गोरखापत्र अनलाइन
काठमाडौं, असार १ गते । थारु समुदायको इतिहास बंग्याउने र विवादमा ल्याउने काम पटक पटक भइरहेको भन्दै थारु समुदायका अगुवाले इतिहास लेखनमा खेलवाड नगरी तथ्यपरक ढङ्गले लेखनको काम गर्न सरोकारवालाहरुसँग आग्रह गरेका छन् ।
थारु आयोगको सहकार्य तथा त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभागको आयोजनामा शुक्रबार भएको ‘थारु इतिहास अध्ययन कार्यक्रम’ मा थारु अगुवाहरुले सो आग्रह गरेका हुन् । थारुको इतिहासलाई बुद्धकालिन समयबाट सीमित गर्ने काम लेखक तथा इतिहासकारबाट हुँदैआएकोमा आपत्ति जनाउँदै अगुवाहरुले थारुको इतिहास हजारौं वर्ष पूरानो भएकाले सोहीअनुरुप लेखन हुनुपर्ने सुझाव दिनुभयो ।
थारु आयोगले थारुको इतिहाससम्बन्धी विषयको अध्ययन तथा प्रतिवेदन लेखनको जिम्मेवारी त्रिवि इतिहास केन्द्रीय विभागलाई दिएको छ । विभागले तयार गरेको पहिलो मस्यौदामाथि छलफलका क्रममा थारु अगुवाहरुले प्रतिवेदनमा रचनात्मक सुझाव दिंदै करेक्सन गर्न आग्रह गरेका छन् ।
प्रा.डा. बद्रीनारायण गौतमको संयोजकत्वमा गठित अध्ययन तथा प्रतिवेदन लेखन समितिले तयार पारेको मस्यौदामाथि आज यहाँ छलफल गर्दै थारु अगुवाहरुले प्रतिवेदन लेखन गहन र तथ्यमा आधारित हुनुपर्ने सुझाव दिनुभयो । थारु समुदायको इतिहास लेखन गर्ने यसअघिका लेखक तथा इतिहासकारले थारुको इतिहासलाई नै विवादित बनाएको थारु समुदायको बुझाइ छ ।
थारु कल्याणकारिणी सभा (थाकस) का पूर्व महामन्त्री तथा थारु अगुवा भुलाई चौधरीले थारु समुदायको इतिहास दश हजार वर्ष पूरानो भए पनि बुद्धकालिन समयबाट इतिहास लेखन हुनु विडम्बनापूर्ण भएको बताउनुभयो । तराइको आदिम जाति, भूमिपुत्र थारु समुदायको इतिहास बंग्याउने काम यसअघि भएको र अव त्यसो नगर्न उहाँले त्रिवि विभागका पदाधिकारीहरुलाई सुझाव दिनुभयो । थारुको आफ्नो भाषा, भेषभुषा, संस्कृति, पहिचान, रहनसहन र धर्म भएकाले आदिबासी भएको उहाँले प्रष्ट पार्नुभयो ।
प्राध्यापक तथा थारु अगुवा रामबहादुर चौधरीले पहिलो मस्यौदा प्रतिवेदनले थारुको इतिहासमा न्याय गर्न नसकेको भन्दै उहाँले सच्याएर लेख्न आग्रह गर्नुभयो । त्रिवि इतिहास विभागका प्रा.डा.हरुले अध्ययन गरेर लेखन गरिएको प्रतिवेदन वजनदार हुनुपर्ने सुझाव दिनुहुँदै उहाँले पहिलो मस्यौदाले थारु समुदायलाई सन्तुष्ट बनाउन नसकेको बताउनुभयो ।
पत्रकार लक्की चौधरीले थारु समुदायको इतिहास लेखनको काम धेरै लेखक तथा इतिहासकारले गरे पनि लेखनमा एकरुपता नभेटिएको बताउनुभयो । थारु समुदायको उत्पत्ति, थारु नाम पर्नुको अर्थमा समेत लेखकको आआफ्ना धारणा रहेकाले समुदायलाई न्याय हुनेगरी प्रतिवेदन लेख्न सुझाव दिनुभयो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इतिहास केन्द्रीय विभागका प्रा.डा.हरु सम्मिलित अध्ययन समितिले लेख्ने प्रतिवेदन त्यहीअनुसारको विशिष्ट र तथ्यपरक आउनुपर्ने उहाँको सुझाव थियो ।
बुद्धको इतिहास २६ सय वर्षमात्र भएकाले इतिहास लेखकहरुले थारुको इतिहास त्यहीबाट लेखन गर्दा हजारौं वर्ष अगाडिको थारु समुदायको इतिहासमा न्याय नहुने चर्चा गर्नुहँदै पत्रकार चौधरीले थारु लोकसाहित्य, थारु तन्त्रमन्त्र तथा देवीदेवतामा कहीं पनि बुद्धको प्रसङ्ग उल्लेख नभेटिएकाले थारु लोकसाहित्य तथा तन्त्रमन्त्र बुद्धकालिन समयअघि नै सिर्जना भएको तथ्य पुष्टि हुने उहाँले दावी गर्नुभयो ।
थारु मानक भाषा मस्यौदा समितिका संयोजक कुछतनारायण चौधरीले थारु समुदायमाथि लेखक तथा इतिहासकारले न्याय गर्न नसकेको चर्चा गर्नुहुँदै त्रिवि इतिहास विभागले लेख्ने प्रतिवेदनले न्याय गर्नुपर्ने बताउनुभयो । थारु समुदाय प्रकृतिपूजक र प्राचीन समुदाय भएकाले त्यसको औचित्यपुष्टि हुनेगरी प्रतिवेदन आउनुपर्ने उहाँको सुझाव थियो ।
थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, त्रिवि इतिहास विभागका पदाधिकारी विष्णुप्रसाद सापकोटा, प्रा.डा. गणेश क्षेत्रीलगायतको उपस्थितिमा भएको कार्यक्रममा विभागका डा. अपारकुमार लम्सालले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गर्नुहुँदै थारु समुदाय बुद्धकालिन थेर भिक्षुहरुको नामबाट थारु भएको हुनसक्ने धारणा राख्नुभएको थियो । थेरको अर्थ अग्रज हुने र आदिम समुदाय थारु भएकाले त्यसको अर्थ मिल्ने उहाँको भनाइ थियो । तर थारु अगुवाले सो भनाइको खण्डन गर्नुभयो ।
कार्यक्रममा थारु अगुवाहरु प्रेमीलाल चौधरी, महेश चौधरी, सुशिला चौधरी, बुद्धसेन चौधरी, पदम रानाथारु, नेमनारायण सिंह चौधरी लगायतले प्रतिवेदनमाथि सुझाव दिनुभयो । कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, आयोगका सदस्यहरु भोलाराम चौधरी, डा. उमाशंकरप्रसाद चौधरी, सुबोध सिंह थारु, शान्ति मोदीलगायतले धारणा राख्नुभएको थियो ।