए’ डिभिजन खेलेको पहिलो पटक नै चर्च ब्वाइजले शीर्ष लिग जितेर घरेलु फुटबलमा आफ्नो नाम सुनौलो अक्षरमा लेखाएको छ ।
प्रतियोगितापूर्व चर्च ब्वाइज हेर्नलायक टिम त थियो तर उपाधि दाबेदारका रूपमा लिइएको थिएन । अनन्त तामाङ, अञ्जन विष्ट, दिनेश राजवंशी, तेज तामाङ र एरिक विष्ट जस्ता राष्ट्रिय खेलाडीलाई टिममा ल्याएर पनि चर्च ब्वाइज आफैँले उपाधि जित्छु भन्न सकेको थिएन । प्रशिक्षक प्रदीप हुमागाईं टिम राम्रो बनेको तर नवप्रवेशी हुँदा हरेक खेलसँगै बलियो बन्दै जाने बताउनुहुन्थ्यो । कप्तान अनन्त तामाङ पनि आफ्नै प्रशिक्षकको भनाइमा सहमति जनाउनुहुन्थ्यो । लिग सुरु हुनै लाग्दा चर्च ब्वाइजको टिमबाट नराम्रो खबर आयो । लिग जिताउने आशा गरिएका दिनेश र तेज अस्ट्रेलिया पलायन हुनुभयो । नेपालकै नम्बर एक स्ट्राइकर अञ्जनमा पनि फिटनेसको समस्या थियो । सात चरण नसकिँदै प्रशिक्षक प्रदीपले श्रम स्वीकृति नहुँदा क्लब छोड्नु प¥यो; जसले चर्च ब्वाइज समस्यामा देखिन्थ्यो । तर चर्च ब्वाइज ‘सरप्राइज प्याकेज’ नै बन्यो । विभिन्न समस्या आए पनि यो क्लब डगमगाएन । हरेक पटक उसले पुनरागमन ग-यो र नेपाली फुटबलको वास्तविक च्याम्पियन बन्यो । यसपालि चर्च ब्वाइजले लिग जित्न राम्रै गृहकार्य गरेको थियो । उसले टिम संरचनामा पर्याप्त ध्यान पु-याएर सन्तुलित टिम बनाएको थियो । त्यसैले त दिनेश र तेज जस्ता खेलाडीले टिम छाडे पनि, प्रशिक्षकको बहिर्गमनपछि पनि चर्च ब्वाइजलाई खासै फरक परेन ।
दशरथ रङ्गशाला मात्र होइन, करिब तीन हजार दर्शक क्षमताको एन्फा कम्प्लेक्स र च्यासल रङ्गशाला पनि खाली थिए । थ्रिस्टार र एपिएफबिच दशरथ रङ्गशालामा भएको खेलमा तीन हजार पाँच सय दर्शकको उपस्थिति नै सर्वाधिक भनिएको छ ।
चर्च ब्वाइजलाई शीर्ष लिगमा पनि ‘बी’ डिभिजन जिताएका आशिष चापागाईं, आशिष चौधरी, मिलन राई, विवेक पौडेल, प्रशान्त लक्ष्यम जस्ता खेलाडीले साथ छाडेनन् । आशिष चौधरी त ‘बी’ डिभिजनमा छँदा नै नेपालको सिनियर राष्ट्रिय टिममा परेका खेलाडी हुनुहुन्छ । ‘बी’ डिभिजन जित्दा उहाँ ‘मस्ट भ्यालुएबल प्लेयर’ घोषित हुनुभएको थियो । आशिष चापागाईं ‘बी’ डिभिजनमा सर्वाधिक गोलकर्ता हुनुहुन्थ्यो । अञ्जन, एरिक र कप्तान अनन्त जस्ता राष्ट्रिय खेलाडीको स्वाद त टिममा थियो नै; चर्च ब्वाइजका आयातित खेलाडी पनि आआफ्ना भूमिकामा उत्कृष्ट देखिए । चर्च ब्वाइजले यस पालि मनाङले छोडेका क्यामरुनी डिफेन्डर फ्रान्कलिन ताला, थ्रिस्टारबाट बाहिरिएका गोलरक्षक अर्का क्यामरुनी एभ्स प्रिसोका साथ घानाका मिडफिल्डर जोसेफ बाम्पालाई प्रमुख विदेशी खेलाडीका रूपमा टिममा भित्र्याएको थियो । यी तीनै खेलाडी अन्य विदेशी खेलाडी मेसुके ओलावाले, ओलावाले आफिज जस्ता चर्चित थिएनन् तर सबैले आआफ्ना पोजिसनमा निकै राम्रो खेले । सर्बियामा खेलिसकेका बाम्पा घानाको यु–२० का कप्तान पनि हुनुहुन्थ्यो । यस पालि उहाँले मिडफिल्ड मात्र होइन; चाहिएको बेला अन्य भूमिकामा पनि खेलेर प्रशिक्षकको कामलाई सहज बनाइदिनुभयो । प्रिसो त प्रतियोगिताकै सर्वश्रेष्ठ गोलरक्षक बन्नुभयो । ताला पनि नेपालमा खेल्ने डिफेन्डरमा उत्कृष्टमध्ये एक हो भन्न सकिन्छ । प्रदीपको बहिर्गमनपछि अनुभवी प्रशिक्षक बालगोपाल महर्जनलाई टिममा ल्याउने चर्च ब्वाइजको निर्णय पनि टर्निङ प्वाइन्ट बन्यो । बालगोपाल हाइप्रोफाइल प्रशिक्षक हुनुहुन्छ । उहाँले राष्ट्रिय टिम, उमेर समूहका राष्ट्रिय टिमका लागि आफ्नो प्रशिक्षकत्वमा नेपाललाई पटक पटक च्याम्पियन बनाएको इतिहास छ । बालगोपालले काठमाडौँ रेन्जर्सलाई नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमै च्याम्पियन बनाउनुभयो तर यस पालिको लिगमा उहाँ सुरुमा १४ क्लबकै रोजाइमा पर्नुभएको थिएन । यसपालि च्याम्पियन क्लबको प्रशिक्षकको नाम भने बालगोपालकै नाममा लेखिएको रहेछ । उहाँले बिचमा लिगमा आबद्ध भएरै भए पनि चर्च ब्वाइजलाई च्याम्पियन बनाउनुभयो; जुन आफूलाई बेवास्ता गरेका सबै क्लबलाई बालगोपालको उचित जवाफ हो भन्दा फरक पर्दैन ।
अझ चर्च ब्वाइजको उपाधि जितको श्रेय प्रशिक्षक बालगोपाललाई नै जान्छ भन्दा पनि गलत नहोला । लिगमा प्रशिक्षकको परीक्षा खेलको अन्त्यतिर नै हुन्छ । किनभने लिग चल्दै जाँदा विपक्षी टिमले प्रशिक्षकलाई पनि अध्ययन गरिसकेको हुन्छ । उदाहरणका लागि जावलाखेल युथ क्लब र सातदोबाटोले धमाकेदार सुरुआत गरे पनि अन्त्य राम्रो गर्न सकेनन् । जावलाखेलले हरेक खेल एउटै संरचनामा खेल्यो । नत्र यस पटक जावलाखेल उपाधि जितको नजिक पुगिसकेको थियो । प्रशिक्षक बालगोपालमा भने विपक्षीलाई हेरेर फरक संरचनामा खेलाउन सक्ने खुबी छ । त्यसले चर्च ब्वाइजलाई फाइदा ग¥यो । बालगोपाल कहिल्यै पनि एउटै संरचनामा बाँधिनु भएन । प्रशिक्षक बालगोपाल स्वयंको यो पहिलो लिग उपाधि हो । उहाँले एक खेलाडी र प्रशिक्षकका रूपमा लिग उपाधि जित्ने उपलब्धि पनि हासिल गर्नुभयो । २०६१ सालमा थ्रिस्टारका लागि खेल्दै उहाँ घरेलु शीर्ष लिग च्याम्पियन बन्नुभएको थियो । खेलाडीका रूपमा पनि उहाँको यो एक मात्र लिग उपाधि हो ।
यसबाहेक उपाधिको होडमा रहेका अन्य टिमले अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा पनि चर्च ब्वाइजलाई फाइदा पुग्यो । उपाधि पछ्याइरहेको जावलाखेल, सातदोबाटोले राम्रो अन्त्य गर्न सकेनन् भने मछिन्द्र र नेपाल पुलिस जस्ता टिमको सुरुवात राम्रो हुन सकेन । चर्च ब्वाइजले यसैको फाइदा उठायो । यद्यपि टिमहरूको अस्थिर प्रदर्शन भनौँ कि प्रतिस्पर्धात्मक भनौँ, यो लिगको विशेषता रह्यो । अङ्क तालिकामा सुरुदेखि अन्त्यसम्म भएको उतारचढावले यस पटकको लिग नाटकीय र रोमाञ्चक बन्यो । विगतमा ‘ए’ डिभिजनका क्लबबिच पनि शीर्ष र साना क्लबबिचको स्तरको खाडल ठूलो हुन्थ्यो । यस पटक भने सहभागी १४ वटै टिमबिचको स्तरमा खासै अन्तर रहेन । प्रत्येक खेलमा विजेता पक्का अडकल गर्न सक्ने स्थिति थिएन । २४ औँ चरणमा उपविजेता मछिन्द्रलाई पुलिसले हराएपछि मात्र चर्च ब्वाइजले जित्छ भन्न सकिएको हो ।
यस पालिको जस्तो रेलिगेसनको लडाइँ त यसअघि कहिल्यै भएको थिएन । नेपाली फुटबलका हस्ती क्लबहरू तथा पूर्वच्याम्पियनहरू थ्रिस्टार, एनआरटी र सङ्कटा मात्र होइन, आठ पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब नै अन्तिम केही खेलअघिसम्म रेलिगेसनको खतरामा थिए । यस लिगमा सबभन्दा बढी गोल गर्ने फ्रेन्ड्स क्लबले अन्तिम खेलमा मात्र रेलिगेसन टा-यो । थ्रिस्टारले त अन्तिम खेलमा जावलाखेललाई हराएर मात्र रेलिगेसन जोगाएको हो । विजेता चर्च ब्वाइज र पुछारमा रहेको एफसी खुमलटारले लिगमा गोल सङ्ख्या समान ३४–३४ थियो । त्यसैले पनि पुछारमा रहेको टिम खुमलटार पनि कति खतरनाक थियो भन्ने थाहा हुन्छ । उपाधि ह्याट्रिक अभियानमा रहेको मछिन्द्रले उपविजेतामा लिग टुङ्ग्यायो । नेपाल पुलिस क्लबको तेस्रो स्थान पनि अपत्यारिलो रह्यो । सुरुका छ खेलबाट मात्र एक अङ्क बनाएको पुलिसले अन्त्य भने शानदार तरिकाले ग-यो । पुलिसले अन्तिम सातमध्ये छ खेल जितेर आफूलाई तेस्रो स्थानमा उभ्याएको हो । जावलाखेल चौथो र सातदोबाटो पाँचौँ स्थानमा रहेर लिग टुङ्ग्याए । यद्यपि सातदोबाटो र रेलिगेसनमा रहेको एपिएफबिचको दूरी मात्र चार अङ्कको थियो ।
अङ्क तालिकामा जति नै रोमाञ्च भए पनि मैदानमा लिगको रौनक खासै थिएन । फुटबलको मुटु दर्शक नै हुन् । यद्यपि यस पटकको लिगमा जस्तो न्यून दर्शक सायदै कहिल्यै थिए । विगतमा दशरथ रङ्गशालमा लिग फुटबल हुँदा दर्शकको उपस्थिति उल्लेखनीय हुन्थ्यो । २०/२५ हजार क्षमता भएको दशरथ रङ्गशाला पनि दर्शकले खचाखच हुन्थ्यो । यस पटक दशरथ रङ्गशाला मात्र होइन, करिब तीन हजार दर्शक क्षमताको एन्फा कम्प्लेक्स र च्यासल रङ्गशाला पनि खाली थिए । थ्रिस्टार र एपिएफबिच दशरथ रङ्गशालामा भएको खेलमा तीन हजार पाँच सय दर्शकको उपस्थिति नै सर्वाधिक भनिएको छ । यसै गरी सबभन्दा न्यून दर्शक आर्मी र फ्रेन्ड्सबिच एन्फामा खेल हुँदा एक सय जना मात्र थिए ।